मधेशमा फैलिन प्रभु साहका अनेक जुक्ति

हिमाल प्रेस १ असोज २०८० १५:५१
6
SHARES
मधेशमा फैलिन प्रभु साहका अनेक जुक्ति

काठमाडौँ- लामो समय नेकपा माओवादी केन्द्रमा रहेर राजनीति गरेका प्रभु साह अहिले भिन्न परिवेशबाट अघि बढिरहेका छन्। माओवादी छाडेर एमाले बनेका साह दुवै दलमा छैनन्। आफ्नै नेतृत्वमा आम जनता पार्टी (आजपा) खोलेका उनी मधेशमा उदाउन र मधेशी राजनीतिमा भिज्न अनेक जुक्ति गरिरहेका छन्। त्यही रणनीतिको एउटा पक्ष हो साहकै अगुवाइमा  गौर हत्याकाण्डका दोषीमाथि कारबाहीको माग गर्दै आन्दोलन हुनु।

गौर काण्डमाथि छानबिन गर्न खबरदारी गरिएको आन्दोलन नथामिने देखेपछि गृह मन्त्रालयले साउन अन्तिममा हत्याकाण्डपीडितसँग ५ बुँदे सहमति गर्‍यो। सरकार र पीडितबीचको सहमतिले जनता समाजवादी पार्टी ‍(जसपा) मा भने तरंग उत्पन्न भयो। किनभने उक्त काण्डमा जसपाका अध्यक्ष उपेन्द्र यादव जोडिएका छन्। यादवको दल यति बेला सत्तामा छ। केहीले त यादवको दल अब सत्ताबाट बाहिरिन सक्ने आकलन पनि गरे। तर जसपा सत्तामै छ।

साह अहिले मधेशमा संगठन विस्तारमा सक्रिय छन्। यस क्रममा उनले अर्को उपाय निकालेका छन्। त्यो हो संविधानको विरोध। साहले  संविधानको खुलेर विरोध गरेको यो पहिलोपटक हो।

स‌ंविधान जारी हुँदा साह माओवादीमै थिए। त्यही संविधानमा रहेर साह सांसद र मन्त्री बनेका छन्। तर भिन्न राजनीति दलमा आबद्ध हुनेबित्तिकै साह पनि संविधानको विरुद्धमा लागेका छन्।

अन्य मधेशी दलहरू वर्तमान संविधान अपूर्ण रहेको संशोधन गर्नुपर्ने पक्षमा छन्। संशोधनमार्फत संविधानलाई पूर्णता दिनुपर्ने उनीहरूको माग छ। अनौठोचाहिँ के छ भने  संविधान संशोधनको एजेन्डा अघि सारे पनि मधेशका दलहरू त्यही संविधानमा टेकेर सत्ता राजनीतिको जोडघटाउमा सक्रिय छन्।

साह संविधान पूर्ण नरहेको बताउँछन्। संविधान संशोधनमार्फत मधेशी नागरिकको माग पूरा गर्नुपर्ने उनको भनाइ छ। संविधानको विरोध गर्न उनले विद्यार्थी भ्रातृ संगठन आम विद्यार्थी मोर्चा  अघि सारेका छन्।  मोर्चाले संविधान दिवसको दिन असोज ३ गते कालो दिवस मनाउने भएको छ।

मोर्चाका अध्यक्ष विवेककुमार साह संविधानविरुद्ध संघर्षमा उत्रिने चेतावनीस्वरूप विरोध कार्यक्रम गरिएको बताउँछन्। मोर्चाले असोज १ गते संविधानबारे सार्वजनिक अपिल गर्ने, असोज २ गते संविधानसभा सदस्यहरूलाई तक्मा फिर्ता गर्न अनुरोध गर्ने,  ३ गते प्रमुख सहरमा संविधानको अन्त्येष्टि यात्रा निकाल्ने र असोज ४ गते संविधानको अवसानमा शोक मनाउने निर्णय गरेको अध्यक्ष साहले जानकारी दिए।

‘नेपालको संविधान २०७२ घोषणा सँगै जनताले सशस्त्र द्वन्द्वको समाप्ति, संक्रमणकालको अन्त्य र देशमा स्थिरता एवं तीव्र विकासको अपेक्षा गरेका थिए। विडम्बना! देश प्रगतिको सट्टा अधोगतितिर धकेलिएको छ’, मोर्चाका अध्यक्ष साहले जारी गरेको विज्ञप्तिमा छ।

साह मंसिरमा भएको आमनिर्वाचनमा रौतहट २ बाट  स्वतन्त्र रूपमा चुनाव जितेका थिए। उनलाई सत्ता गठबन्धनको साथ थियो। माओवादी केन्द्र भित्रिने सामान्य छलफलपछि चुनाव लडे पनि उनी माओवादी भएनन्। चुनावपछि उनी मन्त्री बन्ने चर्चा थियो।

माओवादी केन्द्र निकट स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनता समाजवादी पार्टी (जसपा) लाई सत्तामा ल्याएपछि साह बिच्किएका हुन्।

‘यादव जेल जाने’ अभिव्यक्ति

मधेशमा प्रभु साह र उपेन्द्र यादवबीच शत्रुता नै छ। १८ वर्षअघि रौतहटको गौरमा हत्याकाण्ड चल्दा यादव तत्कालीन मधेशी जनअधिकार फोरमको नेतृत्वमा थिए भने साह माओवादी केन्द्रका रौतहट कमान्डर। एकै दिन मञ्चमा दुवै दलले कार्यक्रम गर्ने हुँदा विवाद भएको थियो।

विवादले उग्र रूप लिँदा माओवादी केन्द्रका २८ कार्यकर्ता मारिएका थिए। यो प्रकरणमा यादव जोडिएको साहको आरोप छ।

साह घटनाबारे निष्पक्ष छानबिन भए यादव जेल जाने बताउँछन्।

यादवलाई राजनीतिबाट निस्तेज पार्न सके मधेशमा यादवको ठाउँ लिन सकिने बुझाइमा रहेको उनी निकट नेताहरूको भनाइ छ। मधेशको मसिहा बन्ने सपना देखेका साह यादवसँगै अन्य नेताको समेत राजनीति निस्तेज पार्ने पक्षमा छन्।

प्रकाशित: १ असोज २०८० १५:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =