घोँगा लाग्ने बेलामा हावाहुरीले सखाप बनायो मकै

हिमाल प्रेस १८ भदौ २०८० ८:२०
8
SHARES
घोँगा लाग्ने बेलामा हावाहुरीले सखाप बनायो मकै

बागलुङ- हावाहुरी र वर्षाले बागलुङका विभिन्न स्थानमा मकै बालीमा क्षति पुर्‍याएको छ। घोँगा लाग्ने बेलामा आएको हावाहुरीले जिल्लाको तमानखोलाका किसानले सयौँ रोपनी क्षेत्रफलमा लगाएको मकै बाली नष्ट गरिएको हो।

वडा नम्बर १ र २ को सेन्नामा, पहिरा, बोंगानी, सोम्मरलगायतका गाउँको करिब सात सय रोपनी क्षेत्रफलमा लगाएको मकै पूर्ण रूपमा नष्ट भएको तमानखोला गाउँपालिकाका कृषि शाखा प्रमुख सन्देश पराजुलीले जानकारी दिए। शनिबार राती र आइतबार बिहान आएको हुरीले मकै बालीमा क्षति पुगेको उनको भनाइ छ।

सात सय रोपनीमा लगाएको मकै कामै नलाग्ने गरी ढलेपछि किसानले रु ५० लाखभन्दा बढीको क्षति बेहोर्नुपरेको उनले बताए।

किसानले हावाहुरीले मकै नष्ट गरेको जानकारी गराएपछि गाउँपालिका अध्यक्ष जोकलाल बुढा मगर, उपाध्यक्ष हिराकुमारी छन्त्याल र प्राविधिकको टोली बारीमै पुगेर क्षतिको विवरण लिएको उनको भनाइ छ।

मकै ब्लकमा समेत हुरीले ठूलो क्षति पु¥याएको उनले बताए। दाना लाग्ने बेलामा मकै ढलेको हुँदा अब फल नदिने शाखा प्रमुख पराजुली बताए।

उनले अहिलेसम्म यहाँका किसानले कृषि बीमा नगरेको बताए। बिमा गरेको भए केही सहुलियत मिल्ने पराजुलीको भनाइ छ। यस वर्षदेखि किसानलाई कृषि बीमाको दायरामा ल्याउने तयारी गरिरहेको उनी बताउँछन्। यहाँका अधिकांश किसानले रैथाने जातका मकै लगाएको पराजुलीले बताए।

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले यस क्षेत्रमा हावाहुरीले अहिलेसम्मकै ठूलो क्षति पुर्‍याएको बताए। किसानले जानकारी गराएपछि बारीमै पुगेर क्षतिका बारेमा बुझेको भन्दै पीडित बनेका किसानलाई पालिकाबाट राहतको व्यवस्था गर्ने अध्यक्ष बुढा मगरको भनाइ छ।

सबै वडामा प्राविधिक खटाएर सबै क्षतिको विवरण ल्याएर सोहीअनुसार राहतका बारेमा प्रदेश र केन्द्र सरकारसँग पनि माग गर्ने बताए।

‘हावाहुरीले किसानले लगाएको मकै बालीमा ठूलो क्षति पुगेको छ, फल्ने बेलाको मकै ढलेर सोत्तर बनेपछि किसानका आँखा आँसुले भरिएका छन्, उहाँहरुको त्यो पीडामा मलम लगाउने प्रयास हामी गर्ने छौँ’, अध्यक्ष बुढा मगरले भने, ‘अहिले सामान्य विवरण आएको छ, सबै विवरण आएपछि कुन किसनाको कति क्षति भएको छ, त्यस आधारमा पालिकाबाट हुने राहतको व्यवस्था गर्छौं र अन्य नियकाबाट हुने सहयोगका बारेमा पनि हामी पहल गर्छौं।’

वर्षा र हावाहुरीले मकैका सबै बोट भाँचिएपछि भोकमरी हुने भन्दै किसान चिन्तित बनेका छन् । जिल्लाको मुख्य खाद्य बालीको रुपमा रहेको मकैमा क्षति पुगेपछि मकैको उत्पादन घट्ने अनुमान गरिएको छ।

हरेक वर्ष मकै बालीमा विभिन्न कारणले क्षति हुँदै आएकाले मकैको छ । तमानखोलाको मकै जोन क्षेत्र भए पनि अघिल्लो वर्ष मकैको बीउ फरक पर्दा उत्पादनमा निकै गिरावट आएको थियो । यसपालिको हुरीले वर्षभरिको छाक खोसी दिएको स्थानीय किसान खिमबहादुर छन्त्यालले बताए।

प्रकाशित: १८ भदौ २०८० ८:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =