आवरण

स्नातक भर्नामा प्रतिस्पर्धा घट्यो

हिमाल प्रेस १७ भदौ २०८० १२:२६
180
SHARES
स्नातक भर्नामा प्रतिस्पर्धा घट्यो शिक्षा मन्त्रालयको ‘नो अब्जेक्सन लेटर’ शाखामा विदेश अध्ययनका लागि अनुमति लिन लाम लागेका विद्यार्थी। तस्बिर : हिमाल प्रेस

काठमाडौँ- २०७९ सालको कक्षा १२ को अन्तिम परीक्षामा नियमित र आंशिकतर्फ गरी ४ लाख ४८ हजार ८३७ विद्यार्थी सहभागी थिए। परीक्षा नतिजाअनुसार स्नातक तहमा भर्ना योग्यको संख्या २ लाख १४ हजार ५३१ छ। कक्षा १२ को परीक्षा दिएकामध्ये २ लाख ३४ हजार ३०६ जना ग्रेडवृद्धि परीक्षामा सामेल हुन योग्य छन्।

ग्रेडवृद्धि गरेमा उनीहरूलाई कलेज भर्नाको बाटो खुल्नेछ। यद्यपि उनीहरूले विज्ञान, इन्जिनियरिङलगायतका विषय पढ्न पाउने अवसर कमै हुन्छ। ग्रेडवृद्धि गरेकामध्ये अधिकांशको रोजाइ/बाध्यता शिक्षा वा मानविकी संकाय हुन्छ। शिक्षा र मानविकी पढाइ हुने कलेज यिनै विद्यार्थीको पर्खाइमा हुन्छन्। कतिपयले यहीबीचमा विदेशको बाटो तताएका हुन सक्छन्। कक्षा १२ को ग्रेडवृद्धिको परीक्षा मिति असोज ६ र ७ गतेका लागि तोकिएको छ। अधिकांश विश्वविद्यालयले मंसिरदेखि कक्षा सञ्चालन हुने गरी भर्ना आह्वान गरेका छन्।

नेपालमा हाल सञ्चालित ११ वटा विश्वविद्यालय मातहत १ हजार ४ सय ४० कलेज सञ्चालनमा रहेको विश्वविद्यालय अनुदान आयोगको तथ्यांक छ। तीमध्ये १५० आंगिक, ५३७ सामुदायिक र ७५३ निजी छन्। कलेजको क्षमताअनुसार विद्यार्थी भर्ना भने भएको पाइँदैन। सीमित विषयमा भर्नाका लागि प्रतिस्पर्धा हुने गरेको छ। अन्यथा कोटाअनुसार विद्यार्थी भर्ना भएको पाइँदैन।

पूर्वाञ्चल विश्वविद्यालयको विराटनगरस्थित विज्ञान तथा प्रविधि कलेजका प्रमुख नरेश शाह विज्ञान तथा प्रविधि विषयमा कोटाअनुसार भर्ना हुन छाडेको बताउँछन्। पूर्वाञ्चलमा मात्रै होइन, यस्तो समस्या मुलुककै पुरानो र ठूलो विश्वविद्यालयमा पनि छ। विद्यार्थी कोटा पूरा हुन नसकेपछि गत वर्ष त्रिभुवन विश्वविद्यालयले बीबीए, बीएचएम, बीबीएमलगायत विषयमा दुईपटक प्रवेश परीक्षा सञ्चालन गरेको थियो।

सहरका कलेजमा विद्यार्थी संख्या पातलिँदै गएको छ। गाउँका क्याम्पस विद्यार्थीको अभावमा बन्द हुन थालेका छन्। पाल्पा, गुल्मी, दाङ, रुकुम, रोल्पा, प्यूठान, बाँके, बर्दियालगायतका कलेजमा स्नातक तहका विद्यार्थी क्रमशः घट्दै गएका छन्। सोही कारण त्रिभुवन विश्वविद्यालयले कलेज मर्ज प्रक्रिया अघि बढाएको छ।

किन घट्दैछन् विद्यार्थी?

एक त कक्षा १२ को नतिजाले उच्चशिक्षा प्रवेश गर्ने विद्यार्थीको संख्या थोरै देखाउँछ। त्यसमा पनि राम्रो ग्रेड हासिल गरेका विद्यार्थीको पहिलो रोजाइ विदेश हुन्छ। यस्ता विद्यार्थी १२ पास गरेदेखि नै भाषा कक्षामा सामेल हुन थाल्छन्।

विदेश जान नसक्ने विद्यार्थी ग्रामीण क्षेत्रमा बस्न रुचाउँदैनन्। बढी अवसर पाइने भएकाले उनीहरूको रोजाइ संघीय राजधानीतिर हुने गरेको जानकारहरूको बुझाइ छ। विराटनगरस्थित विज्ञान तथा प्रविधि कलेजका प्रमुख शाह विद्यार्थी बढी अवसर पाइने ठाउँमा जाने भएकाले राजधानीबाहिरका कलेजको विद्यार्थी घट्दै गएको बताउँछन्। उनी भन्छन्, ‘विद्यार्थीको विदेश मोह पहिलो कारण हो। अलिक जान्ने विद्यार्थी काठमाडौँतिर छिर्छन्। उनीहरू बढी अवसर पाइने ठाउँतिर लाग्नु स्वाभाविकै हो।’

विज्ञानमा मात्रै होइन, मानविकी संकायका विद्यार्थीले पनि विकल्प खोज्न थालेको सप्तरीको राजविराजस्थित महेन्द्र विन्देश्वरी क्याम्पसका प्रमुख राजीव मिश्रा बताउँछन्। विज्ञान पढ्न चाहनेहरू विदेश वा संघीय राजधानीका कलेजतिर जाने गरेको उनले बताए। उनी भन्छन्, ‘सहरी क्षेत्रमा थोरै दुरीमा गुणस्तरीय कलेज छानीछानी पाइन्छ। विद्यार्थीका लागि रोजाइका क्षेत्र धेरै भए।’

विज्ञान र मानविकीमा विद्यार्थीको आकर्षण घटेको छ। चार वर्षमा बीए पास गरेर के गर्ने भन्ने सुनिश्चित छैन। तीनबर्से पाठ्यक्रम हुँदा जेनतेन केही हुन्थ्यो। विज्ञानमा स्नातक (बीएससी) गरेर पनि अवसर नपाइने भएपछि विद्यार्थी प्राविधिक शिक्षातर्फ लागेको मिश्रा बताउँछन्। ‘बीएड गरेर अध्यापन अनुमतिपत्र (लाइसेन्स) लिएपछि एउटा अवसर थियो। अब त्यो अवसर स्वात्त घटेको छ’, उनले भने।

राजधानीबाहिरका कलेजमा सामान्य स्तरका विद्यार्थी मात्रै भर्ना हुने गरेकाले विद्यार्थी घटेको जानकारहरू बताउँछन्। उनीहरूका अनुसार यस्ता विद्यार्थीले राम्रो नतिजा ल्याउन सक्दैनन्। भर्ना भइहाले पनि टिकाउन सकस पर्छ। मानविकी, शिक्षाजस्ता संकायमा त पहिलो वर्षमा आठ सय विद्यार्थी भर्ना भएका छन् भने चौथो वर्षमा पुग्दा आधाभन्दा कम हुन्छ।

नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसका प्रमुख लालमणि आचार्य कलेजमा विगत एक दशकदेखि निरन्तर भर्नादर ओरालो लागिरहेको बताउँछन्। उनी भन्छन्, ‘भर्नादर नै कमी छ। त्यसमा सुरुमा सातआठ सय भर्ना हुन्छन्। चौथो वर्षमा पुग्दा तीन सय जनामा आइपुग्छन्।’ उनका अनुसार विज्ञानमा पनि विद्यार्थी भर्नादर घट्दो छ।

मानविकीमा त झन् असाध्यै कम भर्ना हुने गरेको आचार्यले बताए। चारचार वर्षसम्म मानविकी पढेर कुन क्षेत्रमा जाने भन्नेमा विद्यार्थीमा अन्योल देखिएको उनको बुझाइ छ।
आचार्यले भने, ‘शिक्षामा पनि विद्यार्थी घटेका छन्। सरकारले शिक्षक बन्न बीएड नपढे पनि हुने नीति ल्याएपछि यसतर्फ विद्यार्थी घट्दो क्रममा छ।’

महेन्द्र विन्देश्वरीका प्रमुख मिश्राका अनुसार व्यवस्थापनमा भने विद्यार्थी भर्नादर सन्तोषजनक छ। कलेजमा व्यवस्थापनतर्फको बीबीएसमा विद्यार्थी बढिरहेको मिश्राले जानकारी दिए। व्यवस्थापनमा बढ्नुको कारण बैंक तथा वित्तीय क्षेत्रमा जनशक्ति आवश्यक परेर हो। गाउँगाउँमा वाणिज्य बैंकका शाखा खुल्न थालेका छन्। ती बैंकमा व्यवस्थापन पढेका जनशक्तिकै माग हुन्छ। अवसर अन्यत्रभन्दा यसमै बढी छ। त्रिभुवन विश्वविद्यालयको तथ्यांक हेर्दा पनि अन्यत्रभन्दा व्यवस्थापमै विद्यार्थी बढी छन्।

मानविकी, विज्ञान र व्यवस्थापन पढाइ हुने राजधानीको पद्मकन्या कलेजमा पनि व्यवस्थापनतर्फ विद्यार्थी आकर्षित हुने गरको क्याम्पस प्रमुख जयालक्ष्मी प्रधान बताउँछिन्। क्याम्पसमा बीबीएससहित बीबीए, बीबीएम, बीबीएचएम, बीआईटीलगायतका विषयमा विद्यार्थी आकर्षण बढ्दो छ।

विज्ञान प्रविधि र व्यवस्थापनमा विद्यार्थीको संख्या सामान्य रहे पनि शिक्षा, मानविकी जस्ता विषयमा विद्यार्थीको रुचि घट्दो छ। उता इन्जिनियरिङमा  विद्यार्थीको आकर्षण बढ्दो छ। विराटनगरस्थित विज्ञान तथा प्रविधि कलेजका प्रमुख शाह इन्जिनियरिङमा विद्यार्थी संख्या बढिरहेको बताउँछन्। उनी भन्छन्, ‘इन्जिनियरिङमा तीनगुनासम्म विद्यार्थी भर्ना हुन आउँछन्।’

शिक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार अचेल दैनिक एक हजार हाराहारी विद्यार्थीले विदेश पढ्न जानका लागि नोअब्जेक्सन लेटर लिने गरेका छन्। शाखाले अनलाइनबाट सुविधा दिएपछि नोअब्जेक्सन लेटर लिने विद्यार्थीको संख्या बढेको हो। नोअब्जेक्सन लेटर लिने सबै विद्यार्थी विदेश जान्छन् भन्ने छैन। यद्यपि पटकपटक प्रयास गरेर पनि धेरैजसोले देश छाड्छन्। अध्ययन भिसामा विदेश गएकामध्ये विरलै मात्र फर्किन्छन्।

‘नेपालमा पढेर रोजगारी पाइन्छ भन्ने सुनिश्चित नभएपछि विद्यार्थी पलायन भएका हुन्’, आचार्य भन्छन्।

पहिला क्याम्पसको संख्या सीमित हुन्थ्यो। अहिले गाउँगाउँमा कलेज खुलेका छन्। सहरी क्षेत्रमा त चारपाँचवटा कलेज एकै ठाउँमा छन्। सरकारी क्याम्पसको वरिपरि निजी वा सामुदायिक कलेज खोल्न नदिएको भए यस्तो नहुने जानकारहरू बताउँछन्। बजार प्रतिस्पर्धी छ। सरकारी क्याम्पसको भौतिक सुविधा पनि कम छ। यिनै कारणले सरकारी क्याम्पसमा विद्यार्थी संख्या घटेका हुन्।

बीबीए, बीसीए, बीएससीएसआईटी, बीआईएमजस्ता संकायले सरकारी क्याम्पस टिकेको छ। निजी र सामुदायिक कलेजमा पनि यिनै विषयमा विद्यार्थीको आकर्षण देखिन्छ।

त्यसो त राजधानीका कलेजमा पनि विद्यार्थी भर्ना दर उत्साहजनक छैन। मानविकीतर्फ क्याम्पसमा २३ विषय पढाइ हुन्छ। पद्मकन्या क्याम्पसकी प्रमुख प्रधान भन्छिन्, ‘विगतका तुलनामा मानविकीमा विद्यार्थी संख्या घटेका छन्। तर पछिल्लो दुई वर्षमा भने मानविकीमा विद्यार्थी भर्नादर सन्तोषजनक हुन थालेको छ।’ उनका अनुसार सामाजशास्त्र, लैंगिक अध्ययन, ग्रामीण विकास, गृहविज्ञानजस्ता विषयमा विद्यार्थी आकर्षित भए अन्य विषयमा पढ्ने विद्यार्थी घट्दै गएका छन्।

चारबर्से स्नातकलाई तीन वर्षमा झार्ने हो भने विद्यार्थी बढ्ने अनुमान मिश्राको छ। त्रिविमा त चारबर्से भने पनि ट्रान्सक्रिप्ट लिँदासम्म ६ वर्ष पूरा गर्नुपर्छ। मिश्रा भन्छन्, ‘अबको पुस्ता ६ वर्षसम्म पर्खेर बस्न चाहँदैन।’

सोही कारण त्रिभुवन विश्वविद्यालयले शिक्षाशास्त्रतर्फको स्नातक तीन वर्षमा झार्न लागेको शिक्षाशास्त्र संकायका डिन प्रा.डा. शोभाखर कँडेलले जानकारी दिए। विद्यार्थीको रुचि र आवश्यकता केमा छ भन्ने नबुझीकन पाठ्यक्रम लागू गर्दा यस्तो समस्या आएको हो।

विद्यार्थीको रुचि पढेर चाँडै जागिर पाइहाल्ने शिक्षातर्फ छ। तर नेपालमा पढेर पनि बेरोजगार बस्ने अवस्था छैन। त्यसैले धेरै विद्यार्थी विदेश पलायन भइरहेका छन्। विज्ञानमा स्नातक गर्नेले पनि आफूले सुरक्षित भविष्य देखेको पाइँदैन। शाह भन्छन्, ‘बीएस्सी पढेको जनशक्तिलाई कहाँ खपत गर्ने भन्ने अन्योल छ। त्यसैले राज्यले अब यसमा पनि विचार गर्नुपर्छ।’

शिक्षाशास्त्र नै पढ्नुपर्ने किन? [देशभरका शिक्षा क्याम्पसको सूचीसहित]

इन्जिनियरिङ : कसले पढ्न पाउँछन्, कहाँ पढ्ने?

प्रकाशित: १७ भदौ २०८० १२:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + fifteen =