दसैँको सातौँ दिन : फूलपाती भित्र्याइँदै

हिमाल प्रेस ४ कार्तिक २०८० ६:४१
6
SHARES
दसैँको सातौँ दिन : फूलपाती भित्र्याइँदै काठमाडौँको भद्रकाली मन्दिरमा दर्शन गर्न लाम लागेका श्रद्धालु। तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौँ- दुर्गा पक्ष अर्थात् नवरात्रको सातौँ दिन शनिबार दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी सातौँ कलारात्रि देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ। प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ। यही परम्पराअनुसार दसैँघरमा विधिपूर्वक कालरात्रि देवीको आह्वान गरी पूजाआराधना गरिन्छ।

दसैँको सातौँ दिनलाई फूलपाती पनि भनिन्छ। साँझ दसैँघरमा फूलपाती भित्र्याउने चलन छ। घर-घरमा फूलपाती भित्र्याएपछि दसैँ उल्लास सुरु हुन्छ। शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक मानेर फूलपाती भित्र्याइने गरिन्छ। फूलपाती स्वरूप केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक र जयन्ती यी नौ प्रकारका पातहरू हुन्छन्।

फूलपातीकै दिन नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गर्दै आएको छ। यसै अवसरमा फूलपाती बढाइँ गरिन्छ।

काठमाडौँको हनुमानढोका दरबारको दसैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ। गोरखादेखि धादिङ जिल्लाको जीवनपुरसम्म दसैँघरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरदेखि काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहिआएको छ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्यान्डबाजा, पञ्चेबाजा, सिँगारिएका कल्स्यौडी र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिन्छ। राजतन्त्र रहुन्जेल हनुमानढोका दरबारको दसैँघरमा फूलपाती भित्र्याउने क्रममा राज्यप्रमुखका नाताले राजाको पनि उपस्थिति रहने गरेकामा गणतन्त्रको स्थापनापछि भने संस्कृतिमन्त्री उपस्थित हुने गरेका छन्।

नवरात्रको पहिलो दिन असोज २८ गते आइतबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो। त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरियो।

दोस्रो दिन सोमबार पूजा स्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन मंगलबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजाआराधना गरियो। चौथो दिन बुधबार कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो भने पाँचौँ दिन बिहीबार स्कन्दमाता देवीको पूजा आराधना गरियो।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ। काठमाडौँ उपत्यकाका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, रक्तकाली, श्वेतकाली, बिजेश्वरी, कङ्केश्वरी, कलङ्कीमाई, चामुण्डा देवी, सुन्दरीमाई, बज्रयोगिनी, इन्द्रायणी, बगलामुखीलगायत मन्दिरमा घटस्थापनाको बिहानैदेखि भक्तजनको भीड लाग्ने गरेको छ।

यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, पाल्चोक भगवती, कमलामाई, इच्छाकामना, मनकामना, गढीमाई, छिन्नमस्ता, पाथीभरा, दन्तकाली, गहवामाई, बागलुङ कालिका, विन्ध्यवासिनी, तालबाराही, शैलेश्वरी, बडीमालिका, उग्रतारालगायत शक्तिपीठमा भक्तजनको भीड लाग्ने गरेको छ। नवरात्र शक्ति प्राप्तिका लागि विशेष रुपमा साधनाको समय हो।

प्रकाशित: ४ कार्तिक २०८० ६:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − two =