एक महिना टिकेन कालोपत्रे

हिमाल प्रेस २९ साउन २०८० १४:१९
8
SHARES
एक महिना टिकेन कालोपत्रे

पोखरा- पोखरा महानगरपालिका–९ सहारा टोलमा असारको अन्त्यतिर गरिएको कालोपत्रे महिना दिनमै उप्किएको छ।

पृथ्वी राजमार्गबाट ट्राफिक कार्यालय हुँदै नयाँबजार निस्कने सडक कालोपत्रे गरिएको महिनामै भत्कन सुरु गरेको हो। कालोपत्रे उप्किएपछि ठाउँठाउँमा खाल्डाखुल्डी परेका छन्।

स्थानीय बेलकुमारी रानाभाटले कालोपत्रे भत्किएपछि सवारी र पैदल यात्रुलाई आउजाउ गर्न समस्या भएको बताइन्। ‘एक महिना पनि कालोपत्रे टिकेन, खाल्डाखुल्डी परेर पानी जमेको छ,’ उनले भनिन्, ‘यस्तो गुणस्तरहीन काम गर्नेलाई कारबाही किन हुँदैन।’ रानाभाटले कालोपत्रेको सतह नमिल्दा वर्षातको पानी घरभित्र छिर्ने गरेको सुनाइन्।

गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको १० लाख बजेटबाट ८० मिटर सडक कालोपत्र गरिएको थियो। पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले सडक कालोपत्र गर्दा प्राविधिक अनुगमन नपुगेको स्वीकार गरेका छन्। ‘वर्षाका बेला हतारहतार कालोपत्र गर्दा हुने नै यही हो, असारे विकासको प्रवृत्ति बेठिक छ,’ उनले भने, ‘निर्माणमा लापरबाही भएको देखिन्छ, यसमा सम्बन्धित मन्त्रालयको ध्यान पुगोस्।’

उपभोक्ता समिति बनाएर सडक कालोपत्र गरिएको थियो। निर्माणको भुक्तानी पनि भइसकेको छ।

पूर्वाधार विकास कार्यालय कास्कीका सूचना अधिकारी इन्जिनियर अनुप थापाले वर्षाका कारण कालोपत्रे ‘सेट’ हुन नसकेको बताए। ‘निर्माणका क्रममा अनुगमन गर्दा लापरबाही भएको देखिएको थिएन, यो विषयमा उपभोक्ता समिति र निर्माण व्यवसायीलाई राखेर कुरा गर्छौँ,’ उनले भने, ‘कमजोरी गरेको भेटिएका कारबाही प्रक्रिया अगाडि बढ्छ।’ थापाले वर्षात कम भएपछि सडक मर्मतको काम गरिने बताए। – रासस

प्रकाशित: २९ साउन २०८० १४:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − six =