एसियाली खेलकुद : कबड्डीले नेपाललाई पदक दिलाउने निश्चित

हिमाल प्रेस १७ असोज २०८० ११:००
8
SHARES
एसियाली खेलकुद : कबड्डीले नेपाललाई पदक दिलाउने निश्चित

काठमाडौँ- १९ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत नेपाल महिला कबड्डीतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ। सेमिफाइनल प्रवेश गरेसँगै १९औँ एसियाली प्रतियोगितामा नेपालले कबड्डीमा पदक पाउने निश्चित भएको छ ।

चीनको हाङझाउमा जारी प्रतियोगिताअन्तर्गत केहीबेर अघि सम्पन्न खेलमा इरानले बंगलादेशलाई ५४-१६ अंकले पराजित गरेसँगै नेपाल समूह ‘बी’ को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो।

सेमिफाइनलमा प्रवेशगरेसँगै नेपालले जारी एसियाली प्रतियोगितामा कम्तीमा कास्य पदक प्राप्त गर्ने टुंगो लागेको हो। कबड्डीमा सेमिफाइनल पुग्ने चारवटै टोलीले पदक प्राप्त गर्ने प्रावधान छ ।

महिला कबड्डीतर्फ नेपालले पहिलो पटक एसियाली खेलकुदमा भाग लिएको हो।

‘पहिलो सहभागितामै आफ्नो देशलाई पदक दिलाउन सफल भएका छौँ’, नेपाली महिला कबड्डी टोलीका प्रशिक्षक विष्णुदत्त भट्टले चीनको हाङझाउबाट भने, ‘महिला कबड्डी टोलीले विश्वमा नेपालको इज्जत बढाएको छ। जारी एसियाली खेलकुदमा मुलुकलाई पदकविहीन हुनबाट जोगाउन सफल भयौँ।’ सेमिफाइनलमा पनि उत्कृष्ट प्रदर्शन गर्दै कास्य पदकमा मात्र सीमित नरहने उनले बताए।

नेपाल रहेको समूह ‘बी’ मा इरान र बंगलादेश रहेका छन्। इरान समूह ‘बी’ को विजेताका रुपमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। नेपालले पहिलो खेलमा सोमबार बंगलादेश​लाई ३७–२४ अंकले पराजित गरेको थियो भने दोस्रो खेलमा मंगलबार इरानसित १९–४३ अंकले पराजित भएको थियो।

नेपाल र इरानसित पराजित भएको बंगलादेश भने प्रतियोगिताबाट बाहिरिएको छ। इरानले १८औँ एसियाली खेलकुदमा पनि महिला कबड्डीमा स्वर्णपदक जितेको थियो।

यस्तै महिला कबड्डीतर्फ समूह ‘ए’ मा भारत, थाइल्याण्ड, चाइनिज ताइपेइ र दक्षिण कोरिया रहेका छन्। नेपालले अब समूह ‘ए’ को विजेता टोलीसित सेमिफाइनल खेल्ने छ। रासस

प्रकाशित: १७ असोज २०८० ११:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 7 =