सामाजिक न्यायसहितको वैज्ञानिक समाजवाद

अग्नि सापकोटा १६ भदौ २०८० ६:४६
30
SHARES
सामाजिक न्यायसहितको वैज्ञानिक समाजवाद

हाम्रो नेतृत्वमा बनेको संविधानमा लोकतन्त्रका सबै आयामलाई समेटिएको छ। नेपाली मौलिकता र विशेषतालाई ध्यान दिइएको छ। लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्धता व्यक्त गरिएको छ। त्यसैगरी लोकतन्त्रात्मक, समाजवादउन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो भन्ने कुरा संविधानमा स्पष्टसँग उल्लेख गरिएको छ। यो हाम्रो निकै ठूलो दुरगामी महत्त्वको सफलता हो।

यसलाई हामीले सामाजिक न्यायसहितको समाजवादका रूपमा व्याख्या र विश्लेषण गरेर कार्यान्वयन गर्न सुरु गर्नुपर्दछ। समाजवाद कसरी निर्माण गर्ने, यसलाई कसरी खँदिलो बनाउने र विकास गर्ने भन्ने जस्ता विभिन्न आधारभूत प्रश्नहरूको स्पष्ट र क्रमिक जवाफ दिनुपर्दछ। हाम्रा जवाफहरूले मार्क्सवादमा नयाँ दृष्टिकोणको प्रादुर्भाव, नयाँ पद्धतिको सुरुवात र समाजवादको बुझाइलाई नयाँ वैज्ञानिक स्तरमा उठाउनेछ।

मार्क्सवाद स्थिर छैन। यो समाजको गति, हाम्रो अभ्यासको प्रगति र विज्ञानको विकाससँगै अगाडि बढ्ने हो। सामाजिक न्यायसहितको समाजवादको विकास गर्नु हाम्रो ठूलो उद्देश्य हो। हामी विकासगत दृष्टिकोणले समाजवादमा आबद्ध रहनुपर्दछ। समाजवादको अन्तरनिहित आवश्यकता भनेको निष्पक्षता र न्याय हुन्। हामीले जनतामा संयोजित कार्यहरूमा भर पर्दै आर्थिक र सामाजिक विकासको आधारमा समाजिक निष्पक्षता एवं न्याय निश्चित गर्न आवश्यक संस्थाहरू विकास गर्नुपर्दछ। समाजका विभिन्न विषयमध्ये समान अधिकारहरू, समान अवसरहरू र सबैका लागि स्वच्छ नियमहरू भएको अवस्था सुनिश्चित गर्नुपर्दछ। स्वच्छ सामाजिक वातावरण बढाउन र शासन व्यवस्था र विकासमा जनताको सहभागिताको समान अधिकार सुनिश्चित गर्नुपर्दछ।

‘नेपालमा समाजवादको स्थापना हाम्रो रणनीतिक लक्ष्य एवं कार्यभार हो। हाम्रा सबै नीति, कार्यक्रम र आचरण २१ औँ शताब्दी अनुरूपको समाजवादी नेपाल निर्माण गर्नमा नै अभिमुख हुनेछ। समाजवादउन्मुख सम्बृद्धि हासिल गर्नुलाई तत्कालको मूल कार्यभार बनाउँदै समाजवादको आधार तयार पार्दै अन्ततः समाजवादको लक्ष्य पूरा गरिनेछ।’

वर्तमान संविधानले समाजवादको लक्ष्य निर्धारण गरे पनि त्यसको स्पष्ट व्याख्या गरेको छैन। हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) वैज्ञानिक समाजवादको मूल मान्यतामा आधारित समाजवाद निर्माणका पक्षमा छ। अन्य देशहरूमा अभ्यास गरिएका समाजवादको यान्त्रिक अनुकरण गरिने छैन बरु त्यसबाट शिक्षा लिँदै नयाँ मोडेलको समाजवादको विकास गरिनेछ।

समाजवादलाई श्रमजीवीवर्ग र सिंगो मानव जातिको मुक्तिमा केन्द्रित राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिकसहित समग्र प्रणालीको आत्मसात गरिनेछ। मानवमाथि हुने सबै प्रकारका भेदभाव तथा उत्पीडनको अन्त्य, व्यक्ति तथा मानव समाजको सर्वतोमुखी विकास एवं पूर्ण स्वतन्त्रता र प्रकृति एवं पर्यावरणको रक्षा, सन्तुलन हाम्रो समाजवादको मूल अन्तर्य हुनेछ। २१ औं शताब्दी अनुरूप नेपाली विशिष्टतामा आधारित नेपाली मोडेलको समाजवाद लोकतन्त्रको उच्चतम् रूप हुनेछ। त्यसमा व्यक्तिगत स्वतन्त्रता, लोकतान्त्रिक अधिकार र स्वस्थ प्रतिस्पर्धा सुनिश्चित गरिनेछ।

समाजवाद मानिसलाई पूर्ण र स्वतन्त्र बनाउने आन्दोलन हो। यो आधारभूत रूपमा नयाँ संस्कृति र सभ्यताको अभियान हो। समाजवाद मुख्यतः मूल्यसँग जोडिएको व्यवहार हो। समाजवाद गुणात्मक रूपमा एक नयाँ समाज पनि हो। यो विशेषतः आधुनिक वैज्ञानिक एवं प्राविधिक उपलब्धिहरूमा आधारित आफ्नै राष्ट्रिय अर्थतन्त्रको सिर्जना गर्ने आवश्यकतामा आधारित हुन्छ। विकासका क्रममा राष्ट्रिय चेतनाको विकास र जनतामा समाजवादी विचारधारा अपनाउन उत्प्रेरित गर्नुपर्दछ। त्यस खालको वातावरण बनाउन वैचारिक कामका साथसाथै सामाजिक एवं राजनीतिक लोकतान्त्रिक संगठनहरू निर्माण, विकास, विस्तार र सुदृढीकरण अभियानहरू चलाउनुपर्दछ।

वास्तविक लोकतान्त्रिक तरिकाले समाजको सबलीकरण गर्नु, किसानहरूको हित अनुकूल भूमि व्यवस्थापनका समस्या समाधान गर्नु, श्रमिकहरूलाई सुखी, समृद्ध बनाउने नीति, योजना र कार्यक्रम कार्यान्वयन गर्नु, जनसमुदायका बीचमा मित्रता र भ्रातृत्वको विकास गर्नु अभियानका मुख्य लक्ष्य हुनुपर्दछ। बौद्धिक क्षेत्रतर्फ विचारमा नेतृत्वदायी भूमिका खेल्नुपर्दछ। शैक्षिक तथा सांस्कृतिक विकासको उच्चस्तर कायम गर्नुपर्दछ। बौद्धिक, नैतिक एवं शारीरिक शक्तिको अविरल विकास नै समाजवादका विशेषता हुन्। समुदायका बीचमा सामूहिकता, मित्रता, एकता र सहयोगमा आधारित जीवनपद्धति समाजवादको अर्को महत्त्वपूर्ण विशेषता हो। जनसमुदायलाई सच्चा देशभक्त र सदाचारी हुन सदैव उत्प्रेरित गरिरहनुपर्दछ। उल्लिखित मान्यतालाई व्यवहारमा प्रस्तुत र स्थापित गर्दै समाजवादको नमूना पेस गर्न उद्यत रहनुपर्दछ।

समाजवाद श्रम, ज्ञान, प्रतिभा, सिप तथा सिर्जनाको सम्मान गर्ने अभियान हो। काम गर्ने व्यक्तिहरूको हितको संरक्षण गर्ने र अधिकार सुनिश्चित गर्ने सर्वोत्तम राज्यव्यवस्था समाजवाद हो। हामीले उन्नत समाजवादको नमुना प्रस्तुत गर्न जनताको बुद्धि र बलको प्रयोग गर्नुपर्दछ। जनसमुदायको भावनालाई आत्मसात् गर्दै अभियान अगाडि बढाउनुपर्दछ। राष्ट्रको सम्पूर्ण जाँगर र शक्तिलाई जागृत गर्न देशभक्तिपूर्ण राष्ट्रिय चेतनाको विकासमा जोड गर्नुपर्दछ। आफ्ना क्षमताहरूलाई पूर्ण रूपमा परिचालन गर्नुपर्दछ। जनसमुदायको सिर्जनशीलता र रचनात्मकतालाई प्रस्फुटन गराउनमा नमुना बन्नुपर्दछ।

समृद्धि, लोकतन्त्र, स्वतन्त्रता, समानता, न्याय, कानुनी राज्यको व्यवस्था, देशभक्ति, समर्पण, इमानदारी र मित्रतासहितका सारभूत समाजवादी मूल्यमान्यता र आदर्शहरूलाई जीवन व्यवहारमा लागू गर्दै नेपाली मौलिकता र विशेषतासहितको समाजवादी जग खडा गर्ने दिशामा दृढ इच्छा शक्तिका साथ प्रयत्न गरौँ। समाजवादी समाज स्थापनाको नेपाली सपना साकार पार्ने हाम्रो संकल्प पूरा हुनेछ।

सापकोटा नेकपा (माओवादी केन्द्र) प्रवक्ता  हुन्।

 

प्रकाशित: १६ भदौ २०८० ६:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 19 =