पर्यटकीय सहर पोखरामा पहिलोपटक ओपन हार्ट सर्जरी

हिमाल प्रेस १ भदौ २०८० १८:२७
8
SHARES
पर्यटकीय सहर पोखरामा पहिलोपटक ओपन हार्ट सर्जरी

पोखरा- पोखराको चरक मेमोरियल हस्पिटलमा एक बिरामीको ओपन हार्ट सर्जरी गरिएको छ। निकै जटिल र खर्चिलो मानिने यो सर्जरी गण्डकी प्रदेशमै पहिलोपटक चरक मेमोरियल हस्पिटलले सुरु गरेको हो।

मनमोहन कार्डियो हस्पिटलमा कार्यरत सर्जन डा. अनिल भट्टराई, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत अर्का सर्जन डा. कृष्णप्रसाद बस्याल, डाक्टर अर्जुन गुरुङ, डा. मणिन्द्र बस्नेतलगायतको टिमले गत २६ साउनमा पोखरा-२०, भलामका ४५ वर्षीय एक बिरामी पुरुषको सफलतापूर्वक ओपन हार्ट सर्जरी गरेको हो।

ती बिरामीलाई अस्पतालले शुक्रबार डिस्चार्ज गरे पनि एकदुई दिन अझै बस्छु भनेकोले आइतबारमात्र घर फर्किने अस्पताले प्रशासनले जानकारी दिएको छ। केही वर्ष साउदी अरब बसेका ती बिरामीको मुटुको दुई वटा नसा ब्लक भएपछि सर्जरी गर्नुपरेको हो।

चरक अस्पतालले ती बिरामीको उपचारमा लाग्ने सबै खर्च निशुल्क गरेको छ। अप्रेसनमा करिब ३ घण्टा समय लागेको थियो। अस्पतालका प्रबन्ध निर्देशक कपिल पोखरेलले पछिल्लो समय सुविधा सम्पन्न बन्दै गएको चरकमा आफूहरूले चिकित्सा विज्ञानका हरेकखालका सेवासुविधा दिँदै गएको बताए।

ओपट हार्ट सर्जरी गण्डकी प्रदेशमै पहिलो पल्ट गरिएको र आगामी दिनमा पोखरामै यो सर्जरी गर्न सकिने भएकोले काठमाडौँलगायत बाहिरी मुलुक जानुपर्ने बाध्यता हटेको बताए। मुटु रोगीहरूको लागि यसअघि काठमाडौँको मनमोहन कार्डियो तथा गंगालाल हस्पिटलले यो सुविधा दिँदै आएका छन। चितवनमा पनि यो सुविधा भए पनि पर्यटकीय नगरी पोखरामा आइसकेको थिएन।

नेपालमा सन् १९९७ तिर पहिलो पल्ट ओपन हर्ट सर्जरी सुरु भएको हो। नेपालमा बर्सेनि २ हजारदेखि २५ सय वटासम्म ओपन हार्ट सर्जरीसहित करिब ६ हजार वटा मुटुका बिरामीको सर्जरी हुने गरेको डा. अनिल भट्टराईले बताए।

पछिल्लो समय अन्तर्राष्ट्रिय विमानस्थलसमेत सञ्चालनमा आए पनि अन्य ठूला सहरको तुलनामा चिकित्सा क्षेत्रमा खासै विकास गर्न नसकेको डा. भट्टराईले बताए। चरकले सर्जरी सुविधा दिन आवश्यक मेसिनसहित विभिन्न उपकरण जडानमा ३ करोड खर्च गरिसकेको बताएको छ।

पोखरा ८, नागढुंगास्थित चरक अस्पताल पछिल्लो समय सुविधा सम्पन्न बन्दै गएको चरक मेमोरियल हस्पिटल प्रालिका अध्यक्ष रामचन्द्र रेग्मीले बताए।

प्रकाशित: १ भदौ २०८० १८:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − thirteen =