सान सिरोमा युभेन्टस भाग्यमानी, रोमाको जित लय जारी

हिमाल प्रेस ६ कार्तिक २०८० ८:२१
6
SHARES
सान सिरोमा युभेन्टस भाग्यमानी, रोमाको जित लय जारी

काठमाडौँ- इटालेली सिरी ‘ए’ मा आइतबार राति युभेन्टसले एसी मिलानलाई १-० ले पराजित गरेको छ। मिलानलाई उसकै घरेलु मैदानमा हराउन युभेन्टसका म्यानुएल लोकाटेलीले निर्णायक गोल गरे।

लोकाटेलीका लागि यो गोल विशेष रह्यो। किनभने उनी मिलान एकेडेमीका उत्पादन हुन्। लोकाटेलीले सन् २०१९ मा बालखबाटै समर्थन गरेको मिलान छाडेका थिए। बीचमा सासुओलोबाट खेलेका उनी यो सिजन युभेन्टस पुगेका हुन्।

सान सिरोमा मिलान पहिलो हाफमै १० खेलाडीमा सीमित भएको थियो। मोइस किनलाई लडाएपछि मिलानका मलिक थिवाउले ४० औँ मिनेटमा रातो कार्ड पाएका थिए।

यो खेलमा दुवै टिमले पहिलो रोजाइका कैयौँ खेलाडी मैदान उतार्न पाएनन्। यस्तोमा लोकाटेलीले ६२ औँ मिनेटमा टाढाबाट गरेको गोल निर्णायक बन्यो। उनको प्रहार राडे क्रुनिकसँग ठोक्किँदै गोलमा परिणत भएको थियो। मिलानका तेस्रो रोजाइका गोलरक्षक एन्टोनियो मिरान्टेले लोकाटेलीको प्रहार अन्दाज गर्न सकेनन्।

जितपछि युभेन्टस तेस्रो स्थानमा उक्लिएको छ। मिलान भने दोस्रो स्थानमा यथावत् छ। शीर्षस्थान अझ पनि इन्टर मिलानको कब्जामा छ। नौ-नौ खेल खेलिसकेका यी तीन टिमको क्रमशः २२, २२ र २१ अंक छ।

खेल सकिनासाथ गोलकर्ता लोकाटेली भावुक बनेका थिए। आँसुसरी भएका उनले विशेष महसुुस गरिरहेको प्रतिक्रिया दिए। ‘सानसिरोमा खेल्न पाउनु सधैँ विशेष हुन्छ। दुर्भाग्वश मिलानबाट धेरै खेल्न पाइएन। जीवनले मलाई यहाँ ल्याइपुर्याएको छ। तर म जहाँ छु, त्यहाँ म खुसी छु। आफैँले गरेको गोलले खेल जितियो, भावुक भएको छु,’ लोकाटेलीले भने।

मिलानका गोलरक्षक मिरान्टे दुई वर्षमा पहिलो खेल खेल्दै थिए। लोकाटेलीको त्यो प्रहारअघि उनले युभेन्टसको बलियो प्रहार रोक्नु परेन। जबकि मिलान १० खेलाडीमा सीमित भएर खेलेको २० मिनेटभन्दा बढी भइसकेको थियो।

उसो त त्यसबीचमा युभेन्टसले अवसर सिर्जना गर्नै नसकेको भने होइन। पहिलो हाफ सकिनै लाग्दा मोइस किनले नजिकबाट गरेको प्रहार थोरैले बाहिरिएको थियो।

दोस्रो हाफको सुरुवात भने मिलानले बलियो ढंगमा गर्‍यो। तर गोल गरेपछि चाहिँ युभेन्टस खेलमा हाबी भयो। युभेन्टसका सब्स्टिच्युट स्ट्राइकर डुसान भ्लाहोभिचले निर्धारित समय सकिन पाँच मिनेट बाँकी छँदा गतिलो आक्रमण गरेका थिए। त्यसपछि आन्द्रे काम्बियासो र भ्लाहोभिचले फेरि लगातार मिलानको पोस्टमा धावा बोले। तर विजयी टिमको गोल थप्ने प्रयास मिलानका गोलरक्षक मिरान्टेले क्रमशः असफल बनाइरहे।

गोलपछि जुभेन्टसका एन्ड्रिया क्याम्बियासो, म्यानुएल लोकटेल्ली, ड्यानिएल रुगानी र डिन हुइजसेन उत्सव मनाउँदै। तस्बिर : रोयटर्स

घरेलु लिगमा दोस्रो पराजय भोगेको मिलानको ध्यान अब च्याम्पियन्स लिगमा हुनेछ। आउँदो बुधबार मिलान पेरिस जाँदैछ। जहाँ उसको भेट पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग हुनेछ। त्यसपछिको साता भने मिलानले घरमा नापोलीको सामना गर्ने तालिका छ।

‘हामीले ११ जना हुँदा मात्र होइन १० जना हुँदा पनि राम्रो खेलेको हो। बस् एकबेला सतर्क हुन सकिएन। नत्र नतिजा गुमाउनु पर्दैन थियो। हामी हार्नैपर्ने टिम थिएनौँ,’ मिलानका प्रशिक्षक स्टिफियानो पिओलीले भने।

ढिलो जागेको रोमा

एस रोमाले जित लयलाई जारी राखेको छ। सिरी ए मा लगातार तेस्रो जित हात पार्न रोमाले आइतबार राति मोन्जालाई १-० ले पराजित गर्‍यो। रोमाका लागि यो कठिन जित थियो। जितका लागि रोमाका स्टिफन अल सरावीले ९० औँ मिनेटमा गोल गरेका थिए।

घरेलु मैदानमा रोमाका मुख्य स्ट्राइकर रोमेलु लुकाकु पनि गोल नजिक थिए। तर उनको प्रहार गोलपोस्टमा लागेर फार्कियो। उनको मात्र होइन सरदार आज्मौनको प्रयास पनि गोलपोस्टले असफल बनाइदियो।

यो सिजन पहिलो पटक गोल गरेका अल सरावीले रिबाउन्ड बललाई जाली चुमाएका थिए। निकोला जेलेव्स्कीको क्रसलाई हेडरमार्फत रास्मस क्रिस्टन्सनले सरावीका लागि पास निकालेका थिए। त्यसपछि सरावीले आज्मौनलाई पास दिए तर आज्मौनको प्रहार मोन्जाको रक्षापंक्तिले ब्लक गरिदियो। लगत्तै रिबाउन्डमा आएको बलमा सरावीले गोल गरे।

हाल ११ औँ स्थानमा रहेको मोन्जाले दोस्रो हाफ १० खेलाडीमा सीमित भएर खेलेको थियो। डानिलो डी आम्ब्रोसियोले रातो कार्ड पाएपछि मोन्जा अप्ठ्यारोमा परेको थियो।

‘आज्मौनको प्रहार बारमा ठोक्किएपछि निरास भएको थियो। लुकाकुको प्रयास पनि त्यसरी नै खेर गयो। तर बढी निराश म आज्मौनको प्रयास गोलमा परिणत नहुँदा भए। तर अन्ततः स्टिफनले गोल गरे, खेल जिताए। पछिल्लो समय उनमा आत्मविश्वास बढेको छ,’ जितपछि मौउरिन्होले भने।

अल सरावीको गोलपछि मौउरिन्होले खुसीयाली मनाउँदा मोन्जो बेन्चको खिल्ली उडाएका थिए। जसकारण उनलाई रातो कार्ड देखाइयो।

मोन्जाका लागि हार पीडादायी थियो। किनभने मोन्जाले १० खेलाडीमा सीमित भएर पनि रोमालाई कडा टक्कर दिएको थियो। सिरी ए का पछिल्ला पाँच खेलमा अपराजित रहेको मोन्जाले सेप्टेम्बर यता पहिलो पटक ‘ओपन प्ले’ मा गोल खाएको हो।

मोन्जालाई हराएपछि रोमा छैटौँ स्थानमा उक्लिएको थियो। तर उता एटलान्टाले जेनोआलाई २-० ले पन्छाएपछि रोमा सातौँ स्थानमा झर्यो। एटलान्टा र रोमाबीच दुई अंकको फरक छ। रोमासँग १४ अंक छ। आठौँ स्थानको बोलोन्याको पनि १४ अंक नै छ तर गोल भिन्नताले दुई टिमको स्थान छुट्टयाएको हो।

आइतबार राति बोलोन्याले फ्रोसिनोनलाई २-१ हराएको थियो। अर्को खेलमा फिलिप्पो इन्जाघी प्रशिक्षक रहेको सालेरनिटाना र काग्लियारीले २-२ को बराबरी खेले।

प्रकाशित: ६ कार्तिक २०८० ८:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =