लाखाैँ लगानीमा जडित भेन्टिलेटर प्रयाेगविहीन

हिमाल प्रेस २८ साउन २०८० १६:०८
4
SHARES
लाखाैँ लगानीमा जडित भेन्टिलेटर प्रयाेगविहीन

दैलेख- कोरोना संक्रमणको दर तीव्र गतिमा फैलिएका बेला दैलेखमा जटिल खालका बिरामीको उपचारका लागि सघन उपचार केन्द्रमा जडान गरिएका भेन्टिलेटर प्रयाेगिवहीन भएर थन्किएका छन्।

लाखौँ रकम खर्च गरी जडान गरिएका पाँच आईसीयू शय्यामध्ये दुई आईसीयू शय्या अहिलेसम्म प्रयोगमा नआइ थन्किएका हुन्। आईसीयू र भेन्टिलेटर कक्षको व्यवस्थापछि जटिल खालको उपचार जिल्लामै हुने आशामा रहेका यहाँका नागरिक अहिले पनि जटिल खालका रोगको उपचार गर्न बाहिर जानुपर्ने बाध्यतामा छन्।

लाखौँ रकम खर्चेर ल्याइएको आईसीयू र भेन्टिलेटर भौतिक संरचना तथा बजेट अभाव देखाउँदै चार वर्षदेखि थन्क्याइएको हाे। तत्कालीन स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा नीरञ्जन पन्तका पालामा २०७७ वैशाखमा भेन्टिलेटर र आईसीयूका लागि उपकरण खरिद गरिए पनि अहिलेसम्म प्रयोगमा नआइ थन्किएको हो।

हाल स्वास्थ्य सेवा कार्यालयमा निमित्त स्वास्थ्य व्यवस्थापक डा धर्मराज रेग्मीले यही जनशक्तिले भेन्टिलेटर सञ्चालनमा ल्याउन नसक्ने बताए। ‘यस कार्यालयमा सात विशेषज्ञ चिकित्सकको दरबन्दी खाली रहेको र दरबन्दीअनुसार एक जना पनि विशेषज्ञ चिकित्सक छैनन्,’ उनले भने।

हाल अस्पतालमा ६१ कर्मचारीको दरबन्दी रहेकामा २६ कर्मचारीको पद रिक्त छ। जिल्ला अस्पतालमा हाल कार्यरत ९ मेडिकल अधिकृतमध्ये दुईजनामात्रै स्थायी रहेको बताइएकाे छ। अन्य आठ जना मेडिकल अधिकृत छात्रवृत्ति र करारका रहेका निमित्त स्वास्थ्य व्यवस्थापक रेग्मीले बताए। ‘स्वास्थ्य सेवा कार्यालयमा उपचार गर्न आउने अधिकांश बिरामी श्वासप्रश्वासको समस्याका हुन्छन्। हामीसँग भएको अक्सिजनको माध्यमबाट उपचार त गर्छौँ तर बचाउन निकै समस्या भएको छ। भेन्टिलेटर भए पनि चलाउने दक्ष जनशक्तिको समस्या छ,’ उनले भने।

उक्त कार्यालयमा श्वासप्रश्वासको समस्या भएका बिरामीलाई सामान्य अक्सिजनको भरमा उपचार गरिँदै आइए पनि जटिल खालका बिरामी भने प्रभावकारी उपचार नपाउने अवस्ता छ। रासस

प्रकाशित: २८ साउन २०८० १६:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − four =