आठ वर्षपछि आर्सनलसँग हार्‍यो सिटी, लिभरपुल रोकियो

हिमाल प्रेस २२ असोज २०८० ६:५४
10
SHARES
आठ वर्षपछि आर्सनलसँग हार्‍यो सिटी, लिभरपुल रोकियो

काठमाडौँ– इंग्लिस प्रिमियर लिगमा आठ वर्षपछि आर्सनलले म्यानचेस्टर सिटीलाई पराजित गरेको छ।

आइतबार राति इमिरेट्स रंगशालामा सिटीलाई १–० ले निराश बनाउन आर्सनलका गाब्रियल मार्टिनेलीले गोल गरे। सब्स्टिच्युट मार्टिनेलीले ८६ औँ मिनेटमा गोल गरेका थिए।

आर्सनलले पछिल्ला १२ खेलमा सिटीलाई हराउन सकेको थिएन। यसपालि भने आर्सनलले घरेलु मैदानमा गत सिजनको च्याम्पियनमाथि जितको स्वाद चाख्यो।

गोलको मुभ थोमस पार्टेबाट सुरु भएको थियो। लगभग एक महिनापछि टिममा फर्किएका पार्टेले मिडफिल्डबाट लामो पास दिएका थिए। उनको पासलाई बक्सभित्र रहेका टाकेहिरो टोमियासुले हेडरमार्फत काई हाभर्ट्सलाई दिए।

त्यसपछि हार्भट्सले बक्सबाहिर रहेको मार्टिनेलीका लागि बल उपलब्ध गराए। मार्टिनेलीले त्यहीबाट प्रहार गरेको बल सिटीका रक्षक नाथन आकेसँग डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो।

डिसेम्बर, २०१५ यता पहिलो पटक सिटीलाई हराएपछि इमिरेट्समा आर्सनल समर्थक र खेलाडीले खुसीयाली मनाए। यद्यपि खेल सकिन साथ तनावको स्थिति उत्पन्न भएको थियो। ड्रेसिङ रुमतर्फ जाँदै गरेका सिटीका एर्लिङ हालान्ड र कायल वाल्कर आर्सनल प्रशिक्षण टोलीका सदस्यबीच भनाभन परेको थियो।

सिटीका स्ट्राइकर हालान्ड र आर्सनलका सेट पिस प्रशिक्षक निकोलर जोभरबीच धकेलाधकेल पनि भएको बताइएको छ। सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले यसबारे आफू जानकार रहेको तर केही नबोल्ने प्रतिक्रिया दिएका थिए। ‘के भयो भन्ने थाहा छ, तर म केही भन्दिनँ,’ ग्वार्डिओलाको भनाइ थियो।

आर्सनलले यो सिजनको सुरुवातमा कम्यसनिटी शिल्डमा सिटीलाई पेनाल्टीमा हराएको थियो। तर लिगको यो जित भने आर्सनलका लागि बढी महत्त्वपूर्ण छ। किनभने यो खेलको नतिजाले आखिरमा लिग उपाधि दौडमा फरक पार्नसक्छ।

जितपछि आर्सनलले सिटीसँग दुई अंकको अग्रता बनाएको छ। अब आर्सनलसँग आठ खेलबाट २० अंक छ। शीर्षस्थानको टोटनहमसँग पनि २० अंक नै छ। सिटी र लिभरपुल क्रमशः तेस्रो र चौथो स्थानमा छन्। उनीहरुसँग १८ र १७ अंक छ।

‘मेरा खेलाडीहरुले असाध्यै राम्रो खेल देखाए। उनीहरुप्रति मलाई गर्व छ। हामीलाई थाहा थियो यो खेल जित्न सजिलो हुनेछैन भनेर, यसका लागि हामीले अपेक्षा गरेकै जस्तो मेहनत गर्यौँ। समर्थक हाम्रो साथमा थिए,’ आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाले भने, ‘यो जित हाम्रा लागि एकदम ठूलो हो। आक्रामक फुटबल खेलेर जितेका हौँ। गोलका लागि जसरी मुभ बन्यो, यसको प्रशंसा गर्नैपर्छ।,’

प्रिमियर लिगमा सिटीले लगातार दोस्रो पराजय भोगेको हो। गत साता सिटीलाई उल्भरह्याम्पटनले हराएको थियो। डिसेम्बर, २०१८ पछि सिटी सरासर दुई खेलमा पहिलो पटक हारेको हो। लिग कपको नतिजा पनि जोड्ने हो भने, सिटीले पछिल्ला चार खेलमा तीन पराजय भोगेको छ। यी नतिजाको मतलब हो, सिटी पाँच वर्षयताकै खराब लयमा छ।

लगातार चौथो सिजन लिग च्याम्पियन बन्ने लक्ष्यमा रहेको सिटीलाई आर्सनलले अवश्य पनि धक्का पुर्याएको छ। सुरुका ६ खेलमा विजयी रहेको सिटी एक्कासी कमजोर बनेको छ।

‘हामीले आज सुरुवात नराम्रो गरेको होइन। खेल सुरु हुनसाथ हामीले केही मौका सिर्जना गरेका थियौँ। तर दोस्रो हाफमा आर्सनल बलियो देखियो। त्यसपछि डिफ्लेक्सनमा गोल भयो। अब हामीले उनीहरुलाई भेटाउन के गर्न सकिन्छ, ध्यान त्यता हुनेछ,’ हारपछि ग्वार्डिओलाले भने।

गएको सिजन आर्सनल र सिटी उपाधि दौडमा मुख्य प्रतिस्पर्धी थिए। सिजनको उत्तराद्र्धमा खस्किएको आर्सनल यसपालि पनि लामो दौडका लागि तयार छ। यस्तोमा आर्टेटा सिटीमाथिको जितले आफ्ना खेलाडीलाई उत्साहित बनाएको बताउँछन्।

‘यो जित सबै खेलाडीका लागि सन्देश हो, हामीले जे गर्दै आइरहेका छौँ त्यसमा दायाँबायाँ हुनुहुँदैन। धैर्य र अनुशासित भएर मेहनत गर्ने हो भने हामीलाई अरुले जित्न गाह्रै पर्छ,’ आर्टेटाले भने।

सिटी पराजित भएको दिन लिभरपुलले तेस्रो स्थानमा उक्लिने मौका गुमायो। ब्राइटनको मैदानमा २–१ ले अघि रहेको लिभरपुलले ७८ औँ मिनेटमा बराबरी गोल खाएको थियो। ब्राइटनका कप्तान लेविस डंकको त्यो गोलपछि लिभरपुलले गोल थप्न सकेन र खेल २–२ को बराबरीमा सकियो।

उसो त घरेलु मैदानमा ब्राइटनले अग्रता लिएको थियो। यही सिजन लिभरपुल गएका एलेक्सिस म्याक अलिस्टरले ब्राइटन फर्कदा महँगो गल्ती गरे। कप्तान तथा रक्षक भर्जिल भान डाइकबाट आएको सामान्य पास म्याक अलिस्टरले नियन्त्रणमा लिन नसकेपछि बल सिमोन एडिङ्ग्राले पाएका थिए। त्यसपछि उनले टाढैबाट गरेको प्रहार लिभरपुलका गोलरक्षक एलिसनले रोक्न सकेनन्।

पहिलो हाफ नसकिँदै लिभरपुलले दुई गोल फर्काएको थियो। मोहम्मद सलाहले ४० औँ मिनेटमा पेनाल्टीमा गोल गरेर खेल बराबरीमा पुर्याएका थिए। त्यसको ६ मिनेटपछि उनले अर्को गोल थपेका थिए।

दोस्रो हाफमा मैदान प्रवेश गरेका रायन ग्राभेनबर्चको प्रहार बारमा नलागेको भए लिभरपुल ३–१ ले अघि बढ्ने थियो। यसैपालि बायर्न म्युनिखबाट लिभरपुल पुगेका ग्राभेनबर्चले गोलको मौका खेर फाल्नु अन्ततः महँगो साबित भयो। किनभने त्यसको १२ मिनेटपछि ब्राइटनले बराबरी गोल फर्काउन सफल भएको थियो।

‘मलाई लाग्छ यो सही नतिजा हो। हामीले राम्रो खेलेको भए जित्थ्यौँ। तर राम्रो खेल्न सकेनौँ। हामीले औसत प्रदर्शन मात्र गर्नसक्यौँ। यसकारण नतिजाबाट दुःखी हुन आवश्यक छैन,’ लिभरपुलका प्रशिक्षक योर्गन क्पले भने।

च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई हराएर सनसनी मच्चाएको न्युकासल युनाइटेड घरेलु लिग र्फकदा वेस्टह्याम युनाइटेडसँग रोकियो। आइतबार राति मोम्मद कुडुसले ८९ औँ मिनेटमा गोल गरेपछि न्युकासल वेस्टह्यामसँग २–२ को बराबरीमा रोकिन बाध्य भएको हो।

घरेलु मैदानमा वेस्टह्याम पहिलो हाफको आठौँ मिनेटमा थोमस सौसेकको गोलमार्फत अघि बढेको थियो। तर अलेक्जान्डर इसकाले ५७ र ६२ औँ मिनेटमा लगातार दुई गोल गरेपछि न्युकासल खेलमा बलियो बनेको थियो।

लिगमा लगातार चौथो जितनजिक पुगेको न्युकासल आखिरमा कुडुसको गोलका कारण रोकियो। कुडुसले इंग्लिस लिगमा पहिलो गोल गरेका हुन्। उनलाई यही सिजन वेस्टह्यामले आयाक्सबाट अनुबन्ध गरेको हो।

बराबरीपछि न्युकासल १३ अंकसहित आठौँ स्थानमा छ। एक अंक बढी भएको वेस्टह्याक सातौँ स्थानमा छ। उता उल्भरह्याम्पटनसँग १–१ को बराबरीमा रोकिएपछि एस्टन भिल्लाले भने चौथो स्थानमा उक्लिने मौका गुमायो। पाँचौँ स्थानको भिल्लासँग १६ अंक छ। जुन लिभरपुलभन्दा एक अंकले कम हो।

प्रकाशित: २२ असोज २०८० ६:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + eight =