यही भाषणपछि कांग्रेस सहमहामन्त्रीमाथि भएको थियो खुकुरी प्रहार

हिमाल प्रेस २० भदौ २०८० १६:३६
82
SHARES
यही भाषणपछि कांग्रेस सहमहामन्त्रीमाथि भएको थियो खुकुरी प्रहार ट्रमा सेन्टरमा यादव।

काठमाडौँ- नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि नुवाकोटका श्यामबाबु सापकोटाले खुकुरी प्रहार गरेका छन्। रिपोर्टस् क्लबमा भएको कार्यक्रममा आफ्नो भनाइ राखेर फर्किने क्रममा सापकोटाले यादवमाथि खुकुरी प्रहार गरेका थिए। यादवले रिपोर्टस् क्लबमा भाषण गर्दा सापकोटा पनि त्यहीँ बसेर सुनिरहेका थिए। त्यहाँ यादवले खास गरी नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्पक्षका लागि थुनामा रहेका कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणको बचाउ गरेका थिए। यादवले खाण निर्दोष रहेको बताए।

‘खासमा निर्दोष बालकृष्ण खाणलाई फसाइएको छ। दोष केही पनि छैन्। जसको प्रमाण छ, बादल र उहाँको श्रीमतीको नाम आएको छ,’ उनले भने, ‘सुन काण्डमा पनि नेताका छोरा पक्राउ परेका छन्। भ्रष्टाचारको सवालमा सरकारले गर्ने कारबाहीमा समानता भैरहेको छैन्।’

उनले खाण निर्दोष हुनुको कारण उनीमाथि कुनै जाहेरी नपरेको बताए। उनले भने,‘बालकृष्ण खाणमाथि कुनै जाहेरी छैन्। कसैले पनि पैसा लिएको भनेर भनेको छैन्। प्रहरी र अदालतको बयानमा कसैले पनि उहाँले पैसा मागेको भनेर भनेको छैन् । खाँणजीको खातामा कतै पनि अस्वभाविक रकम देखिएको छैन्।’

यादवले बालकृष्ण खाँणको पालामा एक जना पनि नक्कली वा भुटानी शरणार्थी नेपालबाट अमेरिका नगएको जिकिर पनि गरे।

‘भुटानी शरणार्थीको सेटेलमेन्टको कुरा बरु बादल गृहमन्त्री भएकै बेलामा आएको हो। क्याबिनेटभित्रै एउटा समितिमा बादल, युवराज खतिवडा अर्थमन्त्री र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली हुनुहुन्थ्यो। २०१६ पछि जान नमानेका भुटानी शरणार्थीहरूको लागि के गर्ने भनेर बरु हस्ताक्षर गरेका थिए,’ उनले भने, ‘ती अहिले पनि बाहिर छन्। जसको सिग्नेचर छैन्, उ जेलभित्र छ। आज न भोलि अदालतले बालकृष्ण खाणलाई न्याय दिन्छ। सबैले भनेका छन् कि उहाँ निर्दोष हो। उहाँ निर्दोष सावित भएर बाहिर आउने मेरो विश्वास छ।’ उनले गृहमन्त्रीको कार्यशैलीमा पनि प्रश्न उठाए। यादवको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ। उनको टाउकोको पछाडिको भागमा चोट लागेको छ।

यादव आफ्नो भनाइ राखेर फर्किँदा सापकोटा पछिपछि आएका थिए। सोहीक्रममा अमेरिकी सहायता परियोजना एमसीसीको समर्थन गरेको भन्दै उनले खुकुरी हानेको बताएका छन्। सार्वजनिक भिडियोमा पनि सापकोटाले देशद्रोही कसैलाई नछोड्ने बताउँदै अझै आक्रमण गर्ने धम्की दिइरहेका छन्।

कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार

 

प्रकाशित: २० भदौ २०८० १६:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 6 =