परिवर्तनमा ज्यापु समुदायको योगदान अमूल्य : उपप्रधानमन्त्री श्रेष्ठ

हिमाल प्रेस २३ भदौ २०८० १७:२७
8
SHARES
परिवर्तनमा ज्यापु समुदायको योगदान अमूल्य : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ- उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको राजनीतिक परिवर्तनमा ज्यापु समुदायको अमूल्य योगदान रहेको बताएका छन्।

‘ज्यापु जातिको उत्थान, नेपाल राष्ट्रको निर्माण’ भन्ने मूल नारासहित काठमाडौँको टुँडिखेलमा आयोजित ज्यापु महागुठीको एकीकृत राष्ट्रिय महाधिवेशनमा शुभकामना दिँदै उनले ज्यापु समुदायको योगदानबारे चर्चा गरेका हुन्।

‘संघीयता र समावेशीसहित मुलुक यहाँ आइपुग्नुमा ज्यापु समुदायको ठूलो योगदान छ,’ उनले भने, ‘२०४६ सालको आन्दोलन होस् कि ०६२/६३ को आन्दोलन, ज्यापु समुदायले आफूलाई अग्रणी र निर्णायक सावित गरेको छ।’

काठमाडौँको आन्दोलनमा आजका ज्यापु महागुठीका अध्यक्ष राजभाइ जकमीको घरमा बसेर कार्यक्रमहरू बनाईएको समेत उनले स्मरण गरे।

तर ज्यापु र हरेक समुदायले चाहेजस्तै व्यवस्थासँगै जनताको जीवनस्तर परिवर्तनको चुनौती बाँकी रहेकोले वर्तमान सरकार समृद्धिको मूल प्राथमिकतासहित अगाडि बढेको उनले बताए। ‘समृद्धिका लागि सुशासन, सुशासनका लागि भ्रष्टाचार र अपराधमुक्त समाज, सरकार त्यही अभियानमा छ,’ उनले भने।

भ्रष्टाचारीमाथिको कारबाही प्रक्रियाबाट पछाडि नहट्ने र दलाल पुँजीका सट्टा राष्ट्रिय पुँजीको प्रवर्द्धन गरिने उनको भनाइ थियो। ‘सामाजिक विविधता भित्रको एकतामा बिग्रह फैलाउने काम त भएको छैन?’ उनले प्रश्न गर्दै भने।

यसका निम्ति सचेत हुँदै अगाडि बढ्नुपर्ने र ज्यापुजस्तो किसान, श्रमिक र लोकसंस्कृतिको संरक्षक समुदायले राष्ट्रको विकासमा अझै प्रभावकारी भुमिका खेल्नुपर्ने उनले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 8 =