आहा मूलडाँडा ! [फोटो फिचर] 

विवेक विवश रेग्मी ११ कार्तिक २०८० १०:१६
116
SHARES
आहा मूलडाँडा ! [फोटो फिचर] 

खोटाङ– खोटाङको खोटेहाङ गाउँपालिका वडा नं. २ स्थित मूलडाँडामा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक बढ्दै गएका छन्। मूलडाँडाकै बाटोबाट गाडी हिँड्ने सडक बनेका कारण पनि यो ठाउँमा पर्यटक बढ्दै गएका छन्।

बाटो हिँड्ने यात्रुहरू यो ठाउँमा थकान बिसाउँछन्। कतिपय त राति बास नै बस्छन्। क्षणभरमै कुहिरो लाग्ने, क्षणभरमै घाम लाग्ने यो ठाउँ दृश्यमा आकर्षक देखिन्छ। केहीबेरमै कुहिरो लाग्नु, केहीबेरमै घाम लाग्नु र केहीबेरमै हिमालको दृश्य हेर्न पाउँदा पर्यटक दंग हुन्छन्।

स्थानीय पदिकी शेर्पाका अनुसार यहाँ जम्मा नौ घर शेर्पा परिवार छन्। ‘यो बाटोले भोजपुर र खोटाङलाई जोड्ने भएका कारण यहाँ पछिल्लो समय राम्रै व्यापार हुन थालेको छ’, उनले भनिन्, ‘हामी पहिल्यैदेखि बस्दै आएको यहाँ बास बस्न आउनेहरू पनि थुप्रै हुन्छन्।’

यहाँको मुख्य आम्दानीको स्रोत स्थानीय उत्पादन रहेको उनले सुनाइन्। ‘धेरैजसो यहाँ आलु फल्छ। हामी आलु बेचेर चामल किन्छौँ,’ उनी भन्छिन्, ‘अहिले बाटो हिँड्ने धेरै मानिसले त कटुस पनि किन्छन्, यो समयमा कटुसको राम्रै व्यापार हुन्छ।’

स्थानीय छिरिङ शेर्पाका अनुसार स्थानीय उत्पादनका अतिरिक्त बजारबाट ल्याएका खाद्यान्नसहित चिसो पेय पदार्थसमेत बिक्री हुँदै आएको छ। विभिन्न निकायका सरकारले बाटोको विकास र यो ठाउँको प्रवर्द्धन गरे यहाँ पर्यटनको राम्रो सम्भावना रहेको उनले बताइन्। ‘खानेपानीको दु:ख छ। पालिकाले खानेपानीका लागि सहजीकरण गरिदिए राम्रो हुन्थ्यो,’ उनी भन्छिन्, ‘हामीले हाम्रो उत्पादनलाई खोटाङ बजारसम्म पुर्‍याउनका निम्ति पनि निकै गाह्रो हुँदै आएको छ।’

भोजपुर-खोटाङ जोड्ने मूलबाटो भएको र विभिन्न गाउँ पुग्न बाटो छुट्टिने भएकाले यो ठाउँको मूलडाँडा नामांकन हुन गएको उनले बताइन्।

निवर्तमान वडाध्यक्ष दीपेन राईका अनुसार मूलडाँडा समुद्री सतहबाट करिब २,७०० मिटर उचाइमा रहेको छ। मूलडाँडा पुग्नका लागि खोटाङ बजारबाट पैदल ३ घन्टा लाग्छ भने मोटरसाइकलबाट १ घन्टामा पुगिने उनले बताए। यस्तै भोजपुर बजारबाट त्यहाँ पुग्न पनि उत्तिकै समय लाग्छ।

 

 

प्रकाशित: ११ कार्तिक २०८० १०:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + fourteen =