चालक तथा सहचालकको नियमित स्वास्थ्य परीक्षणमा जोड

हिमाल प्रेस २० असोज २०८० १४:३८
6
SHARES
चालक तथा सहचालकको नियमित स्वास्थ्य परीक्षणमा जोड फाइल तस्बिर

लुम्बिनी- बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि सार्वजनिक सवारी चालक तथा सहचालकको नियमित स्वास्थ्य परीक्षण गर्नुपर्ने सरोकारवालाहरूले औँल्याएका छन्।

चालकलाई समय अनुकूल आवश्यक नीति, नियम र ज्ञानसहित उनीहरूको तनाव व्यवस्थापनका लागि नियमित स्वास्थ्य परीक्षणमा ध्यान दिनुपर्नेमा सार्वजनिक सवारीसँग सरोकार राख्ने निकायका प्रमुख तथा प्रतिनिधिले जोड दिएका हुन्।

सवारी दुर्घटना न्यूनीकरण तथा आन्तरिक व्यवस्थापनसम्बन्धी अभियानलाई सञ्चालन गर्दै आएको पश्चिम नेपाल बस व्यवसायी प्रालिको आयोजनामा चालक तथा सहचालक प्रशिक्षण कार्यक्रममा सहभागी वक्ताहरूले सार्वजनिक सवारीका चालक तथा कर्मचारीले आफ्नो स्वभाव र व्यवहारमा परिवर्तन ल्याउनुपर्ने खाँचो रहेको बताएका हुन्।

कार्यक्रममा राजमार्ग सुरक्षा तथा सवारी व्यवस्थापन कार्यालय बुटवलका प्रहरी निरीक्षक शोभा पाण्डेले सवारी चालकहरू जिम्मेवार हुनुपर्नेमा जोड दिइन्। सवारी चालकले छिटो गन्तव्यमा पुग्ने र धेरै यात्रु चढाउने प्रतिस्पर्धा मात्रै नगरेर गुणस्तरीय चालक बन्ने प्रयास गर्न चालकहरूलाई उनले आग्रह गरिन्।

प्रहरी निरीक्षक पाण्डेले सभ्य भाषा, नम्र बोलीसहितको सेवा नै अचुक औषधी भएको बताउँदै अपांग र आरक्षण सिट कार्यान्वयन गरिनुपर्ने बताइन्। पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले सवारी चालक, सहचालक, यात्रुहरू सबै जिम्मेवार भए दुर्घटना न्यूनीकरणमा टेवा पुग्नुका साथै बर्सेनि हुने धनजनको क्षतिसमेत कम गर्न सकिने बताए।

सार्वजनिक सवारीसाधन प्रयोगकर्ता पनि दुर्घटना न्यूनीकरणका विषयमा उत्तिकै जिम्मेवार हुनुपर्नेमा उनले जोड दिए। सुरक्षित यात्रा नेपालका अध्यक्ष तथा यातायात मजदुर नेता कृष्णप्रसाद बेलबासेले चालक तथा सहचालकले यात्रुहरूसँग नम्र व्यवहार गर्नुपर्नेमा जोड दिँदै दुर्घटना न्यूनीकरण र सवारी व्यवस्थापनका लागि प्रालिले जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए। रासस

प्रकाशित: २० असोज २०८० १४:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 6 =