शिक्षक-मेयर जुहारी : परीक्षामा बालेन

हिमाल प्रेस ३ असोज २०८० २२:३५
546
SHARES
शिक्षक-मेयर जुहारी : परीक्षामा बालेन

काठमाडौँ- ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ लाई लिएर काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहको परीक्षा सुरु भएको छ। विधेयकमा रहेका प्रावधानप्रति विमति जनाउँदै देशभरका शिक्षक र कर्मचारी विद्यालय बन्द गरी काठमाडौँमा भेला भएका छन्। उनीहरूले आन्दोलनको पहिलो दिन बुधबार माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरे।

आन्दोलनमा काठमाडौँ महानगरभित्र सञ्चालित सामुदायिक विद्यालयमा कार्यरत शिक्षक पनि सामेल भए। तर महानगरपालिका शिक्षकलाई आन्दोलनमा जान दिने पक्षमा छैन। यद्यपि विधेयकप्रति महानगरको पनि असहमति छ। प्रमुख बालेनले भनेका छन्, ‘संघीय सरकारले संघीय शिक्षा ऐन तर्जुमा गरी राष्ट्रिय शिक्षा नीति तथा मापदण्ड बनाउनुको साटो विद्यालय शिक्षा विधेयक ल्याउनु संवैधानिक प्रावधानविपरीत रहेकाले किमार्थ स्वीकार गर्न सकिँदैन।’

यति बेला महानगरको चासो विधेयकमा भन्दा बालबालिकाको पठनपाठनमा देखिएको छ। त्यसैले महानगरले विद्यार्थीको पढ्न पाउने अधिकारमाथि खेलवाड नगर्न शिक्षकहरूलाई आग्रह गरेको हो। विद्यालय बन्द गरेर आन्दोलनमा जाने शिक्षकलाई कानुनबमोजिम कारबाही गर्ने चेतावनी महानगरपालिकाको छ।

प्रमुख बालेनले शिक्षकहरूलाई स्कुल बन्द गरेर पठनपाठनमा अवरोध नपुर्‍याउन आग्रह गर्दै भनेका छन्, ‘यस्ता अवरोध पुर्‍याउनेहरूलाई कानुन (संविधान) अनुसार कारबाही हुनेछ।’

बालेनले मात्रै होइन, काठमाडौँ महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाले पनि शिक्षकका पेसागत/वृत्ति विकासका लागि माग राख्ने र पूरा गर्ने विधि एवम् प्रक्रियाको मार्ग प्रशस्त हुँदाहुँदै विद्यालय शान्तिक्षेत्र र प्रचलित कानुनविपरीत हुने भएकाले विद्यालय बन्द नगर्न अनुरोध गरेका छन्।

उनले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘काठमाडौँ महानगरपालिकाभित्रका विद्यालय बन्द गरेमा वा बन्द गर्न बाध्य गरेमा वा पठनपाठन बन्द गरी विद्यार्थीको नियमित अध्ययन गर्न पाउने अधिकारको हनन् गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने र यसको सम्पूर्ण जिम्मेवार सम्बन्धित व्यक्ति नै हुनेछ।’

महानगर प्रमुख बालेन र शिक्षा अधिकारी कोइराला दुवैको चेतावनी र आग्रहलाई शिक्षकहरूले भने लत्याउने भएका छन्। महानगरभित्र सञ्चालित साढे दुई दर्जन विद्यालयका प्रधानाध्यापकले संयुक्त रूपमा आन्दोलनमा सहभागी हुन शिक्षकहरूलाई अपिल गरेका छन्। महानगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयको प्रधानाध्यापकको बैठकले माइतीघर मण्डलामा नियमित हाजिर हुने निर्णय गरेको उनीहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ।

आन्दोलनका क्रममा विद्यार्थीलाई पुग्ने शैक्षिक क्षतिप्रति संवेदनशील हुँदै उक्त क्षतिलाई परिपूर्ति गर्न बिदाका दिनमा पनि पठनपाठन गरिने प्रतिबद्धता विज्ञप्तिमा गरिएको छ। प्रधानाध्यापकहरूले बिदाका दिनमा पढाउँछौँ भने पनि त्यो व्यावहारिक नभएको जानकारहरू बताउँछन्।

प्रधानाध्यापकहरूले मात्रै होइन, नेपाल शिक्षक महासंघ काठमाडौँ नगर समितिले पनि निरन्तर रूपमा आन्दोलमा सहभागिताका लागि महानगरपालिकाभित्रका शिक्षकहरूलाई आह्वान गरेको छ। महानगरपालिकाका प्रवक्ता र शिक्षा विभाग प्रमुखका नाममा जारी सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै समितिले संविधान प्रदत्त ट्रेड युनियन अधिकारको प्रयोग गरी आफ्ना माग र मुद्दा उठाउँदा स्थानीय सरकार र कर्मचारी संयन्त्रका तर्फबाट यस्तो धम्कीपूर्ण वक्तव्य आउनु दुःखद र खेदजनक रहेको जनाएको छ।

समितिको विज्ञप्तिमा उल्लेख छ, ‘माग सम्बोधन नभएसम्म अनिश्चितकालका लागि सम्पूर्ण विद्यालय बन्द गर्ने र स्थानीय सरकारको चेतावनीको सामूहिक सामना गर्ने काठमाडौँ महानगरपालिकाभित्रका प्रधानाध्यापकको बैठकले निर्णय गरेको जानकारी गराउँदै सोहीअनुसार कार्यान्वयन गरी बिहीबार बिहान ११ बजे माइतीघर मण्डलामा उपस्थित हुन सम्पूर्ण शिक्षक कर्मचारीहरूमा हार्दिक आह्वान गर्दछौँ।’

आन्दोलनमा सहभागी भएबापत कोही कसैले कारबाही गरेमा त्यसको प्रतिवाद महासंघको नेतृत्वमा सामूहिक रूपमा गरिने प्रतिबद्धता पनि समितिको छ। समितिले शिक्षकहरूको पेसागत हकहित र नेपालको सार्वजनिक शिक्षा सुधारका लागि गरिएको आन्दोलनमा साथ दिन विद्यार्थी, अभिभावक, शिक्षाविद्, राजनीतिक दललगायत सरोकारवाला सबैलाई अनुरोध गरेको छ।

प्रमुख बालेनका अनुसार महानगर मातहत लगभग २ लाख ५० हजार विद्यार्थी छन्। यस्तै १० हजारभन्दा धेरै शिक्षक कार्यरत छन्। सबै शिक्षक आन्दोलित भएमा ती विद्यार्थीको पठनपाठन प्रभावित हुनेछ।

काठमाडौँ महानगरपालिकाको सार्वजनिक विद्यालय सुधारमा बालेनको कदमलाई लिएर धेरै प्रशंसा गर्दै आएका छन्। महानगरभित्रका शिक्षकलाई मासिक रूपमा तलब खुवाउने व्यवस्था, विद्यार्थीको सिकाइ क्रियाकलाप थप व्यावहारिक बनाउन हरेक शुक्रबार ‘बुक फ्री फाइडे’, नाम चलेका विद्यालयमा कक्षा ११ का विद्यार्थीलाई छात्रवृत्ति काठमाडौँ महानगरपालिकाले सार्वजनिक शिक्षा सुधारका लागि थालनी गरेका राम्रा काम हुन्। यस्तै शिक्षाको नीतिगत व्यवस्थामा पनि उनी सक्रिय छन्।

साथै शिक्षकहरूलाई राजनीतिक गतिविधिमा सामेल हुन नपाउने नीति महानगरको छ। त्यसैले जुनसुकै दल निकट शिक्षक भए पनि बालेनको खुलेर प्रशंसा गर्दै आएका छन्। यी सबै कामको जस बालेनले लिँदै आएका छन्।

जारी शिक्षक आन्दोलनलाई लिएर भने महानगर र शिक्षकबीच जुहारी चलेको छ।  कतिपय सन्दर्भमा लोकप्रियतावाद (पपुलिजम) का लागि मात्रै आफ्ना अभिव्यक्ति सार्वजनिक गर्दै आएका बालेनसामु यति बेला दुई वटा गम्भीर प्रश्न तेर्सिएका छन्। ती हुन् – बिहीबार काठमाडौँ महानगरभित्रका सार्वजनिक विद्यालयमा पठनपाठन हुन्छ? विद्यालय बन्द गरेर आन्दोलनमा जाने प्रधानाध्यापक र शिक्षकहरूमाथि उनले कस्तो कारबाही गर्लान्?

संविधानको संविधानको अनुसूची ८ मा आधारभूत र माध्यमिक शिक्षाको अधिकार स्थानीय तहमा हुने उल्लेख छ। त्यो अधिकार कार्यान्वयन प्रमुख बालेनका लागि परीक्षाको विषय बनेको छ। यद्यपि संविधानको यो प्रावधान कार्यान्वयन गर्नु सबै पालिकाको दायित्व हो।

काठमाडौँ महानगरको निर्णय अवज्ञा गर्दै शिक्षकहरूले गरे आन्दोलनमै जाने निर्णय

बालेनले भने- शिक्षा विधेयक अस्वीकार्य, स्कुल बन्द गरे कानुनबमोजिम कारबाही

विद्यालय बन्द गरेर आन्दोलनमा जाने शिक्षकलाई कारबाही गर्ने काठमाडौँ महानगरको चेतावनी

प्रकाशित: ३ असोज २०८० २२:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − seven =