भियतनामी राजदूतको ओहोदाको प्रमाणपत्र राष्ट्रपतिसमक्ष पेस, प्रधानमन्त्रीसँग भेट

हिमाल प्रेस १ भदौ २०८० १५:५७
6
SHARES
भियतनामी राजदूतको ओहोदाको प्रमाणपत्र राष्ट्रपतिसमक्ष पेस, प्रधानमन्त्रीसँग भेट

काठमाडौँ- नेपाल भ्रमणमा रहेका भियतनामी राजदूत न्गुयेन थान हाईले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन्। त्यस्तै राजदूत न्गुयेनले प्रधानमन्त्री पुष्पकमल दाहालसहित उच्चपदस्थ सरकारी अधिकारी र प्रतिपक्षी दलका नेता केपी ओलीलगायतसँग भेट गरेका छन्।

राजदूत न्गुयेनले प्रधानमन्त्री दाहालसहित सभामुख देवराज घिमिरे, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली तथा परराष्ट्रमन्त्री नारायणप्रसाद साउद र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग भेट गरेका हुन्।

राजदूत न्गुयेनले नयाँ दिल्लीस्थित दूतावासमार्फत नेपालका लागि भियतनामी राजदूतको जिम्मेवारी सम्हाल्दै आएका छन्। भेटमा राजदूत न्गुयेनले नेपाल र भियतनामबीच सिधा हवाई उडानसहित व्यापार तथा लगानी प्रवद्र्धनका लागि सहकार्य गर्ने प्रस्ताव गरे।

उनले सिधा हवाई उडानमार्फत नेपाल भ्रमण गर्न इच्छुक बुद्धमार्गी भियतनामीहरूलाई सहज हुने र नेपाली नागरिकले पनि अष्ट्रेलिया तथा युरोपको ट्राञ्जिट सुविधा पाउने धारणा राखेका थिए।

राजदूत न्गुयेनले भियतनाम भ्रमण गर्न इच्छुक नेपालीहरूका लागि काठमाडौँस्थित कन्सुलर कार्यालयबाटै भिसा जारी गर्ने प्रक्रिया अघि बढाउने तयारी भइरहेको जानकारी गराएका छन्।

दुई मुलुकबीच व्यापार, पर्यटन र लगानीका क्षेत्रमा सहकार्यको उच्च सम्भावना रहे पनि कनेक्टिभिटीको समस्या रहेको भन्दै यसको समाधानका लागि दुवै मुलुकको पहलकदमी जरुरी रहेको उनको भनाइ थियो।

राजदूत न्गुयेनसँगको भेटमा राष्ट्रपति पौडेल, प्रधानमन्त्री दाहाल लगायतले भियतनामले नेपालमा लगानी गर्नुपर्ने धारणा राखेका थिए। साथै पर्यटन प्रवद्र्धनका लागि सहकार्य आवश्यक रहेको पनि उनीहरूको भनाइ थियो।

भेटमा सहभागी भियतनामका लागि अवैतनिक वाणिज्यदूत (कन्सुलर) राजेशकाजी श्रेष्ठले व्यापार सहजीकरण र पर्यटन प्रवद्र्धनका लागि सिधा हवाई उडानको तयारी गर्ने तथा ई–भिसा लागू गर्नेसम्बन्धी विषयमा दुवै मुलुकका अधिकारीहरूबीच साझा धारणा बनेको बताए।

प्रकाशित: १ भदौ २०८० १५:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 8 =