नेपाल–चीन व्यवसाय परिषद् स्थापना हुने

हिमाल प्रेस ७ असोज २०८० १५:११
8
SHARES
नेपाल–चीन व्यवसाय परिषद् स्थापना हुने

काठमाडौँ– नेपाल उद्योग परिसंघ (सीएनआई) र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी)बीच नेपाल–चीन व्यवसाय परिषद् (नेपाल चाइना बिजनेस काउन्सिल) स्थापना गर्ने समझदारी भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणको अवसरमा सीएनआई र सीसीपीआईटीबीच यस्तो समझदारी भएको हो। समझदारी पत्रमा सीएनआईका अध्यक्ष राजेशकुमार अग्रवाल र सीसीपीआईटीका उपाध्यक्ष चाङ साओगाङले हस्ताक्षर गरेका छन्।

समझदारीसँगै नेपाल–चाइना बिजनेस काउन्सिलमार्फत द्विपक्षीय आर्थिक सहयोग अभिवृद्धि गर्ने, व्यापार तथा लगानीका अवसरको पूर्ण सम्भावनाको सदुपयोग गर्ने र नेपाल चीन दुवै व्यवसायिक समुदायको विकासका लागि सहजीकरणमा सहजता आउने विश्वास गरिएको छ।

काउन्सिलले दुई देशबीचका व्यवसायिक गतिविधिलाई व्यवस्थित गर्न, अनुसन्धान र अध्ययनसम्बन्धी पहल सञ्चालन गर्न, लगानी अभिवृद्धिका लागि नेटवर्किङका अवसर सिर्जना गर्न, व्यवसायिक भ्रमण आदानप्रदान गर्न, सम्मेलन तथा संवादलगायतका गतिविधि गर्नेछ। यी लक्ष्य प्राप्त गर्न परिसंघ र सीसीपीआईटीले काउन्सिलको गठनसहित सहकार्यको रोडम्याप तयार पारेका छन्।

नेपाल चाइना बिजनेस काउन्सिलमा चार सदस्य रहनेछन् र प्रत्येक संस्थाबाट दुई जना प्रतिनिधि हुनेछन्। परिसंघका अध्यक्ष अग्रवालले नेपाल चीनबीच व्यवसायिक सम्बन्ध अभिवृद्धिसँगै चिनियाँ लगानी तथा प्रविधि भित्र्याउन नेपाल–चीन व्यवसायिक परिषद् महत्त्वपूर्ण माध्यम बन्ने बताए।

प्रकाशित: ७ असोज २०८० १५:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =