लुम्बिनीबाट ओलीले भने, छिमेकीलाई जस्तै हामीलाई पनि राष्ट्रियता प्यारो छ

हिमाल प्रेस १६ भदौ २०८० १८:५५
10
SHARES
लुम्बिनीबाट ओलीले भने, छिमेकीलाई जस्तै हामीलाई पनि राष्ट्रियता प्यारो छ

लुम्बिनी- नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूले राष्ट्रिय स्वाभिमान झुक्न नदिने बताएका छन्। उनले छिमेकी राष्ट्रहरूलाई समेत आफ्नो देशको राष्ट्रियताजस्तै नेपालीलाई पनि देशको माया लाग्ने कुरा बुझ्न आग्रह गरे। लुम्बिनीमा शनिबार सुरु भएको नेकपा एमालेको प्रदेश उद्घाटन समारोहमा ओलीले भारत र चीनतर्फ संकेत गर्दै भने, ‘तिमीले आफ्नी अमालाई सम्मान गर्दा हामी पनि हाम्रो देशलाई सम्मान गर्छौँ।’

अध्यक्ष ओलीले नेपाल कहिल्यै पनि उपनिवेश नभएकाले राष्ट्रिय स्वाभिमान नेपालीका लागि गौरव विषय भएको बताए। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जाँदा देशको स्वाभिमान र जमिनका विषयमा कुरा गर्न नसकेको आरोप ओलीको छ। ‘बंगलादेशसम्म जाने बाटो चाहियो भनेर प्रधानमन्त्रीले भन्नुभएछ’, अध्यक्ष ओलीले भने, ‘के देशको जग्गा दिन मिल्छ?’ उनले प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा देशको विषय भन्दा मुर्रा भैँसी र राँगा ल्याउने काम गरेको भन्दै व्यंग्य गरे।

अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकारले देश विकास गर्न थालेपछि केही शक्ति लागेर अदालतबाट ढालिदिएको स्मरण गरे। वामपन्थी खोल र मुखुन्डो लगाएर जनताको सरकार ढालेको आरोप उनको छ। अध्यक्ष ओलीले आफू सरकारमा रहँदा देश विकासको लहर ल्याए पनि अहिले देश ठप्प रहेको बताए। उनले प्रचण्ड सरकारले तमासा मात्रै देखाइरहेको टिप्पणी गरे। भ्रष्टाचारविरुद्ध अभियान भनेर सरकारले भ्रम छरेको उनको भनाइ छ। ओलीले भने, ‘सरकारले भ्रष्टाचारविरुद्ध नभई स्वदेशी पुँजीलाई ध्वस्त पार्न खोजेको छ।’

अध्यक्ष ओलीले यती होल्डिङ्स सुशील कोइराला प्रधानमन्त्री भएका बेला विदेशीलाई लिजमा दिने निर्णय भएको भन्दै त्यसको खोजी गर्न सरकारलाई आग्रह गरे। उनले भ्रष्टाचारसँग जोडिएका सबै काण्डका फाइल खोजेर अनुसन्धान गर्न पनि आग्रह गरे।  उनले भने, ‘बाइडबडी खोज, यती होल्डिन्हङ्स खोज, को संलग्न छ, त्यो देखिन्छ।’

ओलीले यस्ता विषयमा एमाले नेताहरूलाई जोड्न आवश्यक नरहेको पनि बताए। ‘आरोप लगाएको भरमा पत्याउँदै जाने भए, यिनीहरूले उल्टापाल्टा गर्छन्’, उनले भने। उनले एमालेका नेताहरू भ्रष्टाचारमा संलग्न भए आफू बचाउने पक्षमा नरहेको बताए।

बुटवलमा शनिबार सुरु भएको नेकपा एमाले लुम्बिनी प्रदेश अधिवेशन उद्घाटन समारोहका सहभागी।

अध्यक्ष ओलीले नेकपा एसका नेताहरू एमालेमा फर्कने क्रम जारी रहेको बताउँदै अब माओवादीका नेताहरू पनि एमालेमै समाहित हुँदै जाने दाबी गरे। उनले प्रचण्डले सुर्खेत पुगेर एमालेमा पहिरोमा जान्छ भनेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै आफूहरू खरानीको माटो नभएको स्पष्ट पारे।

ओलीले एमाले नेतृत्वको सरकारले भत्किएका भवन, बाटा, पुल पुराना संरचना बनाएको दाबी गर्दै अहिले विकास निर्माण ठप्प भएको बताए। अध्यक्ष ओलीले आफू प्रधानमन्त्री भएका बेला विप्लव र सीके राउतलाई शान्तिपूर्ण राजनीतिमा ल्याएको दाबी गरे। ‘बम पड्काउँदै हिँडेका नेकपाका विप्लवलाई हामीले ल्याऔँ। सीके राउतलाई पनि हामीले ल्याऔँ’, ओलीले भने। उनले नेपालको नक्साका विषयमा भारतसँग पत्राचार गरेर आफूले नै पहल गरेको बताए।

उनले ५१ सालमा अल्पमतको सरकार रहेका बेला जेष्ठ नागरिक सुरक्षा भत्ता र आफ्नो गाउँ आफैँ बनाऔँ जस्ता अभियान थालनी गरेको स्मरण पनि गरे। एमाले जसरी पनि सरकारमा जाने पार्टी नभएको उनको भनाइ थियो। ओलीले भने, ‘हामी जनताको शासन स्थापित गर्ने पार्टी भएकाले गरिबी, अशिक्षाको अन्त्य, विकास र सुशासनका लागि सरकार बनाउनेछौँ।’

प्रदेश अधिवेशन कर्मकाण्डका लागि नभई महान् उद्देश्यतर्फ केन्द्रित गरी सुरु भएको अध्यक्ष ओलीको भनाइ छ। उनले ‘समृद्ध नेपाल सुखी नेपाली’ को संकल्प बोकेको पार्टीको प्रथम प्रदेश अधिवेशन लुम्बिनीजस्तो ऐतिहासिक भूमिबाट सुरु हुनु गौरवको विषय भएको बताए।

अध्यक्ष ओलीले लुम्बिनी प्रदेशको अधिवेशनले एकताको सन्देश दिन नेताहरूलाई आग्रह गरे। उनले नेतृत्व कसले गर्ने भन्ने विषयमा नेताहरूबीच छलफल गरी सहमति जुटाउनुपर्ने बताए। ‘लुम्बिनीमा पार्टीका नेतैनेता हुनुहुन्छ, तपाईँहरू मिलाउनुस्’ ओलीले भने, ‘साँझ सबै नेता बसेर सहमतिमा नेतृत्व चयन हुने आशा गर्छु।’

लुम्बिनीमा शनिबार सुरु भएको अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने भएकाले नेताहरूमा चुनावी रौनक देखिएको छ। प्रदेश अध्यक्षका लागि वर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य हरिप्रसाद रिजाल आकांक्षी छन्। कँडेल उपाध्यक्ष विष्णु पौडेल निकट र रिजाल महासचिव शंकर पोखरेल निकट मानिन्छन्।

पौडेल र पोखरेलको अन्तरसंघर्षमा होला त ओलीको हस्तक्षेप?

प्रकाशित: १६ भदौ २०८० १८:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + ten =