एमाले लुम्बिनी अधिवेशन : ओलीको निर्देशनविपरीत चुनावको तयारी

पौडेल-पोखरेलको गुटगत लडाइँ

विनोद परियार १७ भदौ २०८० १७:२५
24
SHARES
एमाले लुम्बिनी अधिवेशन : ओलीको निर्देशनविपरीत चुनावको तयारी

लुम्बिनी- नेकपा एमाले लुम्बिनी प्रदेश अधिवेशनमा नयाँ नेतृत्वका लागि सहमती नजुटेपछि निर्वाचनको तयारी गरिएको छ। शनिबारदेखि सुरु भएको अधिवेशनको उद्घाटन र बन्दसत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले लुम्बिनीबाट एकताको सन्देश दिनका लागि सहमतीमै नेतृत्व टुग्याउन निर्देशन दिएका थिए। तर, अध्यक्षका आकांक्षी पाल्पाका राधाकृष्ण कंडेल र प्युठानका हरिप्रसाद रिजालले दाबी नछाडेपछि निर्वाचन हुने देखिएको हो।

कंडेल एक वर्षअघि गठन भएको प्रदेश कमिटीका अध्यक्ष हुन् भने रिजाल पूर्व प्रदेश मन्त्री एवं पार्टी केन्द्रीय सदस्य हुन्। एमले अध्यक्ष ओलीले आइतबार बिहान पनि सहमतिबाट नेतृत्व चयन गर्न आग्रह गर्दै काठमाडौँ फर्किएका थिए। अध्यक्षको निर्देशनअनुसार शनिबार र आइतबार (आज) निरन्तर प्रयास गरे पनि आकांक्षी दुवै पछि हट्न तयार नभएपछि सहमतीमा नेतृत्व टुंगिने सम्भावना टरेको नेताहरूले बताएका छन्।

रिजाललाई पार्टी महासचिव शंकर पोखरेल निकटका नेताहरू प्रदेश सांसदहरू चेतनारायण आचार्य,भूमिश्वर ढकाल,शिवराज सुवेदीलगायतले अध्यक्षमा अघि सारेका छन्। कंडेलले एक वर्ष मात्र तदर्थ समितिमा काम गरेकाले एक कार्यकाल काम गर्न पाउनुपर्ने अडान राखेका छन्। उनले आफ्नो कुनै गुट नभएको बताउँदै आएका छन्। यद्यपी कंडेललाई उपाध्यक्ष विष्णु पौडेलको समर्थन रहेको छ।

उद्घाटनसत्रमा सञ्चारमाध्यममा पौडेल र पोखरेलको प्रतिष्ठाको लडाईँका रुपमा हेरिएको भन्दै समाचार आएकोमा दुवैले बचाउ गरेका थिए। तर, भित्रि रुपमा भने गुट बनाएर निर्वाचनको तयारीमा आकांक्षीहरू जुटेकाले अध्यक्ष ओलीको निर्देशन दिँदा पनि सहमती नबनेको एक नेताले बताए। उपाध्यक्ष पौडेलले त उद्घाटन सत्रमा गुट बनाउनेहरूप्रति लक्षित गर्दै ‘गुटबन्दी मुर्दावाद’ भनेका थिए।

अहिले जिल्लागत रूपमा प्रदेश कमिटीमा जाने सदस्य टुंगो लगाउन सबै जिल्लाबाट छानिएका प्रतिनिधिहरू १२ वटा समूहमा अलग अलग बसेका छन्। केही जिल्लाले सहमतिमा प्रदेश कमिटी सदस्य टुंगोमा पुर्‍याएको केन्द्रीय सदस्य चेतनारायण आचार्यले बताए।

२०५ सदस्यीय प्रदेश कमिटीमा १२ जिल्लाबाट जिल्लागत प्रतिनिधि १८६, अपांगबाट १, मजदुरबाट ३, खुल्लाबाट पदाधिकारीसहित १५ जना गरी २०५ जना निर्वाचित हुने छन्। पदाधिकारी ५ जना हुनेछन्। जसअनुसार १२ वटै जिल्ला कमिटीहरूले सहमतिमा नाम पठाउन अलग अलग बैठक सुरु भएका हुन्। यदि जिल्लाबाट जाने नाममा सहमति नभए उनीहरूको पनि निर्वाचन हुनेछ।

निर्वाचन मण्डलले मतदाताको अन्तिम नामावली प्रकाशन गरेर निर्वाचन प्रकृया अघि बढाएको निर्वाचन प्रमुख हरिप्रसाद भण्डारीले बताए। प्रदेश कमिटीमा क्लष्टरगत पदाधिकारी र सदस्य कतिजना रहने भन्ने यकिन नभएकाले अन्य निर्वाचन प्रकृया लम्बिएको उनले बताए। मतदान भएको खण्डमा सोमबार बिहान मात्रै सुरु हुने भण्डारीले बताए।

अधिवेशनमा १२ वटै जिल्लाका ८२ हजार ८९५ पार्टी सदस्यहरूबाट एक सय जना बराबर एकजना र २३ वटा जनसंगठनबाट ८३ जना गरी १००४ जना प्रतिनिधि छनोट भएका छन्। सम्मेलनमा रुपन्देहीबाट सबैभन्दा धेरै १ सय ६४, कपिलवस्तुबाट ७२, दाङबाट १३१, बाँकेबाट ५४, बर्दियाबाट ७४, रुकुमपूर्वबाट १२, रोल्पाबाट २७, प्युठानबाट ५७, अर्घाखाँचीबाट ८२, गुल्मीबाट १११, पाल्पाबाट ८३ र पश्चिम नवलपरासीबाट ५२ जना प्रतिनिधि छनोट भएका छन्।

अधिवेशनले यसअघि ५ सय ७६ सदस्यीय रहेको प्रदेश कमिटीलाई २०५ सदस्यीय बनाउनेछ। यसअघि १६ र १७ गतेलाई तोकिएको अधिवेशन मिति सहमति नहुने भएसँगै लम्बिने भएको छ।

प्रकाशित: १७ भदौ २०८० १७:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − fourteen =