नियात्रा

पातालका पहाडी टाकुरामा तीन दिन

विमल अधिकारी ११ कार्तिक २०८० १२:०२
74
SHARES
पातालका पहाडी टाकुरामा तीन दिन

सन् २०२२ को वार्षिक बिदामा नेपाल जाने योजना थियो। सपरिवार नेपाल जान श्रीमतीजी पनि तयारी गर्दै थिइन्। स्वदेश फर्किएर आत्मीय जनसँग भेट गर्ने अनि काममा फर्कने हाम्रो योजना थियो। यसका लागि वासिङ्टन डीसी गएर राहदानी नवीकरण गराइसकेको थिएँ।

यसैबीचमा हामीलाई सन् २०२२ को नोभेम्बर पहिलो साता कोलोराडोको आस्पिन क्षेत्रको भ्रमणमा जाने अवसर आयो। पारिवारिक त्यो भ्रमणको चाँजोपाँजो एक जना अगुवाले गरेका रहेछन्। उनले कोलोराडोको पहाडी क्षेत्रको तीनदिने भ्रमणमा हाम्रो पनि नाम राखेर प्रस्ताव गरेका थिए।

पहिला त मैले आनाकानी गरेँ। ड्राइभ र काम गर्ने ग्यास स्टेसनमा बिदाको समस्या रहेको सुनाएर पन्छिन खोजेँ। त्यसमा पनि हामी त नेपाल जाने तयारीमा थियौँ। अमेरिका आएको पाँच वर्ष भइसक्दा पनि राजमार्ग र लामो यात्रामा गाडी कुदाउने आँट गर्न सकेको थिइनँ। राजमार्गमा ड्राइभ गर्नैपर्छ। नत्र मलाई लघुताभासले भित्रभित्रै गिजोलिरहन्छ। अनि कतिपय घुम्न जाने प्रस्ताव गुमाउँदै आएको छु।

सायद मेरो त्यही समस्या बुझेर हुनुपर्छ भ्रमणमा सहभागी तीन परिवारमध्ये एकजनाको गाडीमा मसहित तीनै सदस्यले लिफ्ट पाउने भयौँ। परिवारलाई नै गाडीमा लिफ्ट पाइने अवसर आएपछि म दोधारमा परेँ। मेरो मनले भन्यो- ‘मौका हो भ्रमण गरिहाल्।’ श्रीमतीसँग पनि सल्लाह गरेँ। अनि पुनर्ताजगी गर्ने सोच पलायो। पातालको नयाँ र अनौठो ठाउँको भ्रमण गरेर अनुभव बटुल्ने निर्णयमा पुग्यौँ हामी। नेपाल जाने योजना थाती राखेर पहाडी यात्रामा जान तयार भयौँ। मेरो सहित भ्रमण टोलीमा चार परिवार थियो। टोलीमा सिरहाका रेग्मी, दाङका गौतम, गौरका भट्टराई, सर्लाहीका अधिकारी परिवार गरी १२ सदस्य घुम्न जाने निधो भयो। अक्टोबरअघि अर्थात् दसैँअघि काम गर्ने स्टोरबाट छुट्टी स्वीकृत गराएँ।

भ्रमण टोली प्रमुखले आस्पिनस्थित टाकुरामा एउटा घर ‘रिजर्भ’ गरिसकेका रहेछन् – १७०० डलरमा। २०२२ नोभेम्बर ४ शुक्रबारका दिन हाम्रो टोली अलि ढिलै गरी अघि बढ्यो। भेला हुँदा र झिटीगुन्टा मिलाउँदैमा प्रस्थानमा केही विलम्ब हुन पुगेको थियो।

हामी कोलोराडो स्मोकी हिलबाट साउथ (दक्षिण) टोल वेतिर लाग्यौँ। मचाहिँ रेग्मी परिवारको गाडीमा बसेको थिएँ। कोलोराडो स्प्रिङ हुँदै अग्लाअग्ला चट्टाने पहाड, कोणधारी जङ्गल छिचोल्दै हामी गन्तव्यतिर लाग्यौँ। कतै हिम दृश्यावलोकन त कतै सुरुङमार्गको यात्रा गर्न पाउँदा हामीलाई फरक संसारमा पुगेको अनुभूति भइरहेको थियो। झलमल्ल पहाडी दृश्यमा फोटो कैद गर्दाको आनन्द बेग्लै। ठिक ४ बजे हामी ग्लेनउडको टाकुरामा काठैकाठको एउटा घरमा पुग्यौँ। चार घण्टाको यात्रा एकैछिनमा सकिएजस्तो भयो।

छ-सात परिवारलाई पुग्ने रहेछ घर। जङ्गलको जग्गा किनेर बनाएको त्यो घर पर्यटक लक्षित थियो। घरवरपर एक से एक तस्बिर लिँदै, सेल्फी र भिडियो खिच्दै प्राकृतिक संसारमा रमायौँ हामी। एसीजडित काठेघर जङ्गलै उठेर बनेको जस्तो छ। कालिञ्चोकका घरजस्तै। निकै स्तरीय र कलात्मक थियो घर। काठको बनावट भए पनि टाकुराको एक्लो घरले पूरै डाँडा आफ्नो सीमामा पारेको थियो। लाग्थ्यो, हामी तीनतारे होटेलमा छौँ। त्यो घरमा सम्पूर्ण व्यवस्था थियो रासनपानीबाहेक। हामीले भागभाग तोकेर खानेकुरा लगेका थियौँ।

प्राकृतिक परिवेश, पहाडी सौन्दर्य, काला हरिणका बथान, पोथ्रे झारबुटा, हिमाली सिरेटोको वातावरणमा हामी यसैयसै फुरुङ्ग भएर रमायौँ। मैले काला हरिण कहिल्यै देखेको थिइनँ। पहिलोपल्ट देख्दा अनौठो लाग्यो। घरभित्र पनि हरिण आउँदा रहेछन् आहारका लागि। साथै जंगलमा चरिरहेका टर्कीतर्फ पनि आँखा आकर्षित भए।

यात्राका कारण टोली थकित थियो। राखनधरान सकेर चियानास्ता गरेपछि थकान मेटियो।  तीनदिने भ्रमणको पहिलो दिन आराम गर्ने/बस्ने/केही तस्बिर लिने काम भए। मम खाएर समय बितायौँ। थाकेको ज्यान भुसुक्क निदाएछ। भोलिपल्ट बिहान फोनको घण्टीले ब्युँझायो।

नोभेम्बर ५ को बिहान ९ बजे टोली खाना खाएर तयार भयो। हिमपात भएकाले मौसम कठ्याङ्ग्रिँदो थियो। हामी त्यस्तै मौसमको प्रतीक्षामा थियौँ। किनभने हिमपात चलिरहेका बेला आस्पिनको हाइकिङ प्रसिद्ध रहेछ। टोलीका सम्पूर्ण सदस्य हिमाल चढ्ने पहिरनमा उपस्थित थिए। टोली १०:३० तिर त्यस क्षेत्रमा प्रवेश गरेको थियो। हिमवर्षा धेरै भएमा पार्क बन्द हुने रहेछ। संयोगले कम हिमपातका कारण खुला रहेछ त्यस दिन। तर गेट र काउन्टरमा कोही थिएन। ढाट पनि लगाइएको थिएन। प्रवेशद्वारको सूचनापाटीमा लेखिएको थियो-

Self service

White River National Forest

Welcome to Bear Country

प्रवेशद्वारमा फाराम भरेपछि प्रत्येक गाडीको १० डलर त्यही कागजमा बेरेर एउटा पेटिकामा खसाल्नुपर्ने नियम रहेछ। अमेरिकाका प्राय: ठाउँमा व्यक्ति गणना नगरी गाडी गणना हुन्छ। त्यसैले सिस्टममा चल्दा कर्मचारीबिनै पनि काम फत्तै हुन्छ। परिवेशले हामीलाई त्यही उपदेश गरेजस्तो लाग्थ्यो।

हिमपातले चट्टाने पहाड, सुरुङ मार्ग र पहाडका जङ्गल मनमोहक देखिएका थिए। हिउँसँग खेल्दै, रमाउँदै, भिडियो र सेल्फी लिँदै एकडेढ घण्टा बितायौँ। हिमपात बढी भएकाले दुई घण्टाजति हाइकिङ गर्दै उकालीओरालीमा रमाउने हाम्रो योजना हिस्स भो। हिउँचिप्ली (स्किङ) खेल्न पनि सम्भव भएन। स्किङ पहाडबाट हिउँमा चिप्लिएर खेल्ने खेल रहेछ। ७५ वय पार गरेकी रेग्मी आमाले हिमपातको पर्वाह नगरी भ्रमणमा ठमठम यात्रा गर्दा हामीलाई अघिअघि बढ्न प्रेरणा मिलेको थियो।

पार्कको प्रवेशद्वारमा टाँगिएको सूचनामा जङ्गली भालुबाट सजग बन्न  भनिएको थियो। अमरिकाका निकुञ्जहरूमा भालुको त्रास हुनु स्वाभाविकै रहेछ। तर हामीले भालु देखेनौँ।

उच्च पहाडको यात्रामा हाई अल्टिच्युडका कारणले हो कि कान नसुनेको अवस्था थियो। हामीलाई मनोरञ्जन भने पर्याप्त भयो। जाडो भए पनि चिसो बिर्सिएका थियौँ। हिउँले हातखुट्टा र कान कठ्याङ्ग्रिए पनि हामी रमाइलोमा हराइरहेका थियौँ। मनमा आनन्द भएपछि कतिपय शारीरिक कष्ट हराउँदो रहेछ।

टोली टाकुरास्थित घरमा फर्कियो। खाना र खाजा खाइसकेपछि हामी साँझतिर ग्लेनउड स्प्रिङ्स/ ग्लेनउड हट स्प्रिङ्स रिसोर्ट क्षेत्रतिर लाग्यौँ। मुख्य पर्यटकीय स्थल रहेछ त्यो। त्यहाँ मानिसहरू तातोपानीको मज्जा लिन पुग्दा रहेछन्। हामी पनि केहीबेर रमायौँ। फ्रेस भएपछि टोली फेरि टाकुरामा फर्किएको थियो।

शनिबार साँझ निकै रमाइलो गरियो। खाजाखाना, चियानास्ता मज्जाले खाइयो आफ्नै घरमा जसरी। जीवनमै पहिलोपटक वाइनको स्वाद पाएँ मैले। तासको ‘त’ पनि नचिन्ने मान्छे तास खेलेर रमाएँ। आफ्नै दाजुभाइ र परिवारसँगै रहेको महसुस भयो। परदेशमा साथीभाइ चिनारुलाई पनि हितैषी ठान्नुपर्ने र आफन्त मान्नुपर्ने विवशता छ हामी नेपालीहरूका लागि। विदेशी जीवन नै यस्तो हो भन्ने ठानेँ।

टाकुराको बसाइ यादगार बन्यो। घरकै जस्तो पाककलाको स्वाद लिन पायाैँ। दाङ, सिरहा, सर्लाही, रौतहटको जमघट रमाइलो भयो। टाकुराको घरमा बारुला आतङ्कले बच्चाहरू तर्सिंदै ओछ्यान छोडेर आएको दृश्य रोचक लाग्थ्यो। घरमा पियानो बजाउने र स्नुकर (पुल) खेल्ने प्रबन्ध थियो। बेसमेन्टदेखि सम्पूर्ण तला व्यवस्थित थिए। बाथरुम र बेडरूम निकै आकर्षक थिए।

आइतबार ६ नोभेम्बर २०२२। टोली बिहान ९-१० बजे बिहान खाना खाइवरि तयार भयो। फेरि गाडीमा राखनधरान कार्य। सामूहिक तस्बिर। हाम्रो फिर्ती सवारी छ अरोरा अर्थात् निवासतर्फ। टोलीले सल्लाह गर्‍यो चाँडै घर गएर के गर्ने? बरु कुनै एउटा एक पार्क (निकुञ्ज) मा जाऊँ।

पार्कमा जाने कुराले म उत्साहित भएँ। अमेरिकाका त्यस्ता संरक्षित क्षेत्रको भ्रमण गरेको थिइनँ। अनि हाम्रो यात्रा अघि बढ्यो एक स्टेट पार्कतिर। मचाहिँ पहिलाकै गाडीमा लिफ्ट म्यान भएर अघि बढेँ टोली प्रमुख अर्थात् रेग्मी दाइसँग। पहाडबाट मुख्य सहरी क्षेत्र आउन निकै समय लाग्दो रहेछ। सडक ओरालो थियो। कोलोराडोका पहाडी परिवेश अवलोकन गर्दै हिमपात रूखमा अडिँदाको रमणीय दृश्यसँग रमाउँदै हाम्रो यात्रा अगाडि बढ्यो।

पहाडमा मालवाहक रेल कुदिरहेको दृश्यले लोभ्यायो। सामान बोकेर पहाडको कोप्चोबाट गुड्दो रहेछ कोइलाबाट चल्ने रेल। आस्पिनको मुख्य पर्यटकीय स्थलमा रेल स्टेसन रहेछ। आस्पिनको मुख्य सहरमा रहेको स्थानीय रेल स्टेसन र अस्पिन आन्तरिक विमानस्थल  पनि देखियो। सानासाना विमानले उडान भर्ने रहेछन्। हप्तामा एकदुई पटकमात्रै उडान गर्ने भएकाले भाडा निकै महँगो हुने थाहा भयो।

प्राकृतिक संसार र भौतिक विकासलाई सँगसँगै नियाल्दै हामी पार्कमा पुग्यौँ। त्यहाँ जानुको एउटै उद्देश्य मेरो परिवारलाई उक्त पार्कको भ्रमण गराउनु। टोलीमा सहभागी सबैले उक्त पार्कको भ्रमण गरिसकेका रहेछन्। पार्कको नाम रहेछ – राइफल फल्स स्टेट पार्क। त्यहाँ हामी पौने ११ बजेदेखि १२ बजेसम्म रमायौँ। ‘भालुदेखि होसियार’ भनिएकाले डराई डराई हाइकिङ गर्‍यौँ। कृत्रिम झरनामा फोटो खिचेर आगामी दिनका लागि रमणीय यादहरू सङ्ग्रह गर्‍यौँ। चियाबिस्कुट खाएर हामी फर्कियौँ।

अक्टोबर-नोभेम्बरमा आस्पिन क्षेत्रमा पतझर र रूखका पातहरूले रूप फेर्ने रहेछ। सोही कारण पर्यटकको धुइरो लाग्दो रहेछ। रूखका पालुवा परिवर्तन हुँदाखेरि पातहरू पहेँला र राता हुँदा रहेछन्। अमेरिकीहरू पात हेर्न जानुलाई फल (fall) हेर्न जाने भन्दा रहेछन्।

ब्लाक हक, डेलेन लक, गन्डोला एरिया हुँदै गाडी अघि बढ्यो। राजमार्ग समात्यो, टोल वे समात्यो र E470 हुँदै निवास पुग्यो। टोली प्रमुखले मलाई ३:१५ बजेतिर जेठीसासूको घरमा छोडिदिनुभयो। जेठीसासूको घरमा भोजनभान्सा गरी हाम्रो परिवार ८ बजे निवास लाग्यो।

भ्रमण रोचक र स्मरणीय भयो। यात्राका क्रममा केही ससाना समस्याले बेमज्जा तर स्मरणीय बनाउँदा रहेछन्।  भ्रमणको दोस्रो दिन आस्पिनमा पुगेपछि छोरालाई पिसाबले सतायो। १० मिनेट जति दौडादौड गर्नुपरेको थियो। तर शौचालय भेटिएन। रेल स्टेसनमा पनि थिएन।

बल्लबल्ल एउटा ग्यास स्टेसनमा निःशुल्क सेवा पाएका थियौँ। रेस्ट रुमको सुविधा पाएपछि धन्यवाद भन्यौँ। अमेरिकामा सार्वजनिक शौचालय पार्क क्षेत्रबाहेक अन्यत्र विरलै हुन्छन्। त्यसैले उपयुक्त विकल्प भनेकै ग्यास स्टेसन हो। नेपालमा पेट्रोल पम्प भनेजस्तै अमेरिकामा ग्यास स्टेसन भनिन्छ। ग्यास स्टेसनमा तेल मात्रै बेचिँदैन। चुरोट चक्लेटजस्ता कुरा पनि किन्न पाइन्छन्। साथै शौचालयको सुविधा पनि।

ग्यास स्टेसनमा जाऊन् भन्ने उद्देश्यले पनि सार्वजनिक शौचालय नबनाएका हुन सक्छन्। किनभने ग्यास स्टेसन भनेको सेवाग्राहीलाई सक्दो सेवा दिने ठाउँ हो।

यात्राको पहिलो दिन शुक्रबार साइँलीको व्रत थियो। उनले यात्राका क्रममा बान्ता गरेपछि हामी आत्तिएका थियौँ। सोही कारण यात्रामा केही विलम्ब भएको थियो।

एक दिन एउटा मानिस बिहानै बन्दुक बोकेर आयो। बन्दुक बोकेको मानिस देखेपछि हामी हच्किनु स्वाभाविकै हो। अनि उसले हामीसँग कालो हरिण मार्ने अनुमति माग्यो। हामीलाई उसले त्यो निकुञ्जका आधारिक व्यक्तित्व ठानेको रहेछ। हामी होइनौँ भनेपछि सिकारी अर्कैतिर लाग्यो। घरनजिक आएको हरिणको सिकार  गर्न घरमालिकको अनुमति चाहिने भएर होला।

घरमा राखिएका केही पुराना सामग्री देख्दा केटाकेटीहरूले अनौठो मानेर तस्बिर खिचे। टाइपराइटर मेसिन देखेपछि मन थाम्न सकेनन्। नजिकै गएर तस्बिर खिचे। त्यो घरमा  पुराना सामग्रीलाई सजाएर राखिएको रहेछ। जसले त्यहाँको विगतबारे पनि केही जानकारी दिइरहेको थियो।

सुदूर पहाडी मुलुक नेपालबाट अमेरिका आएका हाम्रा लागि यो पहाडी यात्राले दिएको रोमाञ्चकता स्मरणीय रहनेछ। यात्राले पातालको पहाडी जनजीवन र भूगोलको ज्ञान दियो। हामीलाई पुनर्ताजगी पनि गरायो।  अत: अमेरिकामा वार्षिक छुट्टीमा यायाबर बनी वर्षदिनभरिको कामको बोझबाट केही समय भए पनि स्वतन्त्र हुन खोजिँदो रहेछ।

कोलोराडो, अमेरिका

 

प्रकाशित: ११ कार्तिक २०८० १२:०२

प्रतिक्रिया

One thought on “पातालका पहाडी टाकुरामा तीन दिन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =