टाउको गनेर तालाबन्दी नगर्न महासंघ अध्यक्ष पोख्रेलको आग्रह

हिमाल प्रेस २८ असोज २०८० १५:२३
26
SHARES
टाउको गनेर तालाबन्दी नगर्न महासंघ अध्यक्ष पोख्रेलको आग्रह

लुम्बिनी– नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले सदस्य संख्याको अंकगणितका आधारमा तालाबन्दीमा नउत्रन पत्रकार सम्बद्ध संगठनहरुलाई आग्रह गरेका छन्।

नेपाल पत्रकार महासंघ रुपन्देहीले दसैँ, तिहार, छठ र नेपाल संवत् पर्वका अवसरमा आइतबार बुटवलमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै शुद्धीकरणको विषयमा तालाबन्दी गरेर महासंघको गरिमा नघटाउन आग्रह गरेका हुन्।
‘सबैको साझा संस्था बनाउने जगका रूपमा शुद्धीकरण गरिएको हो। विजया दशमीको शुभकामना दिँदै म बुटवलबाट भन्छु, तालाबन्दी र निषेधले पत्रकार महासंघको ओज घट्ने हो’, अध्यक्ष पोख्रेलले भने, ‘संवाद गरौँ, सहकार्य गरौँ, विधान र शुद्धीकरणअनुसार नयाँ कोर्समा अगाडि बढौँ।’

उनले पत्रकार महासंघ संवादबाटै निकास निकाल्न तयार रहेको बताउँदै सबैको साझा छाता संगठन बनाउने हिसाबले टाउका गनेर हिसाकिताबमा मात्रै सीमित नहुन आग्रह गरे। ‘एउटा संख्या बढी र तल हुँदा चुनाव जित्ने र हार्ने अवस्था अन्त्य गर्नुपर्छ। शुद्धीकरणले गर्न खोजेको त्यही हो। माथि हुँदैमा चुनाव जित्ने र हार्ने अवस्था हुँदैन’, उनले भने।

पोख्रेलले नेपालको पछिल्लो राजनीतिमा समेत सहकार्यको विकास भएकाले नेतृत्वमा कसैलाई पनि निषेध गर्न नहुने बताए विगतमा निषेध गरिए पनि अब त्यसो हुन दिन नहुने उनको भनाइ छ। कोही मिलेर कसैलाई सक्ने नभई सबैलाई समेटेर लैजानका लागि शुद्धीकरण गरिएको पनि उनले बताए।

अध्यक्ष पोख्रेलले पछिल्लो समय सरकार सरकारजस्तो नहुने, संसद संसदजस्तो नभएको बताउँदै अदालत, प्रहरी, कर्मचारी संयन्त्र जताततै प्रश्न उठ्दा पत्रकार महासंघले आफैँबाट शुद्धीकरण थालेको स्पष्ट पारे। ‘शुद्धीकरणमार्फत सुधारको प्रयत्न गरिएको हो’, अध्यक्ष पोख्रेलले भने।

अध्यक्ष पोख्रेलले पत्रकारितामा बुटवल राजधानी रहेको बताउँदै त्यसका लागि पूर्वाधार निर्माण गर्ने गरी योजना बनाउन आग्रह गरे। उनले बुटवलको मोफसलमा पत्रकारिताको राजधानीका रूपमा परिचित गराउने गरी नयाँ पुस्तालाई चिनाउने गरी योजनाबद्ध काम गर्नुपर्नेमा जोड दिए। ‘अरुको राजधानी जहाँसुकै होला, मोफसलमा पत्रकारिताको राजधानी बुटवल नै हो’, उनले भने।

उनले दसैँ, तिहार, छठ र नेपाल संवत् जस्ता पर्वहरुले सञ्चारक्षेत्रको विज्ञापन बजारको प्रवर्धन गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले चाडपर्वमा तडकभडक र विकृति देखापरेको बताउँदै यसतर्फ सञ्चार क्षेत्रले बहस चलाउनुपर्ने बताए।

नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले चाडपर्वले सबैलाई एकतामा जोड्नुपर्ने बताए।

प्रकाशित: २८ असोज २०८० १५:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 7 =