बन्दीपुरमा ३ अर्ब ५८ करोड लागतमा बन्यो पाँच तारे होटल र केबलकार

हिमाल प्रेस २८ असोज २०८० १४:२५
बन्दीपुरमा ३ अर्ब ५८ करोड लागतमा बन्यो पाँच तारे होटल र केबलकार तस्बिर: रासस

तनहुँ– बन्दीपुरमा १७ तले ‘क्वीन टावर’ नाम दिइएको पाँचतारे होटल निर्माण अन्तिम चरणमा पुगेको छ। होटलमा रङगरोगन र फिनिसिङलगायत काम अन्तिम चरणमा रहेको बन्दीपुर केबलकार एण्ड टुरिजमले जनाएको छ। करिब ९० कोठा रहेको हिलटपमा ७८ कोठा प्रयोगमा ल्याइने छ।

सेमिनारलगायत अन्य कामका लागि एक हजार बढी क्षमताको ठूलो सभाहलसमेत निर्माण गरिएको छ। होटलको पहिलो तलाबाट १७औँ तलासम्म क्यापसुल लिफ्टबाट सिधैँ ‘क्वीन टावर’सम्म जान सकिने व्यवस्था गरिएको बन्दीपुर केबलकार एण्ड टुरिजमका प्रमुख इञ्जिनियर हरिदत्त पौडेलले जानकारी दिए।

उनका अनुसार केबलकारको प्रवेशद्वारमा २६ करोडको लागतमा अर्को सुविधा सम्पन्न आधुनिक होटल निर्माण भइरहेको छ। उक्त होटल पनि छिट्टै सञ्चालनमा ल्याउने गरी निर्माण भइरहेको जनाइएको छ।
बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा तल्लो स्टेशन र सोही वडाको बरालथोकसम्मको १७०० मिटर दूरीमा केबलकार निर्माण गरिएको छ।

एसियाकै ठूलो दाबी गरिएको बन्दीपुरको सिद्धगुफा र हरियाली डाँडाको मनोरमदृश्य अवलकोन गर्दै उक्त केबलकारबाट पर्यटकले यात्रा गर्न सक्नेछन्। केबलकारको अहिले परीक्षण भइरहेको इञ्जिनियर पौडेलले बताए। केबलकारको २१ डिब्बा यात्रु बोक्ने, छ रेष्ट्रो क्याबिन र दुई एड्भेन्चर गरी २९ डिब्बा रहेका बताउँदै उनले एउटामा आठ जनासम्म यात्रु अटाउने क्षमता हुने जानकारी दिए।

‘एड्भेन्चर डिब्बा अन्य डिब्बाको तुलनामा फरक किसिमको हुनेछ। यो सिसैसिसाको र आधुनिक किसिमबाट निर्माण गरिएको छ,’ पौडेलले भने, ‘केबलभित्रै सुत्न र खान पाइने व्यवस्थासहित रेष्ट्रो क्याबिन सञ्चालन गर्ने योजना छ।’

उनकाअनुसार केबलकारमा न्यूनतम ५० रुपैयाँदेखि रू २५ हजारसम्म टिकट शुल्क तोकिएको छ। पृथ्वीराजमार्गमा रहेको बटम स्टेशनबाटमाथि बन्दीपुर बजारमा कलेज पढ्न जाने र आउने विद्यार्थीलाई ५० रुपैयाँ, यात्रुका लागि ५००, रेष्ट्रो क्याबिनको २५ हजार तोकिएको छ। ६५ वर्ष माथिका नागरिकलाई टिकटमा सहुलियत दिइने कम्पनीले जनाएको छ।

केबलकार र पाँचतारे होटल गरी कूल ३ अर्ब ५८ करोडको लागतमा निर्माण सम्पन्न हुन लागेको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए। बन्दीपुर आउने पर्यटकले केबलकारमा सुतेरै रमणीय प्राकृतिक स्थलको अवलोकन गर्दै मनोरञ्जन दिने कम्पनीको मुख्य लक्ष्य रहेको उनले बताए।

केबलकारभित्र रेष्ट्रो सुविधा

केबलकारमा यात्रुको आवतजावतको समय पश्चात् साँझपख केबुलकारभित्र रेष्टुरेण्ट सञ्चालन गरी खाना र सुत्न मिल्ने सुविधा प्रदान गरिने कम्पनीका अध्यक्ष शर्माले बताए। प्रत्येक दिन साँझ ५ बजेपछि यो सुविधा प्रदान गरिने योजना रहेको उनको भनाइ छ।

बन्दीपुरमा ठूलो संख्यामा आउने पर्यटकलाई लक्षित गर्दै केबलकार, रेस्ट्रोकार र तारेस्तरसम्मको होटल निर्माण गरिएको अध्यक्ष शर्माले बताए। उनका अनुसार बटम स्टेशनबाट बन्दीपुरमा निर्माण गरिएको होटलभित्रै केबलकार पुगेर टुङिग्ने छ। ‘बटम स्टेशन (तल) हाइवेसँग जोडिएको छ। जहाँबाट सिधै माथि बन्दीपुरस्थित होटलभित्र पुग्न सकिन्छ,’ उनले भने।

-रासस

प्रकाशित: २८ असोज २०८० १४:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 16 =