सिरी ए

मिलानको जितमा पुलिसिकको गोल, जिरुड बने गोलरक्षक

हिमाल प्रेस २१ असोज २०८० ९:३७
4
SHARES
मिलानको जितमा पुलिसिकको गोल, जिरुड बने गोलरक्षक

काठमाडौँ- एसी मिलान शनिबार रातिको खेलमा जेनोआलाई १-० ले हराउँदै इटालेली लिग सिरी ए को शीर्षस्थानमा पुगेको छ। मिलानको जितमा क्रिस्टियन पुलिसिकले निर्णायक गोल गरे।

यसैपालि चेल्सीबाट मिलान पुगेका अमेरिकी फरवार्ड पुलिसिकले ८७ औँ मिनेटमा गोल गरेका थिए। उनकै देशका युनुस मुसाबाट आएको लामो पासलाई नियन्त्रणमा लिएर पुलिसिकले गोल गरेका थिए। सिरी ए मा यो उनको चौथो गोल हो।

पुलिसिकको गोलपछि जितउन्मुख बनेको मिलानले गोलरक्षक माइक माइनानलाई गुमाएको थियो। इन्जुरी समयको नवौँ मिनेटमा जेनोआका सेलेबइ इकुबानमाथि फाउल गरेपछि उनलाई रातो कार्ड देखाइएको थियो।

माइनान मैदानबाट बाहिरिन बाध्य भएपछि स्ट्राइकर ओभिर जिरुडले गोलपोस्ट सम्हालेका थिए। मिलानले पाँच खेलाडी परिवर्तन गरिसकेका कारण माइनानको स्थानमा अर्का गोलरक्षक प्रवेश गराउन पाएन। जसकारण फ्रान्सेली फरवार्ड गोलरक्षक बन्न बाध्य भए।

मिलानका प्रशिक्षक स्टिफियानो पिओलीका अनुसार गोलकर्ता पुलिसिक गोलरक्षक बन्न तम्सिएका थिए। तर उनको उचाइँ कम भएकाले अग्ला जिरुडलाई चुनिएको थियो। जिरुडले जेनोआको एक प्रहार बचाएका थिए।

जेनोआको रंगशाला स्टाडियो कोमुनाले लुइजी फेरारिसमा खेल त्यत्तिकै सकिएन। अर्का खेलाडीले रातो कार्ड पाए। यसपालि मैदानबाट बाहिरिने पालो थियो, घरेलु टिमका गोलरक्षक जोसेप मार्टिनेज। दोहोरो पहेलो कार्ड पाएपछि उनले इन्जुरी समयको १३ औँ मिनेटमा मैदान छाडे।

जितपछि मिलानको आठ खेलबाट २१ अंक भएको छ। मिलान र दोस्रो स्थानको इन्टर मिलानबीच अब दुई अंकको फरक भएको छ। तेस्रो स्थानका युभेन्टस छ। टुरिन डार्बीमा शनिबार राति नै टोरिनोलाई २–० ले पन्छाएपछि युभेन्टस तेस्रो स्थानमा उक्लिएको हो। युभेन्टससँग १७ अंक छ।

आफ्नो टिमको संकट टारेपछि जिरुड प्रसन्न देखिए। उनले आफूले लगाएको गोलरक्षकको जर्सी घरमा सजाएर राख्ने पनि बताए। उनलाई माइनानकै जर्सी दिइएको थियो।

‘खेलमा यस्तो परिस्थिति आउछ भनेर अनुमान गरिएकै थिएन। तर अन्तिममा संकट टर्‍यो,’ जिरुडले भने, ‘हाम्रो टिमको अग्ला खेलाडीमध्येको हुँ। यसकारण म गोलरक्षक बन्नु स्वाभाविक थियो। जे होस्, जितियो। यो अनुभव म कहिले भुल्ने छैन।’

शनिबार रातिको अर्को खेलमा युभेन्टसले टोरिनोलाई पन्छायो। युभेन्टसको जितमा फेडेरिको गाटी र अर्काडिउस मिलिकले दोस्रो हाफमा एक–एक गोल गरे। यो जितका कारण युभेन्टस शीर्ष चारभित्र प्रवेश गर्यो। यसअघि नापोली तेस्रो स्थानमा थियो। चौथो स्थानको नापोलीले आइतबार राति फियारेन्टिनाको सामना गर्ने तालिका छ।

‘अरु टिम के गर्दैछन्, त्यता ध्यान दिएका छैनौँ। हामी आफ्नो प्रदर्शनमा केन्द्रित भइरहेका छौँ। हरेक खेल जित्ने लक्ष्य हो, किनभने यो मनस्थितिले मात्र हामीलाई शीर्षस्थानमा पुर्‍याउन सक्छ। यद्यपि शीर्षस्थानमा पुग्न लामो यात्रात्र तय गर्नुछ,’ गोलकर्ता मिकिले भने।

युभेन्टसले तुलनात्मक रुपमाक कमजोर अग्रपंक्ति खेलाएको थियो। किनभने दुई मुख्य फरवाडए फेडेरिको किएसा र डुसान भ्लाहोभिच हाल घाइते छन्। यस्तोमा मोइस किन स्ट्राइकरको भूमिकामा थिए।

उता इन्टर मिलान भने बोलोन्यासँग २–२ को बराबरीमा रोकियो। सान सिरोमा फ्रान्सिस्को एक्रेबी र लाउटारो मार्टिनेजले सुरुवाती १३ मिनेटभित्र गोल गरे पनि जितका लागि पर्याप्त भएन।

दोस्रो गोल खाएको ६ मिनेटपछि बोलोन्याले पहिलो गोल फर्काएको थियो। रिकार्डो ओर्सोलिनीले पेनाल्टीमा गोल गर्र्र्दै बोलोन्याको सम्भावना जगाएका थिए। दोस्रो हाफमा जोसुआ जिर्कजीले गोल बोलोन्याको गोल थपेपछि इन्टर बराबरीमा रोकियो।

तीन अंक बटुल्न नसकेपछि इन्टरका प्रशिक्षक फिलिपो इन्जाघीले आफू आक्रोशित बनेको प्रतिक्रिया दिए। ‘खेलाडी पनि खुसी छैनन्। दोस्रो हाफमा हामीले ध्यानपूर्वक खेल्न सकेनौँ। गल्ती गरिरह्यौँ। सासुओलोसँगको खेल पनि हामीले आफ्नै गल्तीका कारण गुमाएका थियौँ। आज पनि त्यही भयो,’ इन्जाघीले भने।

प्रकाशित: २१ असोज २०८० ९:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − two =