च्याम्पियन्स लिग : नापोलीलाई बलियो मानेको रियल

हिमाल प्रेस १६ असोज २०८० ८:४१
30
SHARES
च्याम्पियन्स लिग : नापोलीलाई बलियो मानेको रियल

काठमाडौँ- रियल म्याड्रिडका प्रशिक्षक कार्लो एन्सिलोट्टीले नापोली इटालीको बलियो टिममध्येको रहेको र सिरी ‘ए’ च्याम्पियनविरुद्धको खेल कठिन हुने बताएका छन्। रियलले च्याम्पियन्स लिग समूह चरणको खेलमा मंगलबार राति नापोलीको सामना गर्दैछ। यही खेलको पूर्वसन्ध्यामा एन्सिलोट्टीले इटालेली टिमको तारिफ गरेका हुन्।

रियलले नयाँ सिजनको च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको थियो। समूह ‘सी’ को आफ्नो पहिलो खेलमा रियलले युनियन बर्लिनमाथि १–० साँघुरो जित हात पारेको थियो।

यही समूहको अर्को खेलमा भने नापोलीले पनि जितका लागि संघर्ष गर्नु पर्‍यो। हाल सिरी ‘ए’ मा तेस्रो स्थानमा रहेको नापोलीले स्पोर्टिङ ब्रागालाई २–१ ले हराएको थियो।

नेप्पल्सको डिएगो अर्मान्डो रंगशालामा भिड्दा नापोली र रियलको उद्देश्य जित हुनेछ, ताकि समूहको शीर्षस्थान ओगट्न पाइयोस्। यद्यपि रियलका प्रशिक्षक एन्सिलोट्टी पूर्वक्लबविरुद्धको खेल सजिलो नहुनेमा ढुक्क छन्।

‘हामी इटालीको उत्कृष्ट टिममध्ये एकसँग भिड्दैछौँ। जसले गत सिजन तारिफयोग्य प्रदर्शन गरेको थियो। यसकारण यो खेल हाम्रा लागि सजिलो हुनेवाला छैन,’ एन्सिलोट्टीले भने, ‘समूह चरणको सबैभन्दा अप्ठ्यारो खेल यही हो। यत्तिको अप्ठ्यारो खेल हामी बारम्बार खेल्दैनौँ। तर खेल जतिसुकै अप्ठ्यारो होस्, रियलको जर्सी लगाएपछि उद्देश्य जित नै हुन्छ।’

इटालेली प्रशिक्षक एन्सिलोट्टी सन् २०१८ देखि २०१९ सम्म नापोलीको प्रशिक्षक थिए। त्यसबीचमा उनको प्रशिक्षणमा नापोलीले ७३ खेल खेलेको थियो। सिरी ए मा नापोली सातौँ भएपछि एन्सिलोट्टी बर्खास्तीमा परेका थिए।

‘नापोली सुन्दर सहर हो। यो सहरमा सकारात्मक स्मृति बटुलेको छु। हो, मैदानमा मैले त्यति धेरै राम्रा क्षण अनुभव गरिनँ, तर मलाई केही गुनासो छैन। भोलिको महत्त्वपूर्ण खेलअघि नकारात्मक कुरा गर्नुको औचित्य छैन,’ एन्सिलोट्टीले सोमबारको पत्रकार सम्मेलनमा भने।

एन्सिलोट्टीले क्लब र प्रशिक्षकबीच बिग्रिएको सम्बन्धबारे खासै टिप्पणी गर्न नहुने पनि बताए। ‘जे भयो राम्रै भयो, किनभने म अहिले विश्वकै सबैभन्दा उत्कृष्ट क्लबको प्रशिक्षक बन्न पाएको छु,’ एन्सिलोट्टीको भनाइ थियो।

च्याम्पियन्स लिगमा यसअघि नापोली र रियल सन् २०१६–१७ मा भिडेका थिए। अन्तिम १६ को त्यो खेलमा रियल विजयी भएको थियो। नापोलीलाई ३–१ ले हराएर अघि बढेको रियल आखिरमा च्याम्पियन बनेको थियो।

नापोली नयाँ प्रशिक्षक रुडी गार्सियाको नेतृत्वमा खेलिरहेको छ। गत सिजन लिग विजेता बनाउने लुसियानो स्पालेट्टीले छाडेपछि नापोलीले फ्रान्सेली प्रशिक्षक गार्सियालाई भित्र्याएको हो।

साउदी अरबको अल नासर छाडेर सिरी ‘ए’ पुगेका गार्सियाले नापोलीमा सुखद् सुरुवात भने गर्न सकेका थिएनन्। सुरुका ६ खेलममा तीन जित, दुई बराबरी र एक हारको नतिजा आत्मात गरेका गार्सियाले त्यसपछिका दुई खेलमा लगातार जित दिलाएका छन्। पछिल्ला दुई खेलमा नापोलीले आठ गोल गरेको छ।

दुई खेलमा दुई गोल गरेका भिक्टर ओसिमेन फेरि एकपल्ट ठूलो खेलका लागि तयार छन्। उनले यो सिजन कुल पाँच गोल गरिसकेका छन्। गएको सिजन नापोलीलाई लिग च्याम्पियन बनाउँदा ओसिमेनसँग लोभलाग्दो साझेदारी गरेका भिचा काभारसेलियाको नाममा यसपालि तीन असिस्ट छ। च्याम्पियन्स लिगमा भने उनले गोल वा असिस्टको खाता खोल्न बाँकी छ।

रियलविरुद्ध ओसिमेन र काभारसेलियासँगै माटियो पोलिटानेले अग्रपंक्ति सम्हाल्ने अपेक्षा गरिएको छ। ३० वर्षीय विंगर पोलिटानोले यसपालि सात खेलमा तीन गोल गरेका छन्।

उता रियलले भने भिनिसियस जुनियर र रोड्रिगोलाई आक्रमणमा उतार्नेछ। यी दुई ब्राजिलेलीलाई मिडफिल्डर ज्युड बेलिङहमले साथ दिनेछन्। यही सिजन रियलसँग आबद्ध भएका बेलिङहम गजबको लयमा छन्। ला लिगाका सात खेलमा ६ गोल गरेका उनले च्याम्पियन्स लिगमा युनियन बर्लिनविरुद्ध निर्णायक गोल गरेका थिए।

प्रकाशित: १६ असोज २०८० ८:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =