यसरी मूर्ख बनाइँदैछ नागरिकलाई

श्रवण शर्मा १८ वैशाख २०८० १३:१६
1.1k
SHARES
यसरी मूर्ख बनाइँदैछ नागरिकलाई

राजनीति मूर्ख उत्पादन गर्ने तालिम केन्द्र हुँदै गएको हो? वा राजनीति र समाज नेताहरूको मूर्खताले घेरिएको हो? मैले कुनै व्यक्तिविशेषलाई नभएर राजनीतिको केन्द्र, केन्द्र वरिपरि बसेर राजनीतिका प्रक्रिया, उत्पादन, सहउत्पादन र प्रतिफलमा भाग पाउने नववर्गको अनुहार, राजनीति र उनीहरूको बैद्धिक तीक्ष्णताको मात्रा विश्लेषणका आधारमा यसो भनेको हुँ। यस लेखको तात्पर्य अप्रमाणित आशा, आग्रह प्रस्तुत गर्दै जनमतको आकर्षणका लागि पेस गरिने गलत सूचना र धोखाजन्य समाचारले आमनागरिकलाई कसरी मूर्ख बनाइरहेको भन्ने चिरफार गर्नु हो। नागरिकलाई मूर्ख बनाउने राजनीतिक व्यवसायको अवस्था र त्यसका व्यवसायीको भ्रम वितरणकला कति प्रभावकारी छ, सो पनि हेरिनेछ।

यसै प्रसंगमा कुरा गरौँ, समाजवाद, समृद्धि, संघीयता, आधुनिकता, विभेद, जातीयता, समानता र शीघ्र निर्णय अर्थात् छोटो बाटोका नाममा आमनागरिकलाई कसरी मूर्ख बनाइयो, बनाइँदैछ? अब आममानिसलाई मूर्ख बनाइरहेका केही सूत्रहरू सविस्तार चर्चा गरौँ।

फास्ट ट्य्राक : फास्ट ट्य्राक अर्थात् छोटो बाटो। संविधान मस्यौदा गर्ने समयमा लिइएको एक चर्चित तर आममानिसलाई रनभुल्लमा राख्ने रणनीति थियो। छोटो बाटो लिनुको तात्पर्य संविधानमा आममानिसका मुद्दामा बहस गर्न, सुझाव दिन र प्रस्तावित मस्यौदा हेर्न पाउने अधिकारबाट बञ्चित गुर्न थियो। यसो गर्नुका पछाडि के कारण थिए भने नागरिकलाई आफ्ना सामूहिक, भौगोलिक र भावनात्मक सवाल संविधानको अंश हनुपर्छ भन्ने माग उठाउने समय नरहोस्।

हामी आफैँलाई सुसूचित नगरी झुक्याएर संविधान मस्यौदा गर्दा, पारित गर्दा र घोषणा गर्दा पनि सबैले हाम्रा लागि छिटछिटो संविधान लेखिँदैछ भन्ने मान्यौँ। आममानिसलाई मूर्ख बनाइएको यो सबैभन्दा ठूलो परिघटना थियो नेपालको इतिहासमा।

त्यसयता प्रत्येक ऐन मस्यौदा गर्दा स्वीकार्यका लागि गरिनुपर्ने सार्वजनिक बहस नगरी फास्ट ट्य्राक अर्थात् छोटो बाटो भएर पारित गर्ने गरिएको छ। के दाबी गरिन्छ भने देश राम्ररी सञ्चालन गर्न यसरी छोटो बाटोबाट ऐन ल्याउनु परेको हो। कानुन बनाउँदा छोटो बाटो प्रयोग गर्नुका पछाडि रहेको सत्यचाहिँ निर्णयाधिकारी र राजनीतिक व्यक्तिहरूलाई राज्यका स्रोत र सम्पत्तिमाथि दोहनको अधिकार प्रत्यायोजन गर्नका लागि बहस पैरवी नगर्नु हो। अर्को कुरा गलत निर्णयलाई कानुनी दायरामा ल्याउन नसकिने बनाउने उद्देश्य पनि यसमा अन्तरनिहित छ। यसमा पनि हामीलाई मूर्ख बनाइएको छ।

एकताका माओवादीहरू प्रचण्डको नक्कल गरेर कुम हल्लाई-हल्लाई बोल्ने गर्दथे। खास समाजवाद त्यही नै हो । सत्ताको सर्वदा प्रसंशा गर्ने नागरिक उत्पादनको एक मनोवैज्ञानिक कारखाना हो समाजवाद। मानिसका नितान्त निजी क्षमतालाई राज्य मातहत ल्याउनु र उसको निजत्व निस्तेज गर्नु समाजवादको वैचारिकी हो।

समाजवाद : राज्यले नागरिकलाई व्यवसाय तोकिदिने राजनीतिक पद्धति हो समाजवाद। एक बाबुका तीन भाइ छोरा छन् भने तीनैवटा केटाका लागि राज्य वा सरकारले व्यवसाय तोकिदिन्छ। कसले बाख्रा वा सुँगुर पाल्ने, को सेनामा जाने, कसले काउलीखेती गर्ने? व्यावसायिक क्षेत्रमा गरिने समाजवाद यही हो। चिन्तनको दृष्टिकोणमा समाजवादले समाजमा एकरूप चिन्तनका लागि जबरजस्त वातावरण तयार पार्दछ। सरकारले सोचेअनुसार सोच्ने, सरकारले भनेअनुसार गर्ने, सरकारी मानिसले बोलेअनुसार बोल्ने।

एकताका माओवादीहरू प्रचण्डको नक्कल गरेर कुम हल्लाई-हल्लाई बोल्ने गर्दथे। खास समाजवाद त्यही नै हो । सत्ताको सर्वदा प्रसंशा गर्ने नागरिक उत्पादनको एक मनोवैज्ञानिक कारखाना हो समाजवाद। मानिसका नितान्त निजी क्षमतालाई राज्य मातहत ल्याउनु र उसको निजत्व निस्तेज गर्नु समाजवादको वैचारिकी हो।

समाजवादमा मान्छेले आफ्ना मौलिक प्रश्न उठाउने, मौलिक मान्यता प्रस्तुत गर्ने, मौलिक चिन्तधाराको प्रवद्र्धन गर्ने र आफ्ना आग्रह सम्प्रेषण गर्ने नागरिक अधिकार गुमाउनुपर्ने हुन्छ। तर नेपालको वर्तमान राजनीतिले आफ्ना सामुदायिक आकांक्षा, सांस्कृतिक अवधारणा, भाषिक र धार्मिक विश्वासलाई उपेक्षा गर्‍यो भनेर जनजातीय अभियन्ता पनि समाजवादी शिविरको वकालत गरिरहेका पाइन्छन्। यसको तात्पर्य के हो भने उनीहरूको ज्ञानचक्षु समाजवादको नाराले स्थापित मूर्खताहरूले ढाकिदिएको छ। समाजवादका भित्री आयाम हेर्न, बुझ्न र विचार गर्न मानिस तयार नभएसम्म समाजवादी नारा नेपालीलाई मूर्ख बनाउन पर्याप्त खुराक भइरहन्छ।

समृद्धि : पाँच वर्षयता समृद्धि भन्ने शब्द सायद सबैभन्दा धेरै पटक बोलिएको वा लेखिएको हुन सक्छ। समृद्धि शब्द अत्यन्त राम्रो हो। मानिसको अन्तिम खोजी समृद्धि नै हो। यसको खोजी आज मात्र गरिएको होइन। होमो इरेक्टसहरूले समृद्धि खोज्न गरेका लाखौँ प्रयत्न हामीले पाएको समृद्धिको जग थियो। समय, प्रविधि र आवश्यकता परिवर्तनसँगै समृद्धिका आयाममा पनि परिवर्तन आउँछ। आज मोबाइल फोन समृद्धि हो भने अबको ५० वर्षपछि समृद्धिका आजका आयाम मोडल आउट हुन सक्छन्।

समृद्धिको गोल (उद्देश्य), मिसन (ध्येय) र भिजन (दृश्य चित्र) हुनैपर्दछ। नेपालको समृद्धिको दृश्यचित्र के हो? सो प्राप्त गर्ने लक्ष्य, ध्येय र रणनीति केके बनेका छन्? सार्वभौम संसद्मा समृद्धिका पाठ प्रवर्धन गर्न कुनै दिन खास समयमा छलफल भएको सुनिएको छ? छैन। वा कुनै सरकारी निकाय, संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दल, ती दलका भ्रातृ तथा भगिनी संगठनहरूले आमनागरिकसँग समृद्धिका ‘कन्टेन्ट’मा छलफल चलाएका छन् वा कसैलाई सोधेका छन्- ‘तपाईँले खोजेको समृद्धि कस्तो हो?’ भनेर। ‘तपाईँ आफ्नो कस्तो जीवनवृत्तिलाई समृद्ध ठान्नुहुन्छ’ भनेर कुनै नागरिकलाई कुनै दल वा सरकारी निकायले कतै सोधेको/बुझेको पाइएको छ? छैन।

तसर्थ जनवाद, समाजवाद वा प्रजातान्त्रिक समाजवादको नाराको अप्रभावकारिता बोध गर्दै गएका नेताहरूले नयाँ भाष्य ल्याएका छन् बजारमा, त्यो हो समृद्धि। लक्ष्य, उद्देश्य, रणनीति र योजनाविहीन समृद्धिका ओठेजवाफ विश्वास गर्न बाध्य छ नेपाली समाज। समृद्धि मानिसलाई मूर्ख बनाइरहने मनोवैज्ञानिक खुराकका रूपमा प्रयोग गरिएको छ नेपालमा।

रेलमार्ग/पानीजहाज : आशा देखाउनु स्वाभाविक मान्ने हो भने ढाँट्नुलाई अपराध मानिन्छ। तर झुटलाई आशाका रूपमा प्रस्तुत गर्दै औँलाले देखाएर ऊ त्यहाँबाट रेल आउँछ, अलि तलबाट पानीजहाज आउँछ भनिन्छ। साना छोराछोरीलाई साप्ताहिक हाटबजार गएकी आमा घर आउने बाटो देखाए जसरी रेल र पानीजहाज आउने बाटो देखाउँदा पनि नेपालीले पत्याइदिएकै हुन्। सत्यको सम्प्रेषणीय क्षमता कम, तर झुटको सम्प्रेषणीय क्षमता ज्यादा हुन्छ नै। त्यसैकारण चतुर नेताहरू सत्यभन्दा झुट सम्प्रेषणमा संलग्न छन्। त्यसैले गर्दा रेल र पानीजहाजका चुनावी नारा बिकेकै हुन्। सत्य पत्ता लगाउनु भन्दा झुट विश्वास गर्न सजिलो हुने रहेछ आममान्छेका लागि पनि।

संगठन : राजनीतिक संगठनमा मानिसलाई उत्प्रेरित त प्रशस्तै गरियो। तर नेपालका राजनीतिक दलहरूले संगठनका सदस्यहरूलाई राजनीतिक काम दिन सकेनन्। संगठनका सदस्यहरूलाई शासक भएको भान त भयो। तर दलका कार्यकर्ताले गर्ने काम के हुन् त्यसको कुनै जानकारी भएन। संगठनमा लाग्नु भनेको त्यस संगठनको वैचारिकीमा रहेर समाजको बृहत्तर हितका लागि आर्थिक, सामाजिक, सांस्कृतिक विषयमा राजनीतिक संवाद गर्नु थियो, त्यसो हुन सकेन। बरु के भयो भने राजनीतिक कार्यकर्ताहरू वैचारिक कम बिचौलिया ज्यादा बन्नुपर्ने अवस्था आयो।

राजनीतिक उपलब्धि नेपाली कांग्रेस, एमाले र माओवादीका अमुक नेताकै योगदानमा आधारित हुन् भने दलहरू किन सहिद दिवस मनाउँछन्, सहिद पनि यिनै नेतालाई माने भएन? सहिद दिवसका दिन यिनैलाई माल्यार्पण गरे भयो त!

दलहरूले राजनीतिक कार्यकर्तालाई समाजमा स्थापित गर्ने भन्दा समाजमा विस्थापित मानिसलाई संगठनमा आबद्ध गर्ने काम गरे। जसले गर्दा १०/१२ लाख सदस्य संख्या भएका राजनीतिक दलहरूको सामाजिक हैसियत शून्यतिर उन्मुख भइरहेको छ। खल्तीमा राखिएको पार्टीको सदस्यता कार्ड देखाउन लाज लागेर दलका कार्यकर्ताहरू सहकारीको सदस्यता देखाउन थालेका छन्। मानिसहरू भन्छन्, दल पसेपछि सहकारी पनि दलजस्तै भए।

संगठन मानिसले संगठन चलाउने हुन् तर नेपालमा खासगरी वामपन्थीहरूका दलमा संगठनले मान्छे चलाइरेका छन्। मानिस संगठनका मातहत बस्यो। संगठनचाहिँ जीवित प्राणी र मान्छेलाई चैँ संगठनको एक यन्त्रका रूपमा लिइयो। जसले गर्दा संगठनका लागि अपराध गर्न तयार भयो मान्छे। त्यसै भएर होला, माओवादी जनयुद्ध अहिले एक हरर कथा बन्न पुगेको छ। मानिसको विवेकपूर्ण निर्णयलाई संगठन सञ्चालन गर्न दिइएको थियो भने यस्तो अवस्था आउने थिएन।

प्रशस्ति गाथा : लोकतन्त्र, गणतन्त्र, धर्म निरपेक्षता, संघीयता र समावेशी मान्यताजस्ता महान् उपलब्धि प्राप्त गर्न हामी नागरिको बँुता थियो? दलका कार्यकर्ता सहरबजार, चिया पसल, रेस्टुरेन्टलगायत सानाठूला संवाद कार्यक्रममा यो प्रश्न बारम्बार उठाउने गर्दछन्। यी उपलब्धि प्राप्त गर्न यिनै नेताहरूको ठूलो योगदान छ। खासमा दलका कार्यकर्ताका यी तर्क दलका नेताहरूलाई निकम्मा बनाउने प्रारम्भिक सूत्र हुन गएका छन्।

मान्छेलाई मूर्ख बनाउन डिजाइन गरिएका यी तर्क अत्यन्तै घातक, ढोंगी र हानिकारक छन्। यस तर्कले आममानिसको विवेक, चेतना र बौद्धिक तीक्ष्णतामाथि प्रश्न उठाएको छ र खासखास व्यक्तिलाई यी सारा उपलब्धिको जन्मदाता मानेको छ। योगदानको तुलनामा मान्छेमा गल्ती, अपराध र दुष्कर्म गर्ने अधिकार हुन्छ भन्ने भाष्य स्थापित गर्ने प्रयत्न गरेको छ। यी उपलब्धि नेपाली कांग्रेस, एमाले र माओवादीका अमुक नेताकै योगदानमा आधारित हुन् भने दलहरू किन सहिद दिवस मनाउँछन्, सहिद पनि यिनै नेतालाई माने भएन? सहिद दिवसका दिन यिनैलाई माल्यार्पण गरे भयो त!

कुनै कालखण्डमा कसैले कुनै राम्रो काम गरेबापत आउने कति दशकसम्म अपराध गर्ने छुट पाउँछ? आज हामी सबैले संयुक्त रूपमा सोध्नैपर्ने हो यो प्रश्न। उदाहरणका लागि हजारौँ बिरामीको ज्यान बचाएको डाक्टरले एउटा बिरामी मार्न पाउँछ? हजारौँ बलात्कार पीडितहरूको उद्धार गरेको कुनै समाजसेवीले एक बलात्कार आफैँ गर्न पाउँछ? सयौँ चोर पक्रिएर कारबाही गराएको प्रहरी आफैँले एकपटक वा केही पटक चोरी गर्न पाउँछ? आज हामीलाई राजनीतिक जमातले पढाएको तर्कले भन्छ, पाउँछ। पाउनुपर्छ। यही मूर्खताको पीडामा छ नेपाल।

संघीयता : संघीयताका सन्दर्भमा पूरै उल्टो कुरा गरियो। संघीय पद्धतिले विकास छिटो हुन्छ भन्ने भ्रम सम्प्रेषण भयो। संघीयता शीघ्र विकासको वाहक हुँदै होइन, सामाजिक मूल्यहरूको सम्बोधन पो हो। तर शीघ्र विकासका लागि भनियो। संघीय पद्धति सुस्त, विवादित र कानुनी जटिलताबाट बाँधिएको हुन्छ। शीघ्र विकास गर्ने हो भने कानुनी जटिलता हुनु हुँदैन। कानुनी जटिलताबिनाको संघीय पद्धति असम्भव छ।

तथाकथित आधुनिकता : जगबिनाको घर र संस्कृतिबिनाको समाज उस्तै हुन्। तथाकथित आधुनिकताले नेपालका समुदायले हजारौँ वर्षमा प्राप्त गरेको परम्परागत ज्ञान, संस्कृति र मान्यताको विसर्जनलाई आधुनिकता, नयाँ नेपाल र समयानुकूल भनेका छन्। नेपालको माटोमा विकसित हिन्दु, बुद्ध र किराँत सभ्यता-संस्कृति, समाज-परम्परा र व्यवस्थाहरू एकअर्काबाट एकअर्काले सिक्दै अवलम्बन गर्दै विकसित भएका हुन्।

हजारौँ बिरामीको ज्यान बचाएको डाक्टरले एउटा बिरामी मार्न पाउँछ? हजारौँ बलात्कार पीडितको उद्धार गरेको कुनै समाजसेवीले एक बलात्कार आफैँ गर्न पाउँछ? सयौँ चोर पक्रिएर कारबाही गराएको प्रहरी आफैँले चोरी गर्न पाउँछ? आज हामीलाई राजनीतिक जमातले पढाएको तर्कले भन्छ, पाउँछ। पाउनुपर्छ।

एकै जमिनमा एकै धाराको पानी पिएर, एकै गराको अन्न बाँडेर खाएका मानिसले आआफ्ना मान्यता तर सहअस्तित्वको सैद्धान्तिक आधारमा विस्तार गर्दै आएका हुन्। तर यस सहअस्तित्वलाई खण्डित गर्ने रणनीति लियो नेपालको राजनीतिले। जसलाई क्रान्तिकारी भनियो। हामी नेपालीले पनि यसको रहस्य केलाउनु भन्दा यसैलाई मानिदियौँँ, मौनम् सम्मति लक्षणम्। अर्को मूर्खता यही भयो हाम्रो।

सामाजिक सहअस्तित्व : हजारौँ वर्षको सहकार्यले स्थापित गरेका सामाजिक सहअस्तित्वका मान्यता खण्डित गरिए। यसका पछाडि भोटको राजनीति थियो। सहअस्तित्वको नागरिक ज्ञानलाई राजनीतिक स्वार्थका कारणले उपेक्षा मात्र गरिएन, अपितु त्यसलाई पुरातनपन्थ, प्रतिक्रियावाद भनियो।

क्रान्तिकारी हुने नाउँमा भिन्न संस्कृतिमा आबद्ध नागरिकले एकै चौतारो वा आँगनमा बसेर विकास गरेका सहअस्तित्वका सारभूत आदर्शजन्य मान्यताहरू उल्टाइयो र उल्टाउनुलाई नै क्रान्तिकारी, आधुनिकता र नयाँ राज्य व्यवस्था भनियो। जाडोमा न्यानो हुने दौरासुरुवाललाई प्रतिक्रियवादी पोसाक भन्ने तथाकथित क्रान्तिकारीहरू आज ३२ डिग्री सेल्सियिस गर्मीमा पनि दौरा भिरेर टोपी ढल्काउन थालेका छन्। मानिसका मूर्खता किनेर पद प्राप्त गर्ने व्यापारीहरू नै नेपालको राजनीतिमा सर्वाधिक क्रान्तिकारी मानिए। हामी मूर्खले पनि त्यही मान्यौँ।

नेताको उपचार खर्च : नेता पनि मान्छे हो। उसलाई पनि बाँच्न पाउने अधिकार छ र ऊ अन्य नागरिकको तुलनामा राजसी जीवन नै बाँचिरहेको छ। तर एउटा व्यक्तिको बाँच्ने अधिकारका लागि अन्य कति नेपालीको बाँच्ने अधिकार छिनिएको छ? सरकारले एक नेताका लागि दिने उपचार खर्चले अन्य कति नेपालीको बाँच्ने अधिकार प्राप्त हुन्थ्यो? मेरा एक आफन्तको पाँच लाख रुपैयाँमा मानव अंग प्रत्यारोपण केन्द्रमा किड्नी ट्रान्सप्लान्ट सम्पन्न भयो। हाल उहाँ स्वस्थ हुनुहुन्छ। हिसाब निकालौँ त, नेताहरूले उपचारका नाममा लिएको अर्बौँ रकमले कति नेपालीको किड्नी वा क्यान्सरको उपचार हुन सक्थ्यो? हामी नेपाली आफू  मरेर नेता बचाइरहने मुर्खतापूर्ण जीवन अबउप्रान्त कति लामो बाँच्न सक्छौँ?

जनमतको दाबी : एक करोड १० लाख मत खसेकामा २६ लाख मत प्राप्त गर्ने दलहरूले जनमत पाएको दाबी गर्छन्। सम्पूर्ण जनसंख्याको लगभग सात प्रतिशत मत पाएका राजनीतिक नेताहरू जनमतबाट जाँचिएका होइनन्। उनीहरू त्यसका लागि छानिएका हुन्- अबउप्रान्त नागरिक सम्मति लिएर राज्य प्रशासन सञ्चालन गर्न वैधानिकता प्राप्त भयो न कि वीरशमशेरको जसरी राज्य चलाउन!

पाँच वर्षमा आउने चुनावी नतिजा जग्गा रजिस्ट्रेसन गरिदिएर हक छिनिएजस्तै भएको छ। मानौँ, आउने पाँच वर्षका लागि विधायक होइन, जर्नेल छानिएको हो। चुनावमार्फत नागरिकले देशको सम्पत्तिको चेकबुक हातमा हालिदिएका हुन्। बाँकी जिम्मा चुनावमा छानिनेहरूको हो। उपचारका लागि दिल्ली जान काटियोस् वा अयोग्य लडाकुलाई दिन वा आफ्ना निजी आकांक्षा पूर्ति गर्न।

आत्मविश्वास : नेताहरू भित्रभित्र जतिसुकै कामेका भए पनि बहादुरीको उपमा आफैँलाई दिइरहेका हुन्छन्। विलक्षण ज्ञानीभन्दा मूर्खहरूको आत्मविश्वास बढी हुन्छ भन्ने कुरा राजनीतिमा प्रमाणित भएको छ। ज्ञानीहरूमा आत्मविश्वास आउन सूचक, सूचना र तथ्यले प्रमाण पुग्नुपर्छ भने अज्ञानीहरू आफ्नै अज्ञानतालाई आत्मविश्वास भन्दछन्। एउटा कुरा सत्य हो नेपाली नागरिकको नेतृत्वप्रतिको रोष भाङको नसा लागेको मान्छेले सर्प ठानेर डोरी कुटिरहेको जस्तै छ। अब नागरिकले सरकारसँग देशको सम्पत्ति कहाँ कसरी प्रयोग भयो त्यसको एक श्वेतपत्र माग्नुपर्‍यो। नत्र चिया पसलमा विरोध चलिरहन्छन्, सिंहदरबारमा प्रधानमन्त्री-मन्त्रीहरू आफन्त र आफना व्यावसायिक पार्टनरका लागि चेक काटिरहन्छन्, बैक ट्रान्सफरमार्फत पैसा दिइरहन्छन्।

सुध्रिने कुरा : हामी भन्छौँ- नेताहरू सुध्रिनुपर्छ। नेता पनि भनिरहेका छन्- हामी सुध्रिनुपर्छ, सुध्रिन्छौँ। नेता सुध्रने समय पर्खिरहेको ३० वर्ष भयो। हिंसा सुरु गर्दा पनि प्रचण्ड-बाबुरामले अब हामी सुध्रियौँ- हिंसात्मक युद्ध सुरु गर्ने भयौँ भनेका थिए। के हिंसा सुरु गर्नु मान्छे सुध्रनु हो? सुध्रनु भनेको के हो? डल्लुका डेरामा एउटा ताप्के र एक चकटी मात्र भएको सर्वहारा गएको तीस वर्षमा अर्बौँपति भएको छ। अब ऊ सानदार अपार्टमेन्टमा बसेर आलीसान जीवन भोग गरिरहनु हो वा उसको अवैध कमाइ सिज गरेर राज्यकोषमा जम्मा गरिनु हो?

व्यक्ति सुधारको एक हास्यकथा छ- सानातिना सामान चोर्ने एक चोरलाई पुलिसले समातेछ। चौकीको सब इन्स्पेक्टरले भनेछ, ‘ए चोर! तँ सुध्रिँदैनस्?’ चोरले जवाफ दिएछ, ‘सुध्रिन थालेँ म, अब पूरै सुध्रिन्छु।’ ‘कसरी सुध्रिन थालिस्,’ प्रहरीले फेरि सोधेछ। चोरले जवाफ दिएछ, ‘गत वर्ष मैले १० पटक चोरेको थिएँ, यो साल नौ पटक मात्र चोरेँ, यसरी नै चोरी घटाउँदै लगेँ भने अबको १० वर्षमा म पूरै सुध्रिसक्छु।’ प्रहरीले कानुन पल्टाएछ, कानुनमा सुध्रिन चाहनेलाई सुध्रिने मौका दिनुपर्छ, लेखिएको थियो। त्यही आशयका आधारमा चोर कस्टडीबाट मुक्त हुन्छ। हामी नेपाली नागरिक पनि त्यही गर्दैछौँ, जुन चौकीको प्रहरीले गरेको थियो। नेताहरू पनि त्यही गर्दैछन्, जुन चोरले गरेको थियो। अर्थात् एक वर्षमा एक चोरी घटाएको थियो।

प्रकाशित: १८ वैशाख २०८० १३:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =