क्रिकेट विश्वकप : खतरनाक श्रीलंकाबारे जानकार पाकिस्तान

हिमाल प्रेस २३ असोज २०८० ९:३३
6
SHARES
क्रिकेट विश्वकप : खतरनाक श्रीलंकाबारे जानकार पाकिस्तान

काठमाडौँ- दुई पूर्वच्याम्पियन पाकिस्तान र श्रीलंका क्रिकेट विश्वकपमा मंगलबार दिउँसो आमनेसामने हुँदैछन्। भारतीय सहर हैदरबादमा हुने यो खेल पाकिस्तानका क्रिकेट निर्देशक मिक्की आर्थरका लागि आफ्ना पूर्वखेलाडीहरुसँगको सम्बन्ध नवीकरण गर्ने अवसर पनि हुनेछ।

गत अप्रिलमा पाकिस्तानी क्रिकेट टिमका निर्देशक बनेका आर्थर डिसेम्बर २०१९ बाट नोभेम्बर २०२१ सम्म श्रीलंकाको प्रशिक्षक थिए। श्रीलंकासँगको खेलको पूर्वसन्ध्यामा आर्थरले आफू यो टिमको बलियो र कमजोर पक्षबारे जानकार रहेको बताएका छन्।

‘हो, मलाई श्रीलंकाली टिमको बलियो र कमजोर पक्षबारे राम्रोसँग थाहा छ। यी पक्षलाई ध्यानमा राखेर रणनीति बनाएका छौँ। तर यहाँ भुल्न नहुने तथ्य के हो भने, श्रीलंका खतरनाक टिम हो र यो टिमलाई हराउन त्यति सजिलो छैन,’ सोमबार आर्थरले भने।

भारतीय भूमिमा सुरु विश्वकपमा पाकिस्तानले विजयी सुरुवात गरिसकेको छ। यद्यपि नेदरल्यान्ड्सविरुद्धको जित पाकिस्तानका लागि सहज भने थिएन।

शुक्रबारको सो खेलमा पाकिस्तानले ८१ रनको जित हात पारेको थियो। ३८–३ को स्थितिमा रहेको पाकिस्तानले अन्ततः २८६ रनको योगफल तयार पारेको थियो। पाकिस्तानी इनिङ्सलाई साउल शकिल र मोहम्मद रिज्वानको ब्याटिङले उकासेको थियो। त्यसपछि पाकिस्तानी बलरले युरोपेली टिमलाई २०५ रनमा सीमित गरेका थिए।

‘प्रदर्शन एकदम उत्साहपूर्ण थिएन तर जितले खुसी छु। जितका लागि आवश्यक मेहनत हामीले गरेकै हो। यो खेल जित्न हामीसँग पर्याप्त क्षमता थियो,’ सुरुवाती खेलबारे आर्थरको टिप्पणी थियो।

एसियाली प्रतिद्वन्द्वीविरुद्ध पाकिस्तानले पहिलो खेलकै टिमलाई निरन्तरता दिने सम्भावना छ। यस्तोमा फकार जमानले पनि स्थान सुरक्षित गर्नेछन्। पछिल्लो खेलमा उनी १२ रनमा आउट भएका थिए।

‘म उनको लयलाई लिएर चिन्तित छैन। उनी राम्रा खेलाडी हुन्। सम्भवतः अब अर्को एक इनिङ्सपछि उनले ठूलो स्कोर बनाउनेछन्,’ आर्थरले जमानको बचाउ गर्दै भने।

उता श्रीलंका भने आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकासँग १०२ रनले पराजित भएको थियो। नयाँ दिल्लीमा दक्षिण अफ्रिकाले श्रीलंकालाई कीर्तिमानी ४२९ रनको लक्ष्य दिएको थियो। जवाफमा श्रीलंकाले ३२६ रन बनाएको थियो। हारका बाबजुद आत्मविश्वासी ब्याटिङ गरेको श्रीलंका पाकिस्तानविरुद्ध निडर खेल देखाउने उद्देश्यमा छ।

सन् १९९६ को विजेता श्रीलंका पाकिस्तानविरुद्धको यो खेलका लागि किन पनि निडर छ भने, उसले गत महिना पाकिस्तानलाई घरेलु मैदानमा एसिया कपमा हराएको थियो।

उसो त मुख्य बलरहरु घाइते भएकाले श्रीलंका चिन्तामा भने छ। कप्तान दासुन शानाकाका अनुसार दुसामान्था चमिरा र वानिन्दु हसरंगासँगै माहिस थिक्साना हाल घाइते छन्।

‘तीन मुख्य बलरबिना खेल्न पक्कै सजिलो हुनेछैन। तर यसलाई बहाना बनाउने छुट हामीसँग छैन। खेलाडी घाइते हुनु खेलको हिस्सा हो। दक्षिण अफ्रिाविरुद्ध हामीले जसरी खेल्यौँ, त्यसमा म सन्तुष्ट छु। आशा छ पाकिस्तानसँगको खेलमा हामी सही मनस्थितिमा हुनेछौँ,’ शानाकाले भनेका छन्।

दक्षिण अफ्रिाविरुद्धको खेलमा कुशल मेन्डिसले ४२ बलमा ७६ रन बनाएका थिए। उनी फेरि एकपटक उही लयमा देखिए श्रीलंका बलियो स्थितिमा पुग्नेछ। शानाका आफैँले पनि बलियो ब्याटिङ गरेका थिए। उनको नाममा ६८ रन रह्यो भने चारिथ असालांकाले ७९ रन जोडेका थिए।

प्रकाशित: २३ असोज २०८० ९:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =