लुम्बिनी– विद्यार्थी संख्याका हिसाबले बुटवल बहुमुखी क्याम्पसले कुनै बेला साविक पश्चिमाञ्चल विकास क्षेत्रकै ठूलो क्याम्पसका रूपमा परिचय बनाएको थियो। पाँच वर्षयता भने विद्यार्थी संख्या क्रमशः ओरालो लाग्न थालेको छ। कक्षा १२ उत्तीर्ण गर्नासाथ अधिकांश विद्यार्थी अध्ययन र केही रोजगारीका लागि विदेश पलायन हुन थालेपछि स्नातक तहमा विद्यार्थी भर्नादर घट्दै गएका हुन्।
२०७८ सालमा स्नातक प्रथम वर्षमा ३ हजार ५ सय विद्यार्थी भर्ना भएका थिए। २०७९ मा एक हजार विद्यार्थी कम भर्ना भएको क्याम्पसको अभिलेख छ। ‘दुई वर्षअघि स्नातक प्रथम वर्षमा ३५ सय विद्यार्थी भर्ना भए। पोहोर २५ सयमा झर्यो’, बुटवल बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. खुमानन्द न्यौपानेले भने, ‘विद्यार्थी संख्या क्रमशः घटिरहेको छ। यो वर्ष अझै कम हुनसक्छ।’
उनका अनुसार विद्यार्थीको भर्नादरमा कमी छ नै भर्ना भएर क्याम्पस छड्ने (ड्रप आउट) को संख्या पनि बढ्दै गएको छ। बुटवल बहुमुखीमा स्नातक प्रथम वर्षमा भर्ना भएकामध्ये ३० प्रतिशतले बीचमै पढाइ छाड्ने गरेको क्याम्पस प्रमुख न्यौपानेले बताए। एक दशकअघिसम्म १५ हजारसम्म अध्ययन गर्ने बुटवल बहुमुखीमा अहिले घटेर १० हजार ५ सयमा आइपुगेको छ।
बीबीए, बीएससी सीएसआईटी, एमबीए जस्ता विषय थप भएको र स्नातकोत्तर तहको पढाइले विद्यार्थी संख्याको सन्तुलन कायम भएको हो। यस्तै विज्ञान विषयसमेत पढाइ हुने भएकाले विद्यार्थी संख्यामा गिरावटको सन्तुलन देखिएको न्यौपाने बताउँछन्।
स्नातकको विद्यार्थी भर्नाले भने क्याम्पसलाई पिरोलेको छ। ‘शिक्षालाई रोजगारीसँग जोड्न सकिएन, स्नातकको पढाइ सकिनै ७ वर्षसम्म लाग्छ’, क्याम्पस प्रमुख न्यौपानेले भने, ‘आम्दानीसँग जोड्न नसकेपछि विद्यार्थी पलायन भएका हुन्।’ मानविकी, शिक्षा, भूगोल, इतिहासजस्ता विषयमा विद्यार्थीको संख्या अप्रत्यासित रूपमा घटेको छ।
बुटवल बहुमुखीका इतिहास र संस्कृति पढाउने प्राध्यापक हाजिरीमात्रै गरेर फर्कन्छन्। तीन/चार जना विद्यार्थी मात्रै भर्ना हुन्छन् त्यो पनि कलेज पढ्न नआएपछि प्राध्यापकलाई हाजिरी गर्न मात्रै क्याम्पस धाउनुपरेको छ। यहाँ संस्कृति विषयमा गत वर्ष एकजना जापानी विद्यार्थी भर्ना भएर क्याम्पसको लाज छोपिएको छ।
संस्कृति विषयका प्राध्यापक राजेन्द्र ढुंगानाले १० वर्षअघि ८ वटा सेक्सनमा इतिहास र संस्कृति विषय अध्यापन गराएको स्मरण गर्दै अहिले विद्यार्थी भर्ना हुन छाडेको बताए। ‘विद्यार्थी शून्य भएको छैन। तर विद्यार्थीका लागि अवसर धेरै भएकाले स्नातकमा भर्ना हुने क्रम घटेको हो’, उनले भने। गत वर्ष एक जापानी र अर्का एकजना विद्यार्थी गरी दुई जना संस्कृतिमा भर्ना भएका छन्। यस वर्ष विद्यार्थी भर्ना हुने सम्भावना निकै न्यून छ।
दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसमा पनि स्नातकमा विद्यार्थी संख्या घट्दै गएको छ। मानविकी, शिक्षाशास्त्रतर्फ विद्यार्थीको आकर्षण क्रमशः ओरालो लागेको क्याम्पस प्रमुख भरतराज न्यौपानेले बताए। उनी पनि विज्ञान, बीएससी सीसएसआईटी, बीबीएले विद्यार्थी संख्या सन्तुलनमा राखेको बताउँछन्। ‘कक्षा १२ पछि विद्यार्थीहरु नेपालमा बस्दैनन्। त्यसैको असरले क्याम्पसमा भर्ना कम हुँदै गएको छ’, क्याम्पस प्रमुख न्यौपानेले भने, ‘हाम्रो शिक्षा पद्धतिले युवालाई रोजगारीसँग जोड्न सकेन।’
उनले शिक्षा पद्धतिमा सुधार नगरे त्रिविका क्याम्पसमा विद्यार्थीको संख्या क्रमशः घट्दै जाने बताए। ‘भर्ना घटिरहेको छ, त्यसमाथि बीचमै पढाइ छाड्ने बढेका छन्’, उनले भने, ‘हाम्रो क्याम्पसमा भर्ना भएकामध्ये ३० प्रतिशत विद्यार्थीले बीचमै छाड्छन्।’ महेन्द्र बहुमुखीमा अहिले ६ हजार विद्यार्थी छन्।
विद्यार्थीहरू कक्षा १२ अध्ययनपछि रोजगारी र आम्दानीसँग जोडिन चाहन्छन्। तर नेपालमा स्नातक सकाउँदा पनि रोजगारी नपाएपछि युवा विदेशतर्फ पलायन हुन बाध्य भएको प्राध्यापकहरू बताउँछन्।
‘विद्यार्थीलाई नेपालमा पढेर भविष्य देखाउन सकिएन’, कपिलवस्तु बहुमुखी क्याम्पसका प्रमुख डा. विनय पाण्डेयले भने, ‘स्नातकमा भर्ना हुनेबित्तिकै विदेश जाने वा बीचमै पढाइ छाड्छन्।’ कतिपयले विदेशमा आवेदनका लागि मात्रै क्याम्पसमा भर्ना हुने गरेको सुनाए। दुई वर्षअघि १५ सय विद्यार्थी रहेको यहाँ अहिले ९ सय मात्रै विद्यार्थी छन्। स्नातकको चारबर्से अवधिले पनि विद्यार्थी भर्ना कम भएको उनी बताउँछन्।
पाल्पा तानसेनस्थित २०१६ सालमा स्थापना भएको त्रिभुवन बहुमुखी क्याम्पसमा पनि विद्यार्थी संख्या ओरालो लागेको छ। स्नातक र स्नातकोत्तरमा मानविकीमा विद्यार्थीको संख्या अत्यन्तै न्यून छ। व्यवस्थापन, विज्ञान र शिक्षाशास्त्रमा पनि विद्यार्थी घट्दै गएको क्याम्पस प्रमुख टंकप्रसाद भट्टराईले बताए। ‘प्रत्येक वर्ष विद्यार्थी संख्या घट्दै गएको छ। यो क्रम अझ बढ्दै छ’, उनले भने।
उनी विद्यार्थी संख्या घट्नुमा राज्यको शिक्षा प्रणालीलाई दोष दिन्छन्। ‘पढेपछि रोजगारीको ग्यारेन्टी छैन, भविष्य नभएपछि विद्यार्थीले कसरी एउटै तहमा ४ वर्षसम्म पढ्छन्?’, भट्टराईले प्रश्न गरे। यहाँ २ वर्षअघि स्नातकमा ७ सय विद्यार्थी भर्ना भएकोमा गत वर्ष ६ सय मात्रै भर्ना भएका थिए। यस वर्ष संख्या अझै घट्नेछ। क्याम्पसमा स्नातक र स्नातकोत्तर गरी २ हजार ३ सय विद्यार्थी अध्ययनरत छन्।
भैरहवा बहुमुखी क्याम्पसमा भने केही नयाँ कार्यक्रम थप भएपछि विद्यार्थी संख्या वृद्धि भएको छ। क्याम्पसका सहायक क्याम्पस प्रमुख इन्द्र विकेले बीबीए, बीएससी सीएसआईटी, एमबीए जस्ता कार्यक्रम थप भएकाले विद्यार्थी संख्या सन्तोषजनक अवस्थामा रहेको बताए। उनका अनुसार यहाँ ५५ सय विद्यार्थी छन्।
लुम्बिनी प्रदेशका ठूला क्याम्पसमा केही नयाँ र प्राविधिक विषयमा मात्रै विद्यार्थीको आकर्षण छ। अन्यथा सबैजसो आंगिक क्याम्पसलाई साख बचाउनै मुस्किल पर्न थालेको छ।
विद्यार्थी र अभिभावकले अध्ययनपछि रोजगारी र भविष्य सुनिश्चित गर्न चाहने भएकाले अध्ययनको बहानामा बिदेसिने क्रम बढेको लुम्बिनी वाणिज्य क्याम्पस बुटवलका प्रमुख डा. ताराप्रसाद उपाध्यायले बताए। उनका अनुसार क्याम्पसमा स्नातक वार्षिक कार्यक्रममा भर्ना बन्द गरिएको छ। यस क्रममा १२ सय विद्यार्थी घटेका छन्। लुम्बिनी वाणिज्यमा ३५ सय विद्यार्थी अध्ययनरत छन्।
वार्षिक कोर्स हुँदा क्याम्पसमा ५ हजारसम्म विद्यार्थी भर्ना हुन्थे। लुम्बिनी वाणिज्यले ३ वर्षयता विशिष्टीकृत कोर्स मात्रै चलाएको छ। कलेजबाट वर्षमा करिब १५ प्रतिशत विद्यार्थीले विदेशका लागि ‘नो अब्जेसन लेटर’ का लागि सिफारिस लैजाने गरेको जानकारी उपाध्यायले दिए।
ठूला र पुराना क्याम्पसमा विद्यार्थीको संख्या क्रमशः ओरालो लाग्नु भनेको देशका लागि राम्रो संकेत नदेखिएको शिक्षा पत्रकार समूहका केन्द्रीय अध्यक्ष कृष्ण मल्ल बताउँछन्। ‘पहिले लाहुरे बन्न नेपाली बिदेसिए, अहिले अध्ययनका नाममा बाहिरिएका छन्’, मल्लले भने, ‘यसको मुख्य कारण रोजगारी र आर्थिक अभाव हो।’
स्नातक तह चारबर्से बनाइएको छ। त्यसको नतिजा आउँदासम्म ६/७ वर्ष लाग्छ। मल्ल भन्छन्, ‘कक्षा १२ सक्दा १८ वर्षमा रहेको युवा स्नातक सक्दा २५ वर्षमा पुगेको हुन्छ। त्यति गरेपछि पनि तत्काल जागिर पाउने सम्भावना छैन। अनि ऊ किन नेपालमा बस्छ?’
प्राविधिक विषयको आकर्षणले पनि विद्यार्थीको विदेश मोह बढेको उनको बुझाइ छ। ‘पढ्दै काम गर्ने अवसर दिनुपर्थ्यो, हाम्रोमा त्यस्तो भएन, बरु राजनीतिक अस्थिरताले नतिजा पनि समयमा नआउने, केही उद्यम गरे पनि डुब्ने अवस्था भयो’, मल्लले भने, ‘अब यी विषयमा सुधार नगरे स्नातकमाा अझै विद्यार्थी घट्छन्।’
विश्वविद्यालय अनुदान आयोगको एक तथ्यांकअनुसार लुम्बिनी प्रदेशमा आंगिक क्याम्पस १९, सामुदायिक ८८ र निजी ८१ गरी १८८ क्याम्पस छन्। यी क्याम्पसमा २३ हजार ८०८ पुरुष (छात्र) र ३७ हजार ५०१ महिला (छात्रा) गरी ६१ हजार ३०९ जना विद्यार्थी छन्। सहरका कलेजमा विद्यार्थी संख्या पातलिँदै गए पनि जेनतेन चलेका छन्। तर गाउँका क्याम्पसहरू विद्यार्थी अभावमा बन्द हुन थालेका छन्।