१२ वर्ष साउदीमा साहुको भेडा चराएका बलबहादुर, जो अहिले आफैँ मालिक बने

हिमाल प्रेस १५ असोज २०८० ७:३०
30
SHARES
१२ वर्ष साउदीमा साहुको भेडा चराएका बलबहादुर, जो अहिले आफैँ मालिक बने

बागलुङ- गाउँमा काम गर्ने जनशक्ति नहुँदा खेतीयोग्य जमिन वनमाराले ढाक्दै गएको छ। दिनप्रति दिन गाउँ छोड्नेको संख्या बढ्दैछ।

बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखराका बलबहादुर केसी भने गाउँमै व्यावसायिक बाख्रापालन गर्दै आएका छन्। उनी पनि एक दशक बढी विदेशमा पसिना बगाएर स्वदेश फर्किएका हुन्।

उनी भन्छन्, ‘जीवनको ऊर्जाशील समय विदेशमा बित्यो। अहिले आफ्नै गाउँठाउँ र पाखापखेरा प्यारो लाग्न थालेको छ।’ बिहान उठेदेखि राति नसुतुञ्जेलसम्म बाख्राको स्याहारसुसारमा देखिने केसीसँग १२ वर्ष साउदी अरबमा दुःख गरेको अनुभव छ। साउदीमा साहुको भेडा चराउने काम गरेका उनी अहिले आफैँ मालिक बनेका छन्।

अनेक आवश्यकता र पारिवारिक जिम्मेवारीले सानै उमेरमा परदेशिनुपरेको दुःख सुनाउने केसी अहिले धेरै युवाका लागि प्रेरणाको स्रोत बनेका छन्। स्वदेशै कामको खोजी गरेर पनि नपाएपछि विदेशिनुभएका केसीले अहिले गाउँमा थुप्रै सम्भावना देखेका छन्।

उनी थप्छन्, ‘पशुपालन होस् या व्यावसायिक तरकारी खेती युवाका लागि प्रसस्त आयआर्जनको स्रोत यही छ।’ चार वर्षदेखि बाख्रापालनमा लाग्नुभएका केसीले गाउँमा गर्ने कामले आत्मसम्मान मिल्ने बताउँछन्। विभिन्न परिस्थितिका कारण विदेश जानुपरेको जनाउँदै अब विदेश नजाने सोच बनाएको उनको भनाइ छ।

‘पहिले पारिवारिक आर्थिक अवस्थाका कारण विदेश गइयो, विदेशमा गरेको दुःख अहिले सम्झिँदा पनि आँसु झर्छ, आफ्नो गाउँघरमा गाईभैँसी, भेडाबाख्राको गोठालो गर्दा, खेती किसानी गर्दा सानो मान्छे भइने, इज्जत नहुने भन्ने सोच साउदी पुगेपछि फेरियो, अहिले मलाई त्यस्तो लाग्दैन, जहाँ भए पनि काम सानो ठूलो हुँदैन भन्ने लाग्छ’, उनले भने, ‘विदेश गएर केही सीप भने सिकियो, त्यहाँ सिकेको सीपले अहिले गाससउँमा बाख्रापालनमा सजिलो भएको छ, अरु युवा पनि विदेशमा सीप सिकेर यहाँ आएर केही गरे हुन्थ्यो, अहिले त गाउँ सुनसान बन्न थाल्यो।’

उनले गाउँमै आधुनिक खोर निर्माण गरी व्यावसायिक बाख्रापालन गरेका छन्। स्थानीय र बोयर जातका गरी हाल केसीको खोरमा ४५ व बाख्रा छन् । खोर निर्माण तथा बाख्रा खरिद गर्दा करिब रु १५ लाख लगानी उनले गरेका छन्।

अहिले वार्षिक २० वटासम्म बोका बिक्री गर्दै आएको बताए। एउटा बोकाको रु २० देखि ३० हजारसम्म बिक्री हुने उनको भनाइ छ।

उनले ‘केसी कृषि तथा पशुपालन फार्म’ दर्ता गरेर सञ्चालन गर्दै आएका छन्। खसी बोका उत्पादन गर्नसके बजारको कुनै समस्या भएको उनले बताए। कुनै पनि कामलाई सम्मान गर्नसके त्यसले जीवन जिउने कला सिकाउने केसीको भनाइ छ।

उनले बाख्रापालनसँगै मल प्रयोग गर्ने गरी तरकारी, गोलभेँडा खेती सुरु गरेका छन्। वडा कार्यालय र गाउँपालिका कार्यालयले ५०-५० हजार रुपैयाँ अनुदानसमेत दिएको जनाउँदै उक्त रकमबाट खोर व्यवस्थापन तथा तारबार गरेको केसी बताउँँछन्।

अहिले बाख्राको संख्या बढाउनेतर्फ ध्यान केन्द्रित गरेको केसीको भनाइ छ। करिब दुई सय बाख्रा पाल्ने लक्ष्य रहेको रहेको सुनाउँछन्।
रासस

प्रकाशित: १५ असोज २०८० ७:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + nine =