रौतहटमा तीन हजार हेक्टर सरकारी जग्गा अतिक्रमण

हिमाल प्रेस २१ भदौ २०८० १६:०८
14
SHARES
रौतहटमा तीन हजार हेक्टर सरकारी जग्गा अतिक्रमण फाइल तस्बिर।

रौतहट- रौतहटमा करिब तीन हजार हेक्टरभन्दा बढी क्षेत्रफल सरकारी जग्गा अतिक्रमणमा परेको पाइएको छ। चुरे, भावर आसपासका क्षेत्रमा वन मासिनुका साथै बालुवा, ढुंगा, गिटी उत्खनन गर्ने काम तीव्ररूपमा बढेको छ।

सम्बन्धित निकाय मौन हुँदा राजमार्ग क्षेत्रका आसपासमा भएका अतिक्रमित वनजंगलको जग्गामा पक्की घर निर्माण गर्ने होडबाजी नै चलेको छ। वन अतिक्रमण तीव्ररूपमा बढे पनि वन प्रशासनले त्यसतर्फ ध्यान दिएको छैन। सबैभन्दा बढी वृन्दावन नगरपालिका–१ बलेरीको जंगल अतिक्रण भएको छ।

‘पहिला सुकुम्बासीको नाममा जंगल फडानी गरी भोटे टोल स्थापना भएको थियो, अहिले यो टोल आसपासका ठाउँमा वन कार्यालय मलेरीका कर्मचारीको मिलेमतोमा वन मासेर घर, टहरा बनाउनेक्रम बढ्दै गएको छ,’ जंगलसहिया साझेदारीका पूर्वउपाध्यक्ष मितेश नन्दन मिश्राले भने।

केही समय पहिले डिभिजन वन कार्यालयले नर्सरी बनाएर वृक्षरोपण गरेको स्थानमा घर बनाउने कार्य देखिएको डिभिजन वन कार्यालयका प्रमुख सुनिलकुमार कर्णले बताए। जिल्लाको बलेरीमा मात्र नभएर अन्य स्थानमा समेत वनको जग्गामा घरटहरा बनाउनेक्रम देखिएको छ।

चन्द्रपुर नगरपालिकाको बेतौनाको जंगलमा राजनीतिक दलको संरक्षणमा घरटहरा बनाउनेक्रम बढ्दै गएको छ। राजनीतिक दलको संरक्षणका कारण वन जंगलको अतिक्रमित जग्गामा निर्माण गरिएको खेतीयोग्य जग्गा, घर, टहरा भने खाली गराउन समस्या भएको वन कार्यालयले जनाएको छ।

यस वर्ष दर्जनभन्दा बढी नयाँ घर निर्माण भएका छन्। अनधिकृतरूपमा बसेको मानव बस्तीमा खानेपानी, बिजुली, विद्यालय लगायतको व्यवस्थापन गरिएको हुँदा कसरी अतिक्रमित बस्तीलाई खाली गराउने भन्ने समस्या रहेको प्रमुख कर्णले बताए।

राष्ट्रिय वनअन्तर्गत पर्ने चन्द्रपुर नगरपालिका–३ अरुणबस्ती, भोलेन्टार, गैँडाटारको महादेव डाँडा, तोरीवारी, इपलीबस्ती, फूलबारी, हिलेखोला पौराई, गुजरा, वृन्दनवन, फतुवा विजयपुरलगायत वनजंगल क्षेत्रमा रुख व्यापकरूपमा कटानी गरेर अतिक्रमण गर्ने कार्य तीव्ररूपमा भइरहेको छ।

वन क्षेत्रमा चरिचरनका साथै रुख काट्ने प्रवृत्ति पछिल्लो समय बढेर गएको छ। राजमार्ग उत्तर तथा चुरेसँगै जोडिएका वन क्षेत्रमा वन कर्मचारीको उपस्थिति शून्य रहँदा राष्ट्रिय वन सम्पदा अतिक्रमणको चपेटामा पर्दै आएको हो। रासस

प्रकाशित: २१ भदौ २०८० १६:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + two =