पाल्पामा २४ घण्टामा तीनवटा सवारी दुर्घटना, कारण के थियो?

 ६ जनाको मृत्यु, १४ घाइते

विजय नेपाल ६ कार्तिक २०८० १९:२८
64
SHARES
पाल्पामा २४ घण्टामा तीनवटा सवारी दुर्घटना, कारण के थियो? बैकुण्ठेभिरबाट बराङ्दीखोलामा खसेको जिप, रम्भा गाउँपालिका-४ रानीवनमा दुर्घटनामा परेको भ्यान र सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन-७ लामिडाँडामा पल्टेको जिप।

पाल्पा– पाल्पामा पछिल्लो २४ घण्टामा तीन वटा सडक दुर्घटना भएका छन्। फरक-फरक स्थानमा भएका ती दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।

आइतबार रानीमहल नजिकै स्करपियो दुर्घटनामा एकै परिवारका ६ जनाको मृत्यु भएको थियो भने सोमबार बिहान र दिउँसो फरक-फरक दुर्घटनामा थप १३ जना घाइते भएका हुन्।

सोमबार दिउँसो १ बजे सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन-७ लामिडाँडामा जिप पल्टेको छ। गुल्मीबाट बुटवलतर्फ गुडिरहेको लु १ ज ४१६५ नम्बरको जिप ब्रेक फेल भई दुर्घटना हुँदा जिपमा रहेका १५ मध्ये ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिए। उनका अनुसार घाइते सबैको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ।

घाइते हुनेमा चालक गुल्मी मालिका ३ का ३० वर्षीय भुवन, सोही ठाउँका ४० वर्षीय सन्तोष, गुल्मीकै इश्मा ४ का ३९ वर्षीय दानबहादुर, रुरु १ की ६५ वर्षीया चोपकला ज्ञवाली, सोही ठाउँका ६० वर्षीय मुकुन्द ज्ञवाली, रुपन्देहीको तिलोत्तमा २ का ४५ वर्षीय रेशम गिरी, भारत हरिद्वार घर भई गुल्मीको मालिकामा कुल पूजा गर्न आएका ८० वर्षीय रविलाल गिरी र अर्का ७५ वर्षीय रामलाल गिरी छन्। तीमध्ये दानबहादुर र चोपकला बढी घाइते छन्। अन्य सामान्य छन्।

चालकले जिपको ब्रेक फेल भएपछि यात्रुलाई नआत्तिन सान्त्वना दिँदै सडकको भित्तामा जानाजान लगेर ठूलो दुर्घटना हुनबाट जोगाएको यात्रुलाई उधृत गर्दै प्रहरी निरीक्षक चन्दले बताए। गाडी सडकमै उत्तानो परेर पल्टिएको छ।

आइतबार रानीमहल घुमेर फर्किने क्रममा अपराह्न ५ बजे तानसेन १३ बैकुण्ठेभिरबाट बराङ्दीखोलामा स्करपियो खसेर दुर्घटना भएको थियो। दुर्घटनामा नवलपुरको देवचुली वडा १६, रजहर कुमारबस्तीका लोहनी परिवारका ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने चालक गम्भीर घाइते छन्। चालक ईश्वरबहादुर लोहनीलाई सोमबार हेलिकोप्टरमार्फत थप उपचारार्थ काठमाडौँ पठाइएको छ। उनले दुर्घटनामा आफ्न आमाबुवा, श्रीमती, दुई छोरा र सासूलाई क्षणभरमै गुमाएका हुन्।

गाडीले पिकअप नलिँदा दुर्घटनाको कारक भएको प्रहरी निरीक्षक चन्दले बताए। प्रत्यक्षदर्शीलाई उधृत गर्दै उनले भने, ‘रानीमहल घुम्न गाडीबाहेक एउटा मोटरसाइकलमा अरू दुई आफन्त पनि जानुभएको रहेछ। उहाँहरूले प्रत्यक्ष दुर्घटना देख्नुभएको रहेछ। गाडीले उकालो सडकमा पिकअप नलिएपछि चालक ईश्वरले गाडीबाट यात्रु ओह्राले पनि घुम्ती नकट्दै पुनः चढाएर फेरि अगाडि बढ्ने क्रममा गाडी ब्याक भएको रहेछ। प्रत्यक्षदर्शीले ह्यान्ड ब्रेक हान्न सल्लाह दिँदै गर्दा गाडी निरन्तर ब्याक भई कुभिण्डेभिरबाट खोलामा खसेको बताउनुभयो।’

यसैगरी सोमबार बिहान करिब ५ बजे पाल्पाकै रम्भा गाउँपालिका ४ रानीवन रिगैरा घुम्तीमा लु १ ज ३९८३ नम्बरको भ्यान दुर्घटनामा ५ यात्रु घाइते भए। उनीहरुको युनाइटेड मिसन अस्पताल तानसेनमा उपचार भइरहेको छ। आर्यभन्ज्याङ-रामपुरको भित्री पक्की सडकखण्डमा वीरकोटबाट रमइडाँडातर्फ जाँदै गरेको भ्यान सडकबाट अन्दाजी दुई सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो। सडक खाल्डाखुल्डी परेको र बिहानीको समयमा चालकको अनिद्रासँगै ओभरलोड कारण दुर्घटना भएको प्रहरीको अनुमान छ।

तानसेन र रामपुर नगरपालिकासहित पाल्पाका १० पालिकाका विभिन्न ग्रामीण भेगमा मोटरबाटो पुगेको छ। सबैतिर यात्रु बोक्न जिप चल्छन्। पाल्पामा हाल ट्राफिक दरबन्दी २६ जनामात्र छन्। यद्यपि जिल्लालाई छुने सिद्धार्थ राजमार्ग होस् वा गाडी चल्ने ग्रामीण रुटमा पनि नियमित जाँच गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयको दाबी छ।

प्रहरीका अनुसार सिद्धार्थ राजमार्गअन्तर्गत दोभान चौकी, प्रभास चौकी, बर्तुङ, आर्यभन्ज्याङ, रामदी, छहरा, हार्थोक, जोर्तेलगायतमा नियमित जाँच हुने गरेको छ। ‘यो सिजन भनेको अरू बेलामा भन्दा चार गुना बढी गाडी चल्ने सिजन हो। सिद्धार्थ राजमार्ग भएर धेरै इन्डियन गाडी पाल्पा हुँदै पोखरा-मुस्ताङतिर जान्छन्। ट्राफिक जनशक्ति अहिलेलाई कमी भए पनि हामीले जाँचमा कडाइ गरेका छौं’, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चन्दले भने, ‘तैपनि कहिलेकाहीँ यान्त्रिक त्रुटि तथा चालककै लापरबाही पनि हुन सक्छ।’ आखिर जे भए पनि एकपछि अर्को ठूलो मानवीय क्षति हुने गरी सवारी दुर्घटनाको जिम्मेवारी कसले लिने?

लोहनी परिवारका ६ जना दुर्घटनामा परेपछि रजहर शोकमा

पाल्पामा फेरि अर्काे गाडी दुर्घटना, ५ घाइते

प्रकाशित: ६ कार्तिक २०८० १९:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =