एडन हाजार्ड : जसलाई देख्दा फुटबल सधैँ रमायो

हिमाल प्रेस २६ असोज २०८० १६:२३
78
SHARES
एडन हाजार्ड : जसलाई देख्दा फुटबल सधैँ रमायो

जोसे मौउरिन्हो फेरि एकपटक सही साबित भएका छन्। तर यसमा उनले गर्व मान्ने छैनन्। किनभने विषय एडन हाजार्डबारे हो। सन् २०१५ मा चेल्सी टोटनहमसँग ५-३ ले पराजित भएपछि मौउरिन्होले अनुमान गरेका थिए, ‘हाजार्डको करियरको अन्त्य सुखद हुने छैन।’ उनले किन यस्तो भविष्यवाणी गरे? कारण थियो, हाजार्डमाथि हुने फाउल। विपक्षी खेलाडीले हाजार्डमाथि फाउल गरिरहेपछि मौउरिन्होलाई दिक्क लागेको थियो।

‘प्रत्येक खेलमा उनीमाथि खतरनाक फाउल गरिन्छ। यो सिलसिला रोकिएको छैन। रेफ्री पनि चासो दिँदैनन्। उनलाई एक खेलमा एक पटक मात्र फाउल गरिँदैन, १० पटकसम्म लडाइन्छ। विपक्षी खेलाडी निरन्तर उनलाई लात हान्छन्। तर हाजार्ड कुनै गुनासो गर्दैनन्। किनभने गुनासो गर्ने, उजुरी गर्ने उनको बानी छैन,’ मौउरिन्होले भनेका थिए।

मौउरिन्होले त्यसबेला क्यामराअघि जे बोलेका थिए, त्यो भिडियो सामाजिक सञ्जालमा भाइरल छ। किनभने हाजार्डले भर्खरै संन्यास लिएका छन्। त्यो पनि मात्र ३२ वर्षको उमेरमा।

हाजार्डको यो निर्णयले विरलैलाई छक्क पारेको छ। किनभने धेरैले अनुमान गरेका थिए, हाजार्ड अब खेल्न उत्सुक छैनन्। ‘आफूलाई सुन्नुपर्छ। जतिबेला रोकिने समय आउँछ, रोकिनुपर्छ,’ मंगलबार संन्यास घोषणा गर्दा हाजार्डले लेखेका छन्।

खासमा हाजार्ड पछिल्ला चार वर्ष गुमनाम थिए। सन् २०१९ मा चेल्सीबाट रियल म्याड्रिड गएपछि हाजार्डले धेरै खेलेनन्। जबकि रियलले उनलाई ठूलो रकम तिरेर अनुबन्ध गरेको थियो। उनका लागि रियलले आठ करोड ९० लाख पाउन्ड खर्च गरेको थियो।

यहाँ बिर्सन नहुने तथ्य के छ भने हाजार्ड र चेल्सीबीचको सम्झौता सकिन मात्र एक वर्ष थियो। यो भनेको एक वर्षपछि हाजार्ड सित्तैंमा रियल पुग्थे। तर रियलले हतार गर्यो। महँगो मूल्य भुक्तानी गर्न तयार भयो।

सम्झौता गर्दा राखिएका सबै बुँदा सक्रिय भएको भए, रियलले अन्ततः १५ करोडसम्म तिर्नुपर्ने थियो। तर रियलले जति मूल्य तिर्‍यो, आजको बजारमा त्यो मूल्य १० करोड पाउन्ड बराबर हो। यत्तिको ठूलो स्थानान्तरण रकमले दिने सन्देश हो, हाजार्ड चानचुने खेलाडी थिएनन्।

  

जतिबेला हाजार्ड रियल सर्दै थिए, त्यतिबेला उनलाई विश्व फुटबलका उत्कृष्ट खेलाडीमध्येको मानिन्थ्यो। उनको परिचय यतिमा सीमित थिएन। उनी यस्ता खेलाडी थिए, जसलाई विपक्षी टिमका समर्थक पनि ‘वाह!’ भन्न बाध्य हुन्थे। उनको टिमले जितोस् नजितोस्, उनको व्यक्तिगत प्रदर्शन अब्बल हुने गर्थ्यो। यसको मुख्य कारण थियो, उनीसँग भएको प्राविधिक कौशल।

स्टार खेलाडी खरिद गर्ने रियलको बानी नयाँ होइन। सन् २००० दशकको सुरुमा रियलले गालाक्टिकोसका नाममा जिनेदिन जिदानदेखि डेभिड बेक्हमसम्मलाई अनुबन्धन गरेको थियो। यस्तोमा हाजार्ड पनि गालाक्टिको भन्न लायकका खेलाडी थिए।

तर दुःखद् पक्ष के भने सान्टियागो बेर्नाबेउले हाजार्डको वास्तविक खेल कौशल देख्नै पाएन। त्यहाँ घुलमिल हुने प्रयासमा थिए, घाइते भइहाले। नोभेम्बर २६, २०१९ बाट उनी रियलको जर्सीमा पहिलोपटक घाइते भए। च्याम्पियन्स लिगको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) का थोमस मुनिरको ट्याकलले हाजार्ड घाइते बन्न पुगे।

उसो त मुनिरको ट्याकल त्यति खराब थिएन। योभन्दा कैयौँ गुणा खराब ट्याकल त हाजार्डलाई विगतमै हानिएको हो। यद्यपि मुनिरको फाउलले हाजार्डलाई कम्तीमा तीन महिना मैदानबाहिर राख्यो। हाजार्ड मैदान त फर्किए, तर लयमा कहिल्यै देखिएनन्।

त्यसपछि पनि हाजार्ड धेरै पटक घाइते भए। कुर्कुच्चाको त शल्यक्रिया नै गर्नुपर्‍यो। तर शल्यक्रियापछि पनि उनको कुर्कुच्चा पहिलेको जस्तो भएन। पीएसजीसँगको त्यो खेलपछि उनी एक खेलमा मात्र ९० मिनेटसम्म मैदानमा रहन सके। रियलमा उनले कुल ७६ खेल खेले। तीमध्ये ४४ खेलमा उनी पहिलो ११ मा थिए।

बारम्बार फिटनेसमा समस्या आएपछि हाजार्डले नामअनुसारको प्रभाव छाड्न सकेनन्। त्यसपछि अन्दाज लगाउन सजिलो भयो, रियलमा उनी लामो समय बस्ने छैनन्। आखिरमा जुनमा घोषणा गरियो, हाजार्डले रियल छाड्दैछन्। सम्झौता सकिन १२ महिना बाँकी थियो, रियलले उनलाई निकाल्न हतार गर्‍यो। भलै यसमा हाजार्ड आफैँ पनि सहमत थिए।

रियल छाड्दा हाजार्ड दुःखी थिएनन्। न त क्लबप्रति उनको आक्रोश थियो। म्याड्रिड सहर अझै पनि उनलाई राम्रै लाग्छ। तब त उनले सहर छाडेका छैनन्। अरू त अरू उनका एक छोरा रियलकै एकेडेमीमा छन्।

क्लबसँगको सम्बन्धमा मनमुटाव नभए पनि प्रशिक्षक कार्लो एन्सिलोट्टीसँग भने हाजार्डको सम्बन्ध ठिकठाक थिएन। यी दुई कहिलेकहीँ मात्रै बोल्थे। जब इटालेली प्रशिक्षक रियल फर्किए, तब उनले हाजार्डलाई आफ्नो योजनाको हिस्सा बनाएनन्। जबकि हाजार्ड टिममै नपर्ने गरी खराब लयमा थिएनन्। अभ्यासमा पनि अनुशासित नै थिए।

विश्वकप २०२२ खेलेर रियल फर्किएपछि लामो समय हाजार्ड टिममा परेनन्। अप्रिलमा मात्र हो उनले खेल्न पाएको। त्यसपछि थप तीन खेलमा मौका पाए। कुल ९६ मिनेट उनले खेले। खेल्न नपाउँदा पनि उनमा कहिल्यै आक्रोश देखिएन। अभ्यासमा सधैँ सही हाउभाउमा प्रस्तुत भइरहे। टिमका साथी खेलाडीहरूसँग सम्बन्ध बिगारेनन्।

हो, रियलमा हाजार्डले आफूलाई प्रमाणित गर्न सकेनन्। रियलको बसाइ खासै सम्झनलायकको रहेन उनका लागि। तर रियल करियरकै आधारमा उनको क्षमतामाथि प्रश्न उठाइनु हुँदैन। उनलाई असफल खेलाडीको सूचीमा पनि राखिनु हुँदैन।

बरु हाजार्ड यस्ता खेलाडी हुन् जसलाई सुन्दर फुटबलको हिस्सा मान्न सकिन्छ। उनले जति खेले, सधैँ मस्त भएर खेले। मैदानमा आफूलाई व्यक्त गरेर खेले। सायद उनी जस्तै खेलाडी मैदानमा उत्रिने भएर होला, फुटबल हेर्न पनि पैसा तिर्नुपरेको। रंगशालामा मात्र होइन टेलिभिजनमा हेर्न पनि शुल्क तिर्नुपरेको थियो।

हाजार्डलाई विश्व फुटबलले सधैँ सम्झिरहनेछ। उनले संन्यास लिएको खबर बाहिर आउनासाथ यसको छनक देखिहालियो। एकसेएक दिग्गजले उनलाई सम्झिँदै केही न केही लेखे। उनको पुरानो क्लब लिलको लेखाइ सबैभन्दा भावुक थियो। ‘डोमाइन डे लुसिन (लिलको अभ्यास केन्द्र) को प्रवेशद्वारमा हाजार्डको मुहार कुँदिएको छ। उनी यहाँ अभ्यास गर्ने सबैभन्दा उत्कृष्ट खेलाडी हुन्,’ लिलले लेखेको छ।

लिलका लागि हाजार्ड कत्तिका महत्त्वपूर्ण खेलाडी थिए? फ्रान्सेली क्लबको एकेडेमीका पूर्वनिर्देशक जिन माइकल भान्डामको कुरा सम्झिए पुग्छ। ‘जब उनी चेल्सी गए, तब लिल इन्जिनबिनाको रेल बन्यो। लिलले नयाँ इन्जिन खरिद नगरेको होइन। तर ती कुनैमा पनि हाजार्डको जस्तो तागत थिएन,’ सन् २०१९ मा भान्डामले भनेका थिए।

हाजार्डलाई चेल्सीले सजिलै अनुबन्ध गरेको थिएन। उनीमाथि अरू थुप्रै क्लबको नजर थियो। अनुबन्ध गर्न इच्छुक सबै क्लबसँग निकै महिना छलफल गरेपछि हाजार्डले चेल्सी जाने घोषणा गरेका थिए।

हाजार्ड चेल्सीले अनुबन्ध गरेको पहिलो वा अन्तिम महँगा खेलाडी थिएनन्। त्यस्ता खेलाडी धेरै आए-गए। तीमध्ये धेरैलाई चेल्सीमा स्थापित हुन सजिलो भएन। तर हाजार्डलाई भने चेल्सीको जर्सीमा प्रभाव देखाउन दुई मिनेट मात्र लाग्यो। इंग्लिस प्रिमियर लिगमा चेल्सी विगन एथ्लेटिकविरुद्ध खेल्दै थियो, ब्रानिसलाभ इभानोभिचले गोल गरे। उनलाई पास दिने खेलाडी हाजार्ड थिए। चेल्सीले दोस्रो गोल पनि गर्‍यो पेनाल्टी। पेनाल्टी प्रहार गर्ने अरू कोही नभएर हाजार्ड नै थिए।

त्यसबेला चेल्सी रोबर्टो डी माटियोको प्रशिक्षणमा खेल्थ्यो। विगनसँगको खेलको केही दिनपछि उनलाई हाजार्डबारे सोधियो। सोध्दा चेल्सीका पूर्वखेलाडी जियानफ्रान्को जोलासँग तुलना गरिएको थियो। ‘जोला एक कलाकार थिए, फुटबलका कलाकार। हाजार्ड पनि कलाकार बन्न सक्छन्,’ माटियोको जवाफ थियो।

हुन त त्यसबेला हाजार्ड र जोलाबीचको तुलना जायज थिएन। तर अब भने प्रश्न सोध्दा केही फरक पर्दैन, उत्कृष्ट को? जोला कि हाजार्ड? हाजार्डले चेल्सीमा तीन सय ५२ खेल खेले। तिनमा उनले एक सय १० गोल गरे, ९२ असिस्ट दर्ता गरे। दुई प्रिमियर लिगसहित कुल ६ उपाधि जिते। जोलाले भने लिग जित्न सकेका होइनन्। फेरि त्यो चेल्सी टिम हाजार्ड सम्मिलितभन्दा धेरै कमजोर थियो। यद्यपि जोला र हाजार्डमा समानता थिए। दुवै यस्ता खेलडी थिए, जसले चेल्सी समर्थकलाई कुर्सीबाट जुरुक्क उठाउन सक्थे।

उसो त हाजार्डको आलोचना पनि भएकै हो। आलोचनाको कारण उनकै प्रतिभा थियो। जसरी उनी उदाए, उनलाई समर्थकले क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीको स्तर भेट्ने खेलाडी भनेर प्रचार गरे। जब उनी समर्थकले तोकिदिएको लक्ष्यमा असफल भए, तब आलोचित बने।

हो, हाजार्ड अभ्यासमा मेहनत गर्दैनथे। चेल्सीमा छँदै अल्छी अभ्यासकर्ताको छवि बनाएका उनको रियलमा पनि खुबै आलोचना भयो। पहिलो प्रिसिजन अभ्यासमा उनी ढिलो गरी उपस्थित भएका थिए। बाहिरी खाना मन पराउने उनको तौल सामान्य खेलाडीको भन्दा बढी थियो। ‘जब म बिदामा हुन्छु, बिदामा भएजसरी नै खान्छु,’ बर्गर र बिस्कुट खान मन पराउने हाजार्डको स्पष्टीकरण थियो।

अभ्यासमा हाजार्ड साँच्चै अल्छी गर्थे। नपत्याए चेल्सीका पूर्वमिडफिल्डर जोन ओबी मिकेलको कुरा सुने हुन्छ। ‘शनिबारको खेलमा उनी म्यान अफ द म्याच हुन्थे। त्यसपछि सोमबार र मंगलबारको अभ्यासमा उनी अल्छी मानी-मानी दौडिन्थे। यस्तो लाग्थ्यो, उनको शरीर मात्र अभ्यासमा छ, मनचाहिँ छैन। तर यो बानीले उनको खेलमा कहिल्यै फरक पारेन,’ मिकेलले भनेका छन्।

हाजार्ड कहिल्यै पनि रोनाल्डो वा मेस्सी जस्तो प्रख्यात बन्न सकेनन्। जबकि उनले ती दुई जत्तिकै लोभलाग्दा गोल गरेका छन्। सन् २०१७ मा आर्सनलविरुद्धको गोल सम्झिऊँ त। त्यतिको सुन्दर गोल गर्नसक्ने खेलाडी कमै छन्। तर उनले त्योे गोलको त्यतिविधि खुसीयाली मनाएनन्। न त आफ्नो प्रशंसा आफैँ गरे। बस् गोल गरे, घर गए, श्रीमती र छोराहरूसँग रमाए। उनका लागि परिवार सबैभन्दा महत्त्वपूर्ण हो। त्यो प्राथमिकता कहिल्यै परिवर्तन गरेका छैनन् उनले।

हाजार्डलाई रोनाल्डो र मेस्सीसँग खुबै तुलना गरियो। तर ती दुईसँग हाजार्डको व्यक्तित्व मिल्दैन थियो। उनले कहिल्यै पनि आफूलाई माथि पारेर कुरा गरेनन्। पत्रकारहरूसँग आफ्नो प्रशंसा गर्दै हिँडेनन्। उनी अलग्गै किसिमका खेलाडी थिए। बस्, कुराकानीपछि आँखा झिम्क्याउँथे।

सन् २०१५-१६ चेल्सीका लागि खराब सिजन थियो। त्यही सिजन बर्खास्तीमा परेका जोसे मौउरिन्होले उनको प्रदर्शनको आलोचना पनि गरेका हुन्। डिसेम्बरमा मौउरिन्हो चेल्सीबाट बाहिरिएपछि हाजार्डले माफी मागे, अपेक्षाकृत प्रदर्शन गर्न नसकेको भनेर। त्यसपछिको आधा सिजन हाजार्डले राम्रै खेले। सिजनको लगभग उत्तरार्धमा उनले टोटनहमविरुद्ध गरेको गोल चेल्सी समर्थकले अझै बिर्सेका छैनन्। त्यही गोलले त हो टोटनहमलाई आखिरमा च्याम्पियन बन्नबाट रोकेको।

कतिले भन्छन्, टोटनहमविरुद्धको त्यो गोल हाजार्डले चेल्सी जर्सीमा गरेको सबैभन्दा सुन्दर गोल थियो। उसो त लिभरपुलविरुद्ध सन् २०१६ र २०१८ मा गरेको दुई गोल पनि कम्ती लोभलाग्दा थिएनन्। अप्रिल २०१९ मा वेस्टह्यामसँगको गोल त झन् कसरी बिर्सनु र?

बेल्जियमबाट खेल्दा पनि हाजार्ड धेरैजसो समय प्रभावशाली देखिएका हुन्। विश्वकप २०१८ मा उनको प्रदर्शन प्रशंसनीय थियो। तब त लुका मोड्रिचपछिको उत्कृष्ट खेलाडी चुनिए। विश्वकप सकिएपछि चेल्सी फर्किएका उनले त्यही लय जारी राखे। माउरिजियो सारीको प्रशिक्षणमा खेल्दा २१ गोल र १७ असिस्टको योगदान गरे। अनि उनी चेल्सीबाट बिदा भए।

सन् २०१८-१९ सिजनमा सारीले चेल्सीलाई लोभलाग्दो शैलीमा खेलाएकै हुन्। त्यस सिजन चेल्सीबाट कसैले सबैभन्दा राम्रो खेलेको थियो भने ती हाजार्ड थिए। चेल्सी समर्थक ठट्टा पनि गर्थे, चेल्सीका सबै खेलाडी हाजार्डलाई नायक बनाउन लागिपरेका छन्। हुन पनि त्यस टिमका सर्वाधिक ठूला नायक हाजार्ड नै थिए। उनीमाथि सारीको औधी विश्वास थियो। जसलाई हाजार्डले तोडेनन्। युरोपा लिगको फाइनलमा आर्सनललाई हराउँदा उनको प्रदर्शन सबैलाई छक्क बनाउने खालको रह्यो।

हाजार्डले चाँडै फुटबल त्यागे। उनी किन यति छिटै थाके? समर्थक जवाफ खोजिरहेका छन्। रियल छाड्नुपरेपछि उनले अरू क्लबबाट खेल्ने हल्ला पनि थियो। उनी बेल्जियम फर्कन्छन् वा अमेरिकी लिग जान्छन्, अनुमान भइरहेकै थियो। हाजार्डलाई अमेरिकी जीवनशैली मनपर्ने भएकाले एमएलएस जाने सम्भावना बढी भएको पनि भनियो। तर आखिरमा उनले अहिलेको जीवनशैली रोजे। त्यो हो, संन्यास। द एथ्लेटिकबाट

प्रकाशित: २६ असोज २०८० १६:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 16 =