उद्योग व्यवसायमा लगानीको विश्वासिलो वातावरण बनाउँछौँ : प्रधानमन्त्री

हिमाल प्रेस २९ साउन २०८० २०:५२
8
SHARES
उद्योग व्यवसायमा लगानीको विश्वासिलो वातावरण बनाउँछौँ : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्योगी तथा व्यवसायीमा सरकारका तर्फबाट लगानीका लागि विश्वासको वातावरण बनाउने बताएका छन्। प्रधानमन्त्रीले उद्योग व्यवसायको प्रवर्द्धनका लागि विश्वासिलो वातावरण बनाउन सरकारका तर्फबाट आवश्यक पहल लिने र आवश्यक निर्णयसमेत गरिने स्पष्ट पारे।

उद्योगी व्यवसायीका तीनवटा छाता संगठनका पदाधिकारीसँग आज (सोमबार) आयोजित छलफलमा उनले व्यावसायिक वातावरण बनाउन र निजी क्षेत्रले उठाएका माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए।

उनका अनुसार सो अवसरमा प्रधानमन्त्री प्रचण्डले जग्गा कित्ताकाटका सम्बन्धमा समेत मंगलबार आवश्यक निर्णय लिइने बताए। सरकारले यसअघि नै जग्गा कित्ताकाट खुलाउने निर्णय गरेको थियो। यद्यपि केही प्राविधिक जटिलताका कारण भन्दै सो निर्णय कार्यान्वयन हुन सकेको थिएन।

आजको भेटमा प्रधानमन्त्री दाहालले जग्गामा कित्ताकाट खुलाउने यसअघिको निर्णय तत्काल कार्यान्वयनमा जाने बताए। अर्थतन्त्र चलायमान गराउने ध्येयका साथ मन्त्रिपरिषद्ले यसअघि नै कित्ताकाट खुलाउने निर्णय गरेको भए पनि कार्यान्वयनमा जान सकेको थिएन। अध्यक्ष ढकालका अनुसार प्रधानमन्त्री दाहालले जग्गा कित्ताकाटलगायत अन्य विषयसमेत कार्यान्वयनमा जाने बताएका थिए। निजी क्षेत्रलाई साथमा लिएर नै आर्थिक समृद्धिको यात्रामा अगाडि बढ्ने विश्वास दिलाउँदै प्रधानमन्त्री दाहालले अर्थतन्त्र चलायमान बनाउन सरकारले ठोस कदम चाल्ने बताए।

विभागीय मन्त्री, सरकारी अधिकारी र निजी क्षेत्रका प्रतिनिधिबीचको संयुक्त बैठकमा प्रधानमन्त्री दाहालले अर्थतन्त्रमा क्रमशः सुधार आए पनि जनतामा विश्वास जाग्ने गरी सुधार ल्याउन अर्थतन्त्र चलायमान बनाउन अनिवार्य रहेको बताएका थिए।

‘अर्थतन्त्रमा क्रमशः सुधार आएको छ। रेमिट्यान्स बढेको छ, पर्यटक आगमन वृद्धि भएको छ, राजस्व संकलनमा पनि सुधार आएको देखिन्छ,’ उनले भने, ‘तर जनतामा आशा जाग्ने गरी, व्यवसायीमा आत्मविश्वास पैदा हुने गरी अर्थतन्त्रमा गुणात्मक सुधार आउन सकेको छैन। यसको खास कारण के हो, यसबारे सरकार र निजी क्षेत्र दुवै पक्षले गहन अध्ययन गरौँ र जेजे गर्नुपर्छ गरेर अर्थतन्त्र चलायमान बनाऔँ।’

निजी क्षेत्रलाई विश्वासमा नलिईकन, सहकार्य नगरीकन अर्थतन्त्रमा सुधार ल्याउन सकिन्न भन्नेमा आफू स्पष्ट रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, ‘अर्थतन्त्र चलायमान गराउन मैले र प्रधानमन्त्री कार्यालयको तर्फबाट जेजे भूमिका खेल्नुपर्ने हो, त्यो भूमिका म खेल्छु। अर्थ मन्त्रालय र राष्ट्र बैंकले पनि आफ्नो तर्फबाट भूमिका खेल्नूस्। यहाँ हामी कोही सरकार, कोही निजी क्षेत्र छैनौँ, सबै नेपाली छौँ। देश अप्ठ्यारोमा पर्‍यो भने हामी सबै अप्ठ्यारोमा पर्छौं।’

छलफलमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले अर्थतन्त्र चलायमान गराउन प्रधानमन्त्री अत्यन्तै गम्भीर भएको आफूले पाएको बताउँदै सरकारका सबै अंगले सरकारलाई साथ दिनुपर्ने बताए।

छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले अर्थतन्त्र चलायमान बनाउन सरकारले खेलेको भूमिका सकारात्मक रहेको र समष्टिगत आर्थिक परिसूचकहरूमा सुधार आएको बताउँदै खुकुलो मौद्रिक नीति, लगानीमैत्री वातावरण र देशमा सकारात्मक सन्देश प्रवाहका निम्ति केही ठोस निर्णयहरू लिन सरकारको ध्यानाकर्षण गराएका थिए।

प्रधानमन्त्री दाहालले आयोजना गरेको छलफलमा उपप्रधानमन्त्री खड्का, अर्थमन्त्री डा. प्रकाशशरण महत, नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्याल, गभर्नर महाप्रसाद अधिकारी, अर्थसचिव अर्जुन पोखरेल लगायतको सहभागिता थियो। – रासस

औद्योगिक करिडोरमा दैनिक २० पटकसम्म विद्युत् कटौती, प्रधानमन्त्रीसँग निजी क्षेत्रले गर्‍याे गुनासाे

प्रकाशित: २९ साउन २०८० २०:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 3 =