एमाले कोशीमा सहमतिको सम्भावना टर्दै, अध्यक्षका लागि ढकाल र खतिवडा मुख्य प्रतिष्पर्धी

विवेक विवश रेग्मी १३ असोज २०८० १७:५८
22
SHARES
एमाले कोशीमा सहमतिको सम्भावना टर्दै, अध्यक्षका लागि ढकाल र खतिवडा मुख्य प्रतिष्पर्धी

इटहरी- नेकपा एमाले कोशी प्रदेशको प्रथम अधिवेशन आज (शनिबार) पनि जारी छ। विराटनगरमा जारी अधिवेशनको दोस्रो दिन आज मनोनयन दर्ता भइरहेको छ। अहिले निर्वाचन आयोगले ६ बजेसम्मका लागि मनोनयन दर्ताको प्रक्रिया अगाडि बढाएको छ।

शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको अधिवेशनमा यसअघि राजनीतिक, आर्थिक र सांगठनिक प्रतिवेदनमाथि छलफल भइसकेको छ। राजनीतिक र सांगठनिक प्रतिवेदन कोशी प्रदेशका अध्यक्ष तुलसीप्रसाद न्यौपानेले प्रस्तुत गरेका थिए। यस्तै, एमाले आर्थिक विभागका केन्द्रीय प्रमुख पुष्प कँडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

प्रदेशको नेतृत्वका लागि हालसम्म दुईजना मुख्य प्रतिष्पर्धी देखिएका छन्। केन्द्रीय सदस्य घनश्याम खतिवडा र विनोद ढकाल नेतृत्वको प्रतिस्पर्धामा छन्। उनीहरूले मनोनयन दर्ता गराएका छन्।

मनोनयन दर्ता शनिबार (आज) भए पनि निर्वाचन भने आइतबार मात्रै हुने निर्वाचन समितिले बताएको छ। अधिवेशन एक दिन समय थप गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।

निर्वाचन तालिकाअनुसार शनिबार बेलुका ७ः१५ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र आइतबार विहान ७ बजेदेखि ४ बजेसम्म निर्वाचन गर्ने कार्यतालिका छ। यसअघि शुक्रबारै अधिवेशनको बन्द सत्र सञ्चालन गर्न केन्द्रीय सचिव तथा कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठको संयोजकत्वमा ११ सदस्यीय अध्यक्ष मण्डल बनाइएको छ।

अध्यक्ष मण्डलमा शेरधन राई, हिक्मतकुमार कार्की, अग्नि खरेल, शिवमाया तुम्बाहाम्फे, राजेन्द्र गौतम, भगवती चौधरी, जगदिश कुसियैत, राम राना मगर, पर्शुराम मेघी गुरुङ र सुनिता बराल सदस्य छन्।

अधिवेशनमा कोशी प्रदेशका १३७ पालिका, २३ जनवर्गीय संगठन, दलित, मजदुर समेत गरी ९ सय ९७ जना प्रतिनिधि सहभागी रहेको एमाले कोशी प्रदेशका अध्यक्ष न्यौपानेले जानकारी दिए।

उनकाअनुसार अधिवेशनले पाँच जना पदाधिकारीसहित २१५ सदस्यीय कमिटी चयन गर्नेछ। एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु कोशी प्रदेशका अध्यक्ष जीबी गजलले सहमतिको सम्भावना टर्दै गएको बताए। ‘सहमतिको सम्भावना टर्दै गएको छ,’ उनले हिमाल प्रेससँग भने, ‘अब आज मनोनयन दर्ता भइसकेपछि भोलि निर्वाचन हुन्छ।’

मनोनयन दर्ता भइसकेपछि कसले, कुन पदमा उम्मेदवारी दिएको सोअनुसार निर्वाचनको प्रक्रिया अगाडि बढ्ने उनको भनाइ छ।

खासगरी एमाले कोशीमा पार्टी अध्यक्ष ओलीले इसारा दिएकै भरमा सहमति हुने बताइएको थियो। सोहीअनुसार ओलीले घनश्याम खतिवडालाई अध्यक्ष बनाउनुपर्ने संकेत गरेको निकटहरूले बताएका थिए। तर, कोशी प्रदेशमा विनोद ढकाल पनि उत्तिकै लोकप्रिय भएका कारण चुनावै हुनसक्ने बताइन्छ।

ढकाल मोरङमा दुईपटक अध्यक्ष चलाएका व्यक्ति हुन्। विराटनगर स्थायी घर भएका ढकाल पार्टीभित्र विवाद सिर्जना हुँदा मिलाउने भूमिकामा रहँदै आएका छन्। माधवकुमार नेपालका समर्थकहरु धेरै भएको जिल्ला मोरङमा लामो समयदेखि ओली पक्षमा रहेरै काम गर्दै आएको जानकारहरू बताउँछन्।

उत्तरी मोरङ लेटाङ निवासी खतिवडा पनि पुराना एमाले नेता हुन्। एमालेमा लामो समयसम्म माधवकुमार नेपालको लाइनमा रहेका खतिवडा ७२ सालपछि भने ओली लाइनमा आएका थिए।

एक समय उनै ढकालले खतिवडालाई मोरङ अध्यक्षमा पराजित समेत गरेका थिए। अहिले पुनः खतिवडा र ढकालबीच कोशी प्रदेशको अध्यक्ष पदमा प्रतिस्पर्धा हुने सम्भावना बढेर गएको छ।

यसपटक निर्वाचन समितिले मनोनयको प्रक्रिया अगाडि बढाएसँगै निर्वाचन नै हुने संकेत देखिएको छ।

कुइँना ठोकाठोक नगरी निर्वाचन गर्नु : ओली

यसअघि अधिवेशनको उद्घाटन गर्दै शुक्रबार पार्टी अध्यक्ष ओलीले अधिवेशनबाट सकेसम्म सर्वसम्मतिबाट नेतृत्व छान्न सुझाए। नेतृत्वमा सहमति नभए कुइँना ठोकाठोक नगर्न उनको आग्रह थियो। ‘सर्वसम्मति गर्नुभयो भने विरोधीहरूले एमालेले चुनाव भन्ने कुरा कहाँ छ र भन्नेछन्, अनि निर्वाचन गरेर प्रतिस्पर्धा गर्नुभयो भने एमालेमा असन्तुष्टि बढ्यो भन्ने छन्, जसरी पनि विरोधीले विरोध गर्नेछन्,’ उनले भने, ‘सर्वसहमति बनेन र निर्वाचन नै भयो भने पनि कुइँना ठोकाठोक नगर्नुहोला।’

हावापानीले अधिवेशनमा असर

यसअघि शनिबार आएको हावाहुरीसहितको वर्षाले एमालेको अधिवेशनलाई असर गरेको छ। शनिबार प्रतिवेदनमाथि समूहगत छलफल तय भएको थियो। हावाहुरीसहित पानी परेपछि छलफल प्रभावित बनेको हो। हावाहुरीसँगको वर्षाले समूहगत छलफल प्रभावित बनेपछि प्रतिनिधि तितरवितरसमेत भएका थिए।

एमाले कोशीको अधिवेशनमा वर्षा र हावापानीको असर

प्रकाशित: १३ असोज २०८० १७:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − seven =