विश्वकपमा भारतविरुद्ध पाकिस्तान : सम्बन्ध चुनावसँग पनि

हिमाल प्रेस २७ असोज २०८० ७:०७
10
SHARES
विश्वकपमा भारतविरुद्ध पाकिस्तान : सम्बन्ध चुनावसँग पनि

क्रिकेट विश्वकपमा शनिबार घरेलु टिम भारत र पाकिस्तान आमनेसामने हुँदैछन्। विश्व क्रिकेटमा सम्भवतः सबैभन्दा ठूलो प्रतिद्धन्द्धिता अहमदाबादमा फेरि एकपटक झल्किनेछ।

क्रिकेटसँगै राजनीतिको कुरा पनि गरिहालौँ। यी दुई देश सन् २०२४ मा आम निर्वाचनमा जाँदैछन्। राजनीतिको कुरा किन? भारत र पाकिस्तानमा राजनीतिसँगै सर्वाधिक चर्चा हुने विषय कुनै छ भने त्यो क्रिकेट नै हो।

पाकिस्तान सन् २०१६ पछि पहिलो पटक भारतीय भूमिमा ओर्लिएको हो। क्रिकेटका लागि मात्र होइन, राजनीतिक हिसाबले पनि यो ठूलो क्षण हो। यसो किन भनिएको हो भन्दा, सन् २०१९ को पुल्हामा हमलापछि दुई देशबीचको राजनीतिक र आर्थिक सम्बन्ध लगभग शून्यको स्थितिमा छ। यस्तोमा पाकिस्तानी क्रिकेट टिम भारत पुग्नु सामान्य घटनाक्रम होइन।

खेल सुरु हुनुअघि नै दुवै पक्षबाट चर्का चर्का अभिव्यक्ति आइरहेका छन्। यो प्रतिद्धन्द्धिताबारे जानकारका लागि हालको ‘बिल्डअप’ नौलो होइन। यहीबीच भारतले पाकिस्तानसँगको खेलका लागि गर्नुपर्ने आवश्यक तयारी गरिसकेको छ। तयारी गत सातबाटै सुरु गरिएको थियो।

भारतले पाकिस्तानको सामना अहमदाबादको नरेन्द्र मोदी रंगशालामा गर्न लागेको हो। हालका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाममा रहेको यो रंगशाला उनकै गृहनगरमै छ। जहाँ एक लाख ३० हजार दर्शक अट्छन्। अहिले भइरहेको सजिलो अनुमान हो, भारतीय समर्थकले यो रंगशाला भरिनेछ।

यो खेल हेर्न पुगेका समर्थकले अहमदाबादका होटल भरिभराउ छन्। खेल टिकट मात्र होइन अहमदाबाद जाने हवाइजहाजका टिकट बुकिङ पनि उच्च रहेको भारतीय अधिकारी बताइरहेका छन्। कतिसम्म भने भारतीय रेलवेले अहमदाबादका लागि रेल थपेको छ। को को सेलिब्रिटी त्यहाँ पुग्दैछन्, तिनीबारे प्रचार भइरहेको छ। हजारौँ सुरक्षा परिचालनको खबर त छँदैछ।

खबर पाकिस्तानी खेलाडी, पत्रकार र समर्थकले समयमै भारतको भिसा नपाएको पनि आएका हुन्। पाकिस्तानी क्रिकेट बोर्ड (पीसीबी) ले यो विषयमा पटक पटक कुरा उठाएको थियो। यो बीचका भारतमा पाकिस्तानी टिमलाई किन आउने दिएको भन्ने प्रश्न पनि उठेको छ। महाराष्ट्रका नेता उद्धव ठाकरेले मोदीलाई आतंकवादलाई समर्थन गर्ने देशलाई किन स्वागत गरेको भन्दै प्रश्न गरेका छन्।

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) मा भारतको सत्तारुढ दल भारतीय जनता पार्टी ९भाजपा० को पकड छ। भन्नेले भनिरहेका छन्, भाजपा यो विश्वकपलाई आफ्नो चुनावी प्रचारको हिस्सा बनाउने प्रयासमा छ। यसो किन पनि भनिएको हो भने, विश्वकप उपाधि भिडन्त मात्र होइन अरु महत्त्वपूर्ण खेल पनि अहमदाबादमै हुनेछन्।

‘अर्को वर्ष चुनाव छ। यस्तोमा बीसीसीआई भाजपाको चुनावी अभियानमा सारथि बनेको छ। जो मोदी र उनको पार्टीलाई फाइदा हुनेगरी काम गरिरहेको छ। यस्तो लाग्छ बीसीसीआईका लागि क्रिकेट दोस्रो प्राथमिकता मात्र हो,’ अस्टे«लियाको मेलबर्नमा रही क्रिकेटमा कलम चलाउने जिडियोन हाई भन्छन्।

भारत र अफगानिस्तानबीचको खेल हेर्न नयाँ दिल्लीको अरुण जेट्ली रंगशाला पुगेका डीडी पाण्डे भारतले विश्वकप जिते मोदीको चुनावी प्रचारमा फाइदा पुग्ने बताउँछन्। ‘मोदी भारतीय खेलाडीको हौसला बढाइरहेका छन्। फेरि विश्वकप जिते भारतको प्रोफाइल बढ्नेछ। आर्थिक रुपमा त हामी त्यसै पनि अघि बढिरहेकै छौँ,’ उनी भन्छन्।

भारत र पाकिस्तान तीन पटक युद्धमा गइसकेका छन्। सन् १९४७ को विभाजनपछि दुई देशबीचको सम्बन्ध बिरलै सामान्य देखिएको छ। राजनीतिक र आर्थिक सम्बन्धमा दरार आएपछि क्रिकेट प्रभावित भएको साँचो हो। विश्वकप लगायतका अन्तर्राष्ट्रिय प्रतियोगितामा भेट भए पनि यी दुई टिम अरुबेला एकआपसमा खेल्दैनन्।

वर्षौँ पुरानो शत्रुता कम नभइरहँदा उनीहरु फरक फरक दिशामा छन्। विश्वमा सबैभन्दा धेरै जनसंख्या रहेको भारत सर्वाधिक आर्थिक वृद्धिदर भएको देश पनि हो। देश आर्थिक रुपमा समृद्ध हुँदै गएको प्रमाण त्यहाँको घरेलु क्रिकेट लिग आईपीएल हो। जसलाई विश्वकै महँगो खेल प्रतियोगिता मानिन्छ।

जबकि पाकिस्तान भने एकपछि अर्को समस्यामा फस्दै गएको छ। राजनीतिक रुपमा कहिल्यै स्थिर बन्न नसकेको पाकिस्तान सुरक्षाको दृष्टिकोणले पनि चुनौतीपूर्ण अवस्थामा छ। इंग्ल्यान्ड र अस्टे«लिया जस्ता टिम करिब एक दशक त्यहाँ खेल्नै गएनन्। पछिल्लो केही वर्षयता सुरक्षाको स्थिति सामान्य हुँदै गएको छ। तर आर्थिक हिसाबले पाकिस्तान अझ ठिक हुन सकेको छैन।

‘पाकिस्तानभन्दा भारत हरेक पक्षमा अगाडि छ। पाकिस्तानको त क्रिकेटमा पनि स्थिरता छैन। यद्यपि अहिले पाकिस्तानसँग बलियो टिम छ। एकसेएक प्रतिभा आइरहेका छन्, जसले पास्कितानी क्रिकेटको हैसियत जोगाइरहेका छन्,’ पाकिस्तानी क्रिकेट जानकार एमएम हुसेन भन्छन्।

पाकिस्तानी टिम दुई साताअघि भारत ओर्लिएको हो। भारतीय समर्थकले एकदिवसीय क्रिकेट वरीयतामा दोस्रो स्थानमा रहेको पाकिस्तानी टिमको भव्य स्वागत गरेका थिए। मंगलबार श्रीलंकालाई हराएपछि पाकिस्तानको थप तारिफ भइरहेको छ।

विश्वकप जारी रहँदा केही प्रश्न जरुर उठ्नेछन्। विश्वकप खेल्नकै लागि सही, पाकिस्तानी टिम भारत पुग्दा दुई देशबीचको सम्बन्धमा टेवा पुग्ला? तर विश्लेषकहरु यसो हुननसक्ने बताउँछन्। यसको एक कारण त आउँदो चुनाव हो। जहाँ दुवै देशका राजनीतिक शक्तिले एकअर्कालाई चुनावी मसला बनाउनेछन्।

‘यसअघि क्रिकेट खेलले आइसब्रेकरको काम गरेको देखेकै हौँ। तर सम्बन्ध सुधार गरिहाल्ने क्षमता चाहिँ खेलसँग हुँदैन,’ सिंगापुरका राष्ट्रिय विश्वविद्यालयका प्राध्यापक तथा राजनीतिक शास्त्री रोन्जोय सेनले भनेका छन्।

जे होस् शनिबारको खेलले विश्व क्रिकेटलाई तरंगित भने बनाउनेछ। मोदी रंगशालाको वातावरणले फेरि एकपल्ट प्रतिद्वन्द्विताको गहिराइलाई प्रष्ट पार्नेछ। ‘यो खेल हेर्न रंगशाला पुग्ने जोकोही पनि दुई देशबीचको राजनीतिक सम्बन्धको ह्याङओभरमा हुनेछन् नै। किनभने भारत–पाकिस्तानबीचको खेल केवल खेल मात्र होइन,’ भारतीय समर्थक रोहित अग्रवालको भनाइ छ।

फाइनान्सियल टाइम्सबाट

प्रकाशित: २७ असोज २०८० ७:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast