घुम्ने ठाउँ

पहिचान हुँदैछन् पर्यटकीय गन्तव्य, छैन पूर्वाधारमा लगानी

विजय नेपाल १५ असोज २०८० ६:५३
226
SHARES
पहिचान हुँदैछन् पर्यटकीय गन्तव्य, छैन पूर्वाधारमा लगानी सिक्लेस।

पोखरा- कास्कीको पर्यटकीय गाउँ सिक्लेसको चिनारी क्रमशः फैलिँदो छ। गुरुङ जातिको बाहुल्य रहेको यो गाउँलाई पर्यटकीय गन्तव्य रूपमा चिनाउन सरकार पनि लागिपरेको छ।

त्यसैले संघीय सरकारले आजभन्दा ५ वर्षअघि देशभरका १०० नयाँ पर्यटकीय गन्तव्यको सूचीमा सिक्लेसलाई पनि सूचीकृत गरेको थियो। नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकारबाट सिफारिस आधारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रवर्द्धन गर्नुपर्ने नयाँ पर्यटकीय गन्तव्यको सूचीमा सिक्लेसलाई पनि समेटेपछि यसको झनै चर्चा भयो। यहाँ कपुचे हिमताल पनि अर्को आकर्षण हो। नेपालको मध्यभाग मानिने कोरी ट्रेक पनि यही पर्छ।

सिक्लेस कास्कीको मादी गाउँपालिका वडा १ मा पर्छ। पोखराबाट साढे २ घण्टा मोटरबाटो (४२ किमि) दूरीमा रहेको सिक्लेसको विशेषता खासमा हिमाल हेर्दै प्राकृतिक छटामा रमाउन पाउनु हो। गुरुङ जातिको संस्कृति नजिकबाट पहिचान गर्न बर्सेनि अनुसन्धानकर्ताहरू पनि आउने गरेका छन्।

कपुचे ताल।

सिक्लेसमा नयाँनयाँ पूर्वाधार पनि थपिँदै गएका छन्। गण्डकी प्रदेश सरकारले सिक्लेसमा बसपार्क निर्माणका लागि ५० लाख रुपैयाँ यस वर्षको बजेटमा विनियोजन गरेको छ। संघ सरकारबाट पनि पोखरादेखि सिक्लेस हुँदै मराङसम्म शान्ति पदमार्ग निर्माणका लागि चालु आवको बजेटमा समेटेको थियो।

मादी गाउँपालिकाले पनि पूर्वाधार निर्माणका लागि करिब २० लाख बजेट छुट्याएको छ। गाउँपालिकाले गुन्द्रुक र लसुन प्रवर्द्धन कार्यक्रम ल्याएको छ। सिक्लेससँगै ताङतिङ घुम्न आउनेहरूलाई सजिलो होस् भनी अनुदानमा घोडा खरिद कार्यक्रम पनि ल्याएको छ। यसबाट स्थानीय युवा लाभान्वित हुने गाउँपालिकाको अपेक्षा छ। सिक्लेसमा होटल रेष्टुरेन्ट चलाइरहेकाहरुलाई करको दायरामा ल्याउन पहल भइरहेको वडाध्यक्ष देवीजंग गुरुङले बताए। त्यसका लागि एक्यापसँगको सहयोगमा दीग्दर्शनको मस्यौदा बन्दै गरेको उनले जनाए। सिक्लेसमा हाल ४५० घरधुरी छन्। यहाँ ३० जति होटल छन्। साथै पाहुनालाई स्वागतको लागि पर्याप्त होमस्टे सुविधा छ।

सम्भावना भएर पनि ओझेलमा परेका देशभरबाट प्रस्तावित ६ सय बढी स्थानमध्येबाट छानिएका १०० भित्रका परेको नयाँ पर्यटकीय गन्तव्यमा कास्कीको अर्को गन्तव्य हो- मौजा होम स्टे। पोखरा महानगरपालिका-२० मा पर्ने मौजा गुरुङ र दलित बस्तीको बसोबास रहेको ठाउँ हो। ५ वर्ष पहिले सुरु भएको मौजा होमस्टेमा एक रातमा ६० जना पाहुनासम्मलाई सेवा दिन सकिने वडाध्यक्ष गंगाबहादुर खत्रीले बताए। यहाँ पुग्न पोखरा सहरदेखि ६ किमि मोटरबाटो तय गर्नुपर्छ। यहाँ हाइअल्टिच्युट खेल मैदान रहेको छ। वडाध्यक्ष खत्रीका अनुसार पोखराबाट नजिक भएकोले कहिले ८-१० जना पाहुना आउँछन् भने सार्वजनिक बिदामा ५० जनासम्म आउने गरेका छन्। पाहुनालाई गाउँमा उत्पादित खानेकुराका परिकार पस्केर गाउँलेले मीठो आतिथ्य दिन्छन्। होम स्टे पुग्न मोटरबाटोको सुविधा छ।

सिक्लेस सडक।

यस्तै, नयाँ पर्यटकीय गन्तव्यको सूचीमा परेको हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङ दरबार र गुफा क्षेत्र हुन्। भौगोलिक विकटताका कारणका पूर्वाधार निर्माण अलि कम छन्। लोमान्थाङ गाउँपालिकाले १३ औं शताब्दीको छेदो गुम्बामा लामाहरूलाई प्रार्थना गर्न सजिलो होस् भनी पूर्वाधार निर्माण गरेको छ।

अघिल्लो आवमा १५ लाख विनियोजन भएकोमा चालु आवको लागि थप २० लाख विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम उपाध्यायले जानकारी दिए। लोमान्थाङ दरबार यहाँको अर्को पर्यटकीय गन्तव्य हो। यसको संरक्षण तथा रेखदेख मुस्ताङी राजाले गर्दै आएका छन्। ‘भौगोलिक विकटता यहाँको प्रमुख समस्या हो। जाडो मौसम कात्तिकदेखि फागुनसम्म चिसोका कारण काम गर्न सकिँदैन,’ प्रमुख प्रशासकीय अधिकृत उपाध्याय भन्छन्, ‘तैपनि यो ठाउँ पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको छ।’

यहाँ बर्सेनि कति घुम्न आउँछन् त? भन्ने जिज्ञासामा उनले बाह्य पर्यटकको रेकर्ड हुने भए पनि आन्तरिक पर्यटकको रेकर्ड नराखिने बताए। उनका अनुसार गत आव २०७९/०८० मा ३ हजार जना बाह्य पर्यटक घुम्न आएको एक्याप (अन्नपूर्ण संरक्षण क्षेत्र) को रेकर्डमा थियो। सिजनको बेला डिजी पर्वको बेलामा एकै दिनमा आन्तरिक र बाह्य गरी चार/पाँच सय जना पर्यटक पनि घुम्न आउने गरेको उनले बताए। लोमान्थाङ समुद्री सतहदेखि ३८४० मिटर उचाइमा पर्छ। साविकका लोमान्थाङ, छोसेर र छोन्हुप गाविस समेटेर २०७३ सालमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले लोमान्थाङ गाउँपालिका घोषणा गरेको थियो।

सिक्लेस तथा लोमान्थाङ दरबार र गुम्बा जस्तै गण्डकी प्रदेशबाट नयाँ पर्यटकीय गन्तव्य सूचीमा कुल १७ गन्तव्य समेटिएका हुन्। संघीय सरकारले झैं गण्डकी प्रदेश सरकार आफैँले पनि २ वर्षअघि प्रदेशका ११० प्रमुख पर्यटकीय गन्तव्यको रूपमा पहिचान गरेको थियो। जसमा प्रदेशका ११ जिल्लामध्ये प्रत्येक जिल्लाबाट १० वटा दरले ११० गन्तव्य पहिचान गरिएका छन्। तीमध्ये पनि प्रत्येक जिल्लाबाट एउटा प्रमुख पर्यटकीय गन्तव्य पहिचानसहित आवश्यक पूर्वाधार निर्माणका लागि अहिलेको सरकारले डीपीआरको प्रस्ताव गरेको गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी विमलप्रसाद गौतमले जानकारी दिए।

ती प्रमुख पर्यटकीय गन्तव्यमध्ये कास्कीको पोखरा महानगरपालिका र माछापुच्छ्रेअन्तर्गत कुभिण्ड–थाप्ले–राम्चे–टाइगर हिल क्षेत्र–हेमजा–मर्दी हिमाल क्षेत्र पर्दछ। यस्तै स्याङ्जाको आँधीखोला गाउँपालिका र पुतलीबजार नगरपालिकाअन्तर्गत डहरे–सिरुबारी–खसौं–सतौंकोट क्षेत्र हो। तनहुँमा व्यास नगरपालिकाअन्तर्गत गुणादीदेखि मानहुँकोटसम्म क्षेत्र, गोरखाको वारपाक सुलीकोट र धार्चे गाउँपालिकाअन्तर्गत वारपाक–लाप्राक क्षेत्र, नवलपुरको देवचुलीअन्तर्गत शनिश्चरे ताल क्षेत्र परेको छ।

लमजुङमा सुन्दरबजार नगरपालिकाको परेवाडाँडादेखि मणिको डाँडा क्षेत्र, मनाङको नासो गाउँपालिकाको डोना ताल क्षेत्र, बागलुङको गल्कोट नगरपालिका र ताराखोला गाउँपालिकाअन्तर्गत पर्ने घुम्टे क्षेत्र, पर्वतको कुश्मा र फलेबास नगरपालिकाअन्तर्गत पार्वती गुफा क्षेत्र, म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको खोप्रालेक क्षेत्र र मुस्ताङको थासाङ गाउँपालिकाको धौलागिरि आइसफल क्षेत्र हुन्। तिनीहरूमा आवश्यक पूर्वाधार निर्माणका लागि कुल १ अर्ब ३४ करोड रुपैयाँ डीपीआर प्रस्ताव गरिएको गौतमले बताए।

गण्डकीमा विद्यमान विभिन्न पर्यटकीय गन्तव्यका कारण पर्यटन क्षेत्रबाट लाभ लिन सकिन्छ। गण्डकी सरकारले पनि चालु आवको नीति तथा कार्यक्रममा पर्यटन, जलविद्युत र कृषिलाई प्राथमिकता दिएको छ। पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले विगतमा कोरोनाले थला परेको पर्यटन चलायमान बनाउन नयाँ पर्यटकीय गन्तव्य पहिचानमात्र नभई आवश्यक पूर्वाधार निर्माणमा पनि जोड दिनुपर्ने बताउँछन्। तर बजेट अभाव टड्कारो चुनौती हो। गण्डकीमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र मातहतका कार्यालयमा चालु आवका लागि ६० करोडमात्र बजेट विनियोजन छ। सीमित बजेटबाट प्रशासनिक खर्च पनि धान्नुपर्ने हुँदा आवश्यक पूर्वाधारका काम सोचेजस्तो हुन सकेको पाइँदैन।

गण्डकीमा कति आए पर्यटक ?

गण्डकी प्रदेशमा गएको आर्थिक वर्ष २०७९/०८० मा झण्डै साढे २ लाख पर्यटक भित्रिएका छन्। तीमध्ये भारतीय पर्यटकको संख्या ८० प्रतिशत छ। गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी विमलप्रसाद गौतमका अनुसार सबैभन्दा धेरै गएको असारमा ३८ हजार २ सय ९२ जना पर्यटक भित्रिए।

गण्डकीमा स्थलमार्ग हुँदै भित्रिने पर्यटकको पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी, सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जा–पाल्पा सीमा राम्दीमा विवरण संकलन गरिएको हो। साथै हवाई मार्ग हुँदै पोखरा विमानस्थलमा ओर्लिने पर्यटकको संख्या समेत जोड्दा गत आवमा २ लाख ४५ हजार ७ सय ४९ पर्यटक भित्रिएका हुन्। तीमध्ये भारतीय पर्यटक १ लाख ९८ हजार १ सय ८२ छन्।

अहिले भने आँबुखैरेनी र राम्दीमा प्रहरीले विवरण संकलन गर्न छाडेको छ। जनशक्ति अभाव भएको भन्दै चालु आव सुरु भएयता संघीय सरकारले पर्यटक विवरण संकलनको जिम्मेवारीबाट प्रहरीलाई हटाएको जानकारी गौतमले दिए। अब भने स्थलमार्ग हुँदै कति पर्यटक भित्रिए भन्ने यकिन तथ्यांक आगामी दिनमा दिन कठिन हुने उनको भनाइ छ। हवाई यातायातबाट आउने पर्यटकको विवरण भने पोखरा विमानस्थलले उपलब्ध गराउँदैआएको छ।

पर्यटन बिगार्ने पूर्वाधार

पर्यटन प्रचारमा चुकेको कोशी

प्रकाशित: १५ असोज २०८० ६:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 1 =