मुग्लिन-पोखरा सडक विस्तार : हिलो र धुलोले बढायो सास्ती

हिमाल प्रेस ३० साउन २०८० १६:३५
6
SHARES
मुग्लिन-पोखरा सडक विस्तार : हिलो र धुलोले बढायो सास्ती

काठमाडौँ- गण्डकी प्रदेशको मुग्लिन–पोखरा सडक विस्तार योजना कार्यान्वयनमा ढिलाइ हुँदा पर्यटन क्षेत्रमा असर परेको छ। सडक निर्माणको कामले गति लिन नसक्दा समग्र गण्डकी प्रदेशकै पर्यटन क्षेत्रमा असर पुगेको र यसले पर्यटकको आगमन पनि घटाएको सम्बद्ध व्यवसायीहरूको गुनासो छ।

सडक आयोजनाको काम सुस्त गतिमा चलिरहँदा नेपाली अर्थतन्त्रको महत्वपूर्ण आधार मानिएको पर्यटन र उद्योग वाणिज्य क्षेत्रमा पनि असर परेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए।

काठमाडौं वा नारायणगढ हुँदै पोखरासम्म यात्रा गर्न चाहने पर्यटकले सिंगो दिन खर्चिनुपर्ने अवस्था सिर्जना भएको उल्लेख गर्दै उनले भने, ‘काठमाडौं पोखराबीचको पाँचदेखि छ घण्टा लामो बसयात्राका लागि अहिले १२ घण्टासम्म लाग्ने गरेको छ। यसले गर्दा पोखरा र वरपरको पर्यटनमा नराम्रो असर परेको छ।’

भूकम्प र नाकाबन्दीपछि कोभिड–१९ को मार खेपेको पर्यटन र उद्योग वाणिज्य क्षेत्रका लागि पहुँचमार्गको यो अवरोध अर्को अभिशाप बन्न पुगेको अध्यक्ष श्रेष्ठको भनाइ थियो।

नेपालका दुई ठूला सहर काठमाडौँ र पोखरा जोड्ने पृथ्वीराजमार्गअन्तर्गतको उक्त खण्डलाई कम्तीमा चार लेन बनाउने कार्य महत्वपूर्ण र सराहनीय रहे पनि जुन गति र स्तरमा हुनुपर्थ्यो त्यो नभएको उनले बताए। मुग्लिन–पोखरा सडकखण्डको कामको ढिलाइका कारण बन्दीपुरको पर्यटन व्यवसायमा असर पुगेको बन्दीपुरस्थित क्षेत्रीय होटल सङ्घका सभापति संगीता प्रधानको भनाइ थियो।

उनले भने, ‘चितवनबाट आउने पर्यटक मुग्लिनबाटै काठमाडौँ फर्किन्छन्। बाटोकै कारण बन्दीपुरमा पर्यटकको आगमन घटेकाले यहाँका व्यवसायी मारमा परेका छन्।’

धुलाम्ये र हिलाम्ये बाटोका कारण पर्यटक बन्दीपुर उक्लिन गाह्रो मान्ने गरेको उल्लेख गर्दै सभापति प्रधानले पोखरा आएका पर्यटक सडकमार्गभन्दा हवाइमार्गबाट काठमाडौं जाने गरेको बताए।

उनले भने, ‘सडक राम्रो हुन्थ्यो भने बन्दीपुर आएर एकरात भए पनि पर्यटक बस्ने अवस्था थियो। बन्दीपुरको मुख्य व्यवसाय होटल पर्यटन भए पनि अहिले हामी मारमा छौँ।’

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले सडकको काम सुस्त हुँदा यसले अर्थतन्त्रमा असर गरेको बताए। उनले भने, ‘चीनका ठेकेदारले समयमै काम सम्पन्न गर्छन् भन्ने विश्वास थियो तर अहिले परिस्थिति फरक छ। कामको गति सुस्त छ। पर्यटन पाँच वर्षपछि परिसक्यो।’

काम ढिला गर्नु नेपालको विकासलाई घात गरेको हुने भन्दै उनले केही समस्या भए अवगत गराएर समाधान गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिए। मुग्लिन–पोखरा सडक आयोजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णुप्रसाद पाण्डेले यो खण्डमा भइरहेको काम सन्तोषजनक रहेको बताए। उनका अनुसार हालसम्म ३२ दशमलव पाँच प्रतिशत भौतिक प्रगति भएको छ।

इन्जिनियर पाण्डेले भने, ‘कोभिड–१९ का कारण सुरुमा ढिलाइ भयो, पछि बिजुली पोल स्थानान्तरणले पनि समस्या बनायो तर गत वर्षको दसैँदेखि हालसम्मको कामको गति हेर्दा सन्तोषजनक पाएका छौँ।’ असार साउनमा वर्षाका कारण काम सुस्त देखिए पनि भदौदेखि कामले तीब्रता पाउने उनको भनाइ थियो।

निर्माण कम्पनीका इन्जिनियर जनार्दन भण्डारीका अनुसार उक्त खण्डमा १४ वटा साना पुल सम्पन्न भइसकेका छन् भने तीनवटा निर्माणको चरणमा छन्। बजार क्षेत्रमा छ लेन र अन्यत्र चार लेन सडक बनाउने योजना छ।

मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो। ४१दशलव ४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ। पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ। यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ।

विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारी साधनको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो। पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ।

पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो। यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ। यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ।

चार लेनको सडक बन्दा सीमा दुईतर्फी २५/२५ मिटर हुनेछ। बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडा सडक बन्नेछ। डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ। दुलेगौडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ। रासस

प्रकाशित: ३० साउन २०८० १६:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − fourteen =