समाजवादीनिकट युवा संघ विवाद : सदस्यसचिव राईद्वारा पद अस्वीकार

हिमाल प्रेस ११ भदौ २०८० १२:०८
4
SHARES
समाजवादीनिकट युवा संघ विवाद : सदस्यसचिव राईद्वारा पद अस्वीकार

काठमाडौँ- नेकपा एकीकृत समाजवादी निकट युवा संघमा थप विवाद उत्कर्षमा पुगेको छ।

आइतबार मात्रै विस्तार गरेको पदाधिकारीका सदस्यले एकाएक राजीनामा दिन थालेसँगै विवाद बढेको हो।

सदस्यसचिव सञ्जीप राईले पदमा नबस्ने भन्दै जिम्मेवारी अस्वीकार गरेका छन्। यसअघि उनी संगठनका उपमहासचिव र प्रवक्ता थिए।

‘युवा संघ नेपालको भाद्र १० गते सम्पन्न सचिवालय बैठकले मलाई संगठनको सदस्य–सचिव घोषण गरे पनि, म यो जिम्मेवारीमा नरहने जानकारी गर्दछु । साथै मप्रति श्रद्धा, माया र शुभेच्छा प्रकट गर्नुहुने सबै कमरेडहरूलाई विशेष धन्यवाद’, राईले सामाजिक सञ्जालमार्फत भनेका छन्।

यता उपसंयोजक नितेष पौडेलले पनि जिम्मेवारीमा नबस्ने चेतावनी दिएका छन्।

आइतबार कृष्ण विकलाई संयोजक र नितेष पौडेललाई सहसंयोजक तोक्दै पदाधिकारी बैठक सकिएको थियो। शनिबार नै नेतृत्व चयनमा असन्तुष्टी जनाउँदै दुईतिर भेला गरेका थिए।

पौडेल पक्षले बानेश्वर र शाही पक्षले कालोपुलमा भेला राखेपछि नेतृत्वले हस्तक्षेप गरेको हो । यसैबीच युवा संघका सचिव फुर्वा लामाले पार्टी नेतृत्वले गरेको पछिल्लो हस्तक्षेप आफूहरुलाई स्वीकार्य नहुने बताए।

उनले पौडेल पक्षको बहुमत हुँदाहुँदै सहसंयोजकमा सीमित गर्नु न्यायसंगत नभएको दाबी समेत गरे। युवा संघका अध्यक्ष नरेशकुमार शाहीले राजीनामा दिएपछि नयाँ नेतृत्वमा विवाद बढेको थियो।

अध्यक्ष शाही प्रदेशसभा सदस्य तथा सुदूरपश्चिम प्रदेश सरकारका अर्थमन्त्री समेत हुन्। युवा संघमा दोहोरो जिम्मेवारी नदिने नीति रहेकाले शाहीलाई पार्टीले युवा संघबाट बिदा गरेको हो।

 

 

 

 

 

प्रकाशित: ११ भदौ २०८० १२:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 1 =