स्नातक शिक्षा

दोस्रो वर्षदेखि क्याम्पसै आउँदैनन् विद्यार्थी

विवेक विवश रेग्मी १८ भदौ २०८० ७:२३
478
SHARES
दोस्रो वर्षदेखि क्याम्पसै आउँदैनन् विद्यार्थी

इटहरी– केही साताअघि कक्षा १२ को नतिजा सार्वजनिक भएसँगै अहिले निजी तथा सामुदायिक क्याम्पसहरूले स्नातक तहमा भर्ना आह्वान गरिरहेका छन्। स्नातकमा विभिन्न परम्परागत विषयसँगै आधुनिक र प्राविधिक विषय अध्यापन हुँदै आएको छ। जसमध्ये सबैभन्दा बढी व्यवस्थापनमा विद्यार्थीको आकर्षण देख्छि। त्यसमा पनि बीबीएसमा भर्ना हुनेको संख्या धेरै छ।

कोशी प्रदेशमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत एक सय ५२ वटा क्याम्पस छन्। तीमध्ये ८१ वटा सामुदायिक, ६० वटा निजी र ११ वटा आंगिक क्याम्पस हुन्। अधिकांशमा पहिलो वर्षमा उल्लेख्य विद्यार्थी रहे पनि दोस्रो वर्षदेखि यो संख्या घट्दो रहेको क्याम्पसको तथ्यांक छ।

इटहरीस्थित जनता बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख तथा पब्लिक क्याम्पस प्राध्यापक संघ नेपालका केन्द्रीय सल्लाहकार प्रा.डा. टोलानाथ काफ्ले पहिलो वर्ष भर्ना हुने र दोस्रो वर्षदेखि क्याम्पस नआउने समस्या रहेको बताउँछन्। उनका अनुसार यस्तो समस्या मानविकी र व्यवस्थापनको बीबीएसमा धेरै छ। अधिकांश विद्यार्थी रोजगारीतर्फ लाग्ने भएकाले दोस्रो वर्षदेखि क्याम्पसै नआउने गरेका हुन्।

काफ्ले भन्छन्, ‘कतिपय पहिलो वर्षको नतिजासम्म पर्खन्छन्। फेल भएपछि त कक्षामा देखा पर्दैनन्।’ धेरैजसो विद्यार्थी पढाइ छाडेर विदेश जाने गरेका छन्। प्राविधिक विषयमा अध्ययरत विद्यार्थीले भने बीचमै छाड्दैनन्। यस्ते आफ्नो रोजाइको विषय पढ्न पाएका विद्यार्थी पनि अन्तिम वर्षसम्म रहन्छन्।

‘विद्यार्थी आफूले रोजेको विषय अध्ययन गर्न पाउँदा त्यस्ता क्याम्पसमा विद्यार्थी निरन्तर अध्ययनरत छन्,’ काफ्लेले भने। विदेशमा पढाइसँगसँगै साँझबिहान रोजगारी पनि पाइने भएकाले विद्यार्थी त्यता आकर्षित भएका हुन्। ‘नेपालमा बसेर पढ्नुपर्ने मात्रै भयो। यहाँ समयमा परीक्षा नहुने र नतिजा नआउने भएकाले पनि समस्या छ,’ काफ्लेले भने, ‘पहिलो वर्षमा भर्ना हुने संख्या बढ्छ। कतिपय अवस्थामा कन्सल्टेन्सीमा पढिरहेका विद्यार्थीले माइग्रेसन निकालेर लैजान्छन्।’ कतिपयले भने थाहै नदिई क्याम्पस छाडेर जाने गरेको काफ्ले बताए।

प्रदेशभरको तथ्यांक हेर्ने हो भने बीबीएसमा भर्ना हुने विद्यार्थीको संख्या धेरै छ। यस्तै बीबीए, आईटी, सीएसआईटीजस्ता विषयमा विद्यार्थी घटेका छैनन्। तर मानविकीमा भने विद्यार्थी घट्दै गएको काफ्लेले बताए।

विश्वविद्यालय अनुदान आयोगको तथ्यांकअनुसार कोशीका आंगिक क्याम्पसमा १२ हजार ९७८ अर्थात् (३० प्रतिशत), निजी क्याम्पसमा १० हजार १५० अर्थात् (२३.५३ प्रतिशत) र सामुदायिक क्याम्पसमा १९ हजार ९९८ अर्थात् (४६.३७ प्रतिशत) विद्यार्थी अध्ययनरत छन्।

पाठ्यक्रम समयानुकूल नहुँदा पनि विद्यार्थीले बीचमै पढाइ छाड्ने गरेको सरोकारवलाहरूको बुझाइ छ। जनता बहुमुखी क्याम्पस इटहरीकी क्याम्पस प्रमुख प्रा.डा. गीता अधिकारीले त्रिविअन्तर्गतका धेरैजसो पाठ्यक्रम अद्यावधिक नभएको बताइन्। ‘उनले भनिन्, ‘कतिपय कोर्स अपडेटेड छैनन्, अपडेट नहुँदा विद्यार्थीले आफूले चाहेको विषय पढ्न पाइरहेका छैनन्।’ उनी पनि विदेशका विश्वविद्यालयमा काम गर्दै पढ्न पाउने भएकाले बिदेसिने संख्या बढिरहेको बताउँछिन्। अधिकारीले भनिन्, ‘विश्वविद्यालयको पढाइसँगै काम गर्न पाउनुपर्ने हुनुपर्नेरहेछ। पढ्दै, काम गर्ने वातावरण आएमा यो किसिमको अवस्था आउँदैन।’

महेन्द्र मोरङ क्याम्पस विराटनगरका सहप्राध्यापक नन्द न्यौपानेका अनुसार स्नातकमा विद्यार्थी घट्नुको एउटा कारण विद्यार्थी र आमसमुदायमा नेपालमा केही हुँदैन भन्ने धारणा बलियो रहनु हो। न्यौपाने भन्छन्, ‘नेपालमा बेथितिको सामना गर्न नसकेपछि बिदेसिने संख्या बढ्दो छ।’

कोभिडको समयमा विद्यार्थी बाहिर जान नपाएकाले ठूलो संख्यामा भर्ना भएको देखिन्छ। तर कक्षा १२ सम्मको परीक्षा स्वयं स्कुलले आफैँ लिँदा र क्याम्पसमा भर्ना हुनेको संख्या बढेजस्तो देखिएको उनी बताउँछन्। ‘त्यसबेला विद्यार्थी ह्वात्तै बढेका थिए। कोभिड सहज भएपछि बिदेसिने संख्या बढ्दो छ,’ उनले भने, ‘पढाइ नै छाडेर आफ्नो भविष्यका लागि खाडीसम्मै भए पनि जान बाध्य छन्।’

अघिल्लो आर्थिक वर्ष एक लाख १५ हजार विद्यार्थीले विदेश अध्ययन अनुमतपित्र (एनओसी) लिएका थिए। खाडी मुलुकसँगै कोरिया जानेको संख्या यसमा उल्लेख छैन। ‘नेपालमा नागरिकता बनुन्जेल मात्रै बस्ने परिस्थिति छ,’ न्यौपानले भने, ‘युवापुस्ता ठूलो संख्यामा बिदेसिरहेको छ। देशमा केही हुँदैन भन्ने मानसिकता बलियो हुँदैछ।’

त्रिविले १२ महिने कोर्स १८ महिनामा पनि पूरा नगर्ने र चार वर्षमा सकिनुपर्ने कोर्स ६ वर्षमा पनि पूरा नगर्दा समस्या निम्तिरहेको उनको तर्क छ। ‘विश्वविद्यालयहरू परिवर्तन हुन सकेनन्। पाठ्यक्रम समयानुकूल परिवर्तन हुन सकेको छैन। परीक्षा र नतिजा प्रकाशनजस्ता काममा ढिलाइ भइरहेको छ। त्यसैले पहिलो वर्षमा भर्ना भएका विद्यार्थी चौथो वर्षमा पुग्दा कहाँ पो पुगिसक्छन्।’

महेन्द्र बहुमुखी क्याम्पसका अवकाशप्राप्त सहप्राध्यापक हरि दाहाल भने त्रिविअन्तर्गतका क्याम्पसमा विद्यार्थी आकर्षणको कमी हुनुमा नियमित पठनपाठन नहुनु नै हो। उनी भन्छन्, ‘पढाइभन्दा पनि राजनीतिमा केन्द्रित भएकाले समस्या निम्तिरहेको छ।’

त्रिविले आफ्नो क्यालेन्डर सच्याएर सुधार गर्नुपर्ने उनको तर्क छ। ‘त्रिविमा विकर्षण बढ्नुमा त्रिविले आफूलाई सुधार गर्नुपर्छ,’ उनी भन्छन्, ‘नेपालमा पढेलेखेका मानिसले आफ्नो चेतनाअनुसार काम गर्न पाउँदैन।’

पछिल्लो समय अभिभावक पनि आफ्ना छोराछोरीलाई विदेश पठाउन चाहन्छन्। रोजगारीको अवसर नपाइने र पाइहाले पनि पर्याप्त पैसा नभएका कारण अभिभावकहरूले सन्तानलाई रोक्न नसक्ने अवस्था छ। ‘जसले जहाँ अवसर पाउँछ, त्यहीँ जाने न हो’, दाहाल भन्छन्।

देशमै धेरै विद्यार्थी पढाउँछ पृथ्वीनारायण क्याम्पस

प्रकाशित: १८ भदौ २०८० ७:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − five =