एआईजीको सरुवा गर्न गृहमन्त्री र आईजीपीलाई कांग्रेसको दबाब, कसलाई कहाँ पठाउने चलखेल?

सन्तोष अधिकारी ३१ साउन २०८० १८:१६
2.2k
SHARES
एआईजीको सरुवा गर्न गृहमन्त्री र आईजीपीलाई कांग्रेसको दबाब, कसलाई कहाँ पठाउने चलखेल? एआईजीहरू

काठमाडौँ- बढुवा भएसँगै जिम्मेवारी तोकिएको चार महिनामै नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) सरुवाको तयारी गरिएको छ। प्रहरीका ८ एआईजीको सरुवासम्बन्धी प्रस्ताव गृह मन्त्रालयले मन्त्रिपरिषद्‌मा लैजाने तयारी गरेको हो। मंगलबार सरुवासम्बन्धी फाइल मन्त्रिपरिषद्‌मा पेस गर्ने तयारी थियो। तर अन्तिम अवस्थामा पेस गरिएन।

उपत्यका प्रहरी कार्यालयका एआईजी श्यामलाल ज्ञवाली, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका एआईजी टेकप्रसाद राई, केन्द्रीय अनुसन्धान ब्यूरोकी निर्देशक किरण बज्राचार्य र प्रशासन विभागका प्रमुख दीपक थापा २०७९ चैत २० मा पदस्थापन भएका थिए।

त्यस्तै मन्त्रिपरिषद् बैठकले २०७९ चैत २४ मा सन्दिप भण्डारी, सुदिप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङलाई पदस्थापन गर्ने निर्णय गरेको थियो।

चार महिनामै सरुवाको तयारी गरेपछि एआईजी टेकबहादुर राईले त आईजीपी वसन्तबहादुर कुँवरसँग असन्तुष्ट नै व्यक्त गरिसकेका छन्। प्रहरी नियमावलीअनुसार एआईजीको सरुवा विभागीय क्षेत्रमा इन्चार्ज भएको एक वर्षपछिमात्रै गरिन्छ। यसपटक आईजीपीलाई एआईजी सरुवाका लागि गृहमन्त्रीले पनि दबाब दिएको बताइएको छ।

प्रहरीभित्र भने अहिलेको सरुवाको कुराले असन्तुष्टि चुलिएको छ। ‘एआईजी सापले त आईजी सापसँग यसबारे फोनमा कुरा गरेर आपत्ति जनाइसक्नु भएको छ,’ प्रहरी उच्च अधिकारी भन्छन्, ‘प्रहरीले अहिले अपराध अनुसन्धानमा ध्यान दिनुपर्ने समय छ। यो सरुवाको समय होइन भनेर उहाँले भन्नुभएको हो।’ राईले आईजीपी कुँवरलाई राजनीतिक दबाबमा नपर्न सुझाव पनि दिएको बताइएको छ।

राईलाई प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट हटाएर उनको ठाउँमा उपत्यका प्रहरी कार्यालयमा रहेका श्यामलाल ज्ञवालीलाई लैजान खोजिएको छ। उपत्यका प्रहरी कार्यालयमा प्रहरीको प्रशासन विभागमा रहेका दीपक थापालाई लैजान लागिएको र यसका लागि थापा आफैँ पनि ‘लबिङ’मा छन्।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइएको प्रकरणको अनुसन्धानको नेतृत्व गरिरहेका ज्ञवालीलाई सरुवा गर्न कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री नारायणकाजी श्रेष्ठ र आईजीपी कुँवरलाई दबाब दिएको छ। शरणार्थी प्रकरणको अनुसन्धानलाई दोस्रो चरणमा पनि अघि बढाउने तयारी गरिरहेको प्रहरीलाई राजनीतिक नेतृत्वले दबाब दिइरहेको छ।

पछिल्लो समय एआईजीहरूको सरुवाका लागि सत्ता साझेदार दल नेपाली कांग्रेसको नेतृत्व सक्रिय छ। यस पटकको एआईजीको सरुवाको तयारी भने नेपाली कांग्रेसकै कारणले गरिएको हो। ‘ज्ञवालीको मात्रै सरुवा निकाल्दा राम्रो सन्देश नजाने भयो,’ प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो, ‘बाहिर सन्देश नराम्रो नजाओस् भन्नकै लागि पनि अरू केहीको जिम्मेवारी हेरफेर तथा सरुवाको तयारी गरिएको छ।’

त्यसो त उपत्यका प्रहरी कार्यालयमा थापालाई लैजान कांग्रेसमात्रै होइन माओवादी पनि सकारात्मक छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को नेतृत्व गरिरहेकी एआईजी किरण बज्राचार्यलाई प्रहरी प्रधान कार्यालय ल्याएर उनको ठाउँमा प्रदेश प्रहरी समन्वय विभागका एआईजी सुदीप गिरीलाई पठाउने तयारी गरिएको छ। यसका लागि पनि नेपाली कांग्रेसले नै विभागीय मन्त्री श्रेष्ठलाई दबाब दिएको छ।

नक्कली सुन प्रकरण र ललिता निवास जग्गा प्रकरणको अनुसन्धान बज्राचार्यकै नेतृत्वमा भइरहेको छ। ललिता निवास प्रकरणमा आफ्ना पार्टीका नेताहरू पनि जोडिएपछि कांग्रेस उनलाई यहाँबाट फेर्न चाहन्छ।

कांग्रेसले त नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा आफ्ना सांसद सुनिल शर्मालाई पक्राउ गरेको भन्दै बज्राचार्यको कार्यशैलीमाथि नै प्रश्न उठाएको छ। त्यस्तै कांग्रेसले नक्कली डाक्टर पक्राउ गर्नुपर्नेमा सक्कली डाक्टरलाई पक्राउ गरेको कारण पनि देखाएर ब्रजाचार्यलाई सरुवा गर्न दबाब बढाइरहेको छ।

गृहको उच्च स्रोतले पनि कांग्रेसले एआईजी फेर्नका लागि चर्को दबाब दिइरहेको बतायो। ‘गृह प्रशासनलाई पछिल्लो भ्रष्टाचार, तस्करीको प्रकरणमा असफल गराउने उद्देश्यले राजनीतिक शक्तिहरू लागिरहेका छन्, ‘ स्रोतले भन्यो, ‘त्यसैको लागि अहिले विभिन्न गम्भीर प्रकृतिका घटनाको अनुसन्धान नेतृत्व गरिरहेका प्रहरीका हाकिमलाई सरुवा गराउन दबाब दिइएको छ।’

प्रकाशित: ३१ साउन २०८० १८:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 5 =