सिरी ए

रोमालाई राहत, युभेन्टस रोकियो

हिमाल प्रेस १५ असोज २०८० ६:२८
8
SHARES
रोमालाई राहत, युभेन्टस रोकियो

काठमाडौँ- रोमेलु लुकाकुले गोल गरेपछि एएस रोमाले इटालेली सिरी ए मा दोस्रो जित हात पारेको छ। रोमाले आइतबार राति फ्रोसिनोनलाई २-० ले पराजित गरेको हो। उता युभेन्टस भने एटलान्टासँग गोलरहित बराबरी रोकियो।

लुकाकुले २१ औँ मिनेटमा रोमाको गोलको खाता खोलेका थिए। यही सिजन रोमा पुगेका लुकाकुले पाँच खेलमा तेस्रो गोल गरेका हुन्। रोमाको दोस्रो गोल लोरेन्जो पेलेग्रिनीले गरे।

रोमाका दुवै गोल पाउलो डिबालाका कारण सम्भव भयो। जियानलुका मान्सिनीले निकालेको लामो पासलाई डिबालाले चलाखीपूर्वक ‘टच’ लिँदै लुकाकुका लागि असिस्ट गरेका थिए। डिबालाबाट आएको बललाई नियन्त्रण गरेर लुकाकुले फ्रोसिनोनका दुई रक्षकलाई बिट गरे र प्रहार गरे। उनको प्रहार सुन्दर गोलमा परिणत भएको थियो।

रोमाले ८३ औँ मिनेटमा अग्रता दोब्बर बनायो। डिबालाको फ्रिकिकबाट आएको बललाई पेलिग्रिनीले पहिलो टचमै जाली चुमाएका थिए।

‘यो जित हाम्रा लागि महत्त्वपूर्ण छ। गोल गर्नका लागि हामीले निकै मेहनत गरेका छौँ,’ चेल्सीबाट ऋण स्थान्तरणमा रोमा पुगेका लुकाकुले भने, ‘खासमा हामी अप्ठ्यारो परिस्थितिमा छौँ। तर यो सिजन भर्खरै सुरु भएको हो, धेरै खेल खेल्नै बाँकी छ। यो लयलाई निरन्तरता दिन आवश्यक छ।’

जोसे मौउरिन्होको प्रशिक्षणमा खेलिरहेको रोमा अब १२ औँ स्थानमा उक्लिएको छ। रोमाले सात खेलबाट आठ अंक बटुलेको छ। यसपालि कम्तीमा शीर्ष चारका लागि प्रतिस्पर्धा गर्ने भनिएको रोमा संघर्षरत छ। सुरुका तीन खेलमध्ये दुईमा हार व्यहोरेको रोमाले इम्पोलीलाई ७-० ले पराजित गरेको थियो। यो नतिजा रोमाले जारी सिजन हासिल गरेको सबैभन्दा सुखद नतिजा हो।

इम्पोलीमाथि विशाल अन्तरको जित हात पारेपछि रोमा लयमा फर्किएको अनुमान गरिएको थियो। तर लगत्तै टोरिनोसँगको बराबरी र जेनोआसँगको अप्रत्याशित हारले मौउरिन्हो तथा उनको टिम दबाब ह्वात्तै बढेको हो।

अपेक्षाकृत नतिजा नआइरहेपछि मौउरिन्होको भविष्यमाथि नै प्रश्न उठ्न थालेको थियो। यसबारे उनलाई फ्रोसिनोनसँगको खेलपछि पनि सोधियो। ‘मैले जुन, २०३० सम्मका लागि रोमासँग सम्झौता गरेको छु। र यो सम्झौतालाई लिएर म गम्भीर छु। भविष्यमा के हुन्छ, म त्यसबारे टिप्पणी गर्दिनँ, गर्नु पनि हुँदैन,’ आफ्नो करियरमा दोस्रो पटक इटालेली क्लबलाई प्रशिक्षण गराइरहेको मौउरिन्होले भने, ‘क्लब व्यवस्थापन हरेक खेल जितेको हेर्न चाहन्छ। यसकारण गएको खेलको नतिजाले उनीहरुलाई निराश बनायो। म उनीहरुका लागि काम गर्छु। रोमा र रोमा समर्थकका लागि काम गर्छु। जब खेल जितिन्छ, सबैजना जस्तै म पनि खुसी हुन्छु।’

उता युभेन्टसले यो सिजनको दोस्रो बराबरी खेलेको छ। एटलान्टाको मैदानमा युभेन्टसले गोलका अवसर खासै सिर्जना गर्न सकेन। स्ट्राइकर डुसान भ्लाहोभिचबिना मैदानमा उत्रिएकाले युभेन्टस फिक्का देखियो।

ढाड दुखाइका कारण सर्बियाली स्ट्राइकर भ्लाहोभिचले खेल्न नसकेका हुन्। मुख्य फरवार्ड नभएपछि आक्रामक देखिन नसकेको युभेन्टसले विपक्षीबाट भने केही गतिला आक्रमणको सामना गर्नुप¥यो। ती आक्रमण असफल बनाउन गोलरक्षक वोजियाक सेज्नीको भूमिका अहम रह्यो।

बराबरीपछि युभेन्टस चौथो स्थानमा झरेको छ। युभेन्टससँग सात खेलबाट १४ अंक छ, जुन च्याम्पियन नापोलीसँग बराबर हो। नापोली तेस्रो स्थानमा रहँदा शीर्ष दुईमा इन्टर मिलान र एसी मिलान छन्। ती दुवै टिमसँग समान १८ अंक छ। एटलान्टा भने १३ अंकसहित पाँचौँ स्थानमा छ।

प्रकाशित: १५ असोज २०८० ६:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =