कांग्रेसले भन्यो : लाखेजात्रामा रक्सी खाएका प्रहरीले नेता कार्यकर्ता कुटे

हिमाल प्रेस २२ भदौ २०८० १९:३५
552
SHARES
कांग्रेसले भन्यो : लाखेजात्रामा रक्सी खाएका प्रहरीले नेता कार्यकर्ता कुटे

काठमाडौँ- नेपाली कांग्रेसले आफ्ना नेता कार्यकर्तालाई मादक पदार्थ सेवन गरेका प्रहरीले नै कुटपिट गरेको भन्दै आपत्ति जनाएको छ। ताप्लेजुङमा लाखेजात्रा समापनको दिन (भदौ २१)गते राति कोशी प्रदेशसभा सदस्य खगेनसिंह हाङ्गामको निवास नजिकै सञ्चालन भएको मेलामा प्रहरीले नेता कार्यकर्तामाथि कुटपिट गरेको कांग्रेसको आरोप छ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरी उक्त घटनाको निन्दा र भर्त्सना गरेका हुन्।

‘…मादक पदार्थ सेवन गरेका प्रहरीहरूले नेपाली कांग्रेसका नेता तथा सर्वसाधारण व्यक्तिलाई समेत कुटपिट र हातपात गर्नुका साथै दुर्व्यवहार गरेको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ । यस घटनाको नेपाली कांग्रेस घोर निन्दा र भर्त्सना गर्दछ’ पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

कांग्रेसले मेलामा सहभागी भएर फर्किएका पेमा लामालाई पनि प्रहरीले मुक्का प्रहार गरेको जनाएको छ।
प्रहरीको कुटाइबाट लामाको आँखामा गम्भीर चोट लागेको छ र चस्मा फुटेको बताइएको छ। उक्त घटनाबारे बुझ्न पुगेका प्रदेशसभा सदस्य हाङ्गाममाथि पनि बर्दीमै रहेका र सादा पोशाकमा रहेका प्रहरीले गालीगलौज गर्दै दुर्व्यवहार गर्दै घरमा ढुंगामुडा गरेको आरोप पनि कांग्रेसले लगाएको छ।

कांग्रेसले उक्त घटनाको छानबिन गरी दोषी प्रहरीलाई निलम्बन गर्नुका साथै कडा भन्दा कडा कारबाही गर्न सरकारसँग माग गरेको छ। उक्त घटनाको विरोधमा तरुण दलले आज ताप्लेजुङमा विरोध प्रदर्शन पनि गरेको थियो। हुलदंगा नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड हवाइ फायर पनि गरेको थियो।

प्रकाशित: २२ भदौ २०८० १९:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 3 =