विस्थापित भए रिक्सा

हिमाल प्रेस ८ असोज २०८० १३:२५
विस्थापित भए रिक्सा विद्युतीय रिक्सा।

बाँके- विद्युतीय रिक्सा सञ्चालनमा आएसँगै नेपालगञ्जमा परम्परागत पाइडल रिक्सा विस्थापित हुँदै गएका छन्। करिब दुई दशकदेखि परम्परागत रिक्सा चलाएर घरपरिवार पाल्दै आएका नेपालगञ्ज उपमहानगरपालिका–१२ का मुस्लिम खाँ अहिले आफ्नो रिक्सामा यात्रु बस्न नचाहने बताउँछन्। ‘सबैजना अटोमै चढ्न मन पराउँछन्, हाम्रो रिक्सामा मान्छे बस्नै मान्दैनन्,’ उनले भने, ‘यो रिक्सा चलाएर गुजारा चलाउन गाह्रो भएको छ, अब अरु कुनै काम गर्ने सोचमा छु।’ रिक्सामा यात्रु नपाएपछि ९० प्रतिशतले पेसा परिवर्तन गरेको खाँको भनाइ छ।

केही वर्षअघिसम्म तीन वटा रिक्सा भाडामा लगाउँदै आएका नेपालगञ्ज–१२ का पुत्तन होलीले आम्दानी नभएपछि अहिले पेसानै परिवर्तन गरेका छन्। रिक्सा भाडामा लगाएर आफूले रिक्सा मर्मतको काम गर्दै आएका उनले अहिले पान पसल चलाइरहेका छन्।

नेपालगञ्जमा काम नपाएपछि अहिले परम्परागत पाइडल रिक्सा चालकले जमुनाह नाकामा समान ओसार्ने काम गर्दै आएका छन्। जमुनाहबाट भारतीय बजार रुपैडिहा जाँदा–आउँदा दुवै देशका सुरक्षाकर्मीले दुःख दिने गरेको नेपालगञ्ज–१३ का रिक्सा चालक गङ्गाराम रैदास बताउँछन्। नेपालगञ्जमा विद्युतीय रिक्सा सञ्चालन नहुँदा दैनिक एक हजारसम्म कमाइ हुने गरेकामा अहिले मुस्किलले दुई सयदेखि तीन सयसम्म हुने गरेको उनको भनाइ छ। सीमावर्ती जमुनाह क्षेत्रमा यात्रु पाइने भए पनि अन्यत्र नपाइने रैदास बताउँछन्।

एकदशक अघिसम्म नेपालगञ्जको भरपर्दो सवारीसाधनको रूपमा रहेको परम्परागत रिक्सा अहिले नेपाल–भारत सीमा नाका जमुनाह क्षेत्रमा सीमित हुन पुगेको छ। सिमावर्ती भारतीय बजार रुपैडिहामा विद्युतीय रिक्सा प्रवेशमा रोक लगाएकाले जमुनाहदेखि रुपैडिहासम्म र रुपैडिहादेखि जमुनाहसम्म यात्रु तथा समान ओसारपसारमा परम्परागत रिक्साको भीडभाड हुने गरेको छ।

-रासस

प्रकाशित: ८ असोज २०८० १३:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =