सिम्रन परियारको जादुमयी स्वर, पहिलो गीत ट्रेन्डिङ वानमा

विजय नेपाल २८ साउन २०८० ६:१३
132
SHARES
सिम्रन परियारको जादुमयी स्वर, पहिलो गीत ट्रेन्डिङ वानमा

पोखरा- जादुमयी स्वरमा गीत गाएर भाइरल बागलुङकी सिम्रन परियारको यतिखेर सामाजिक सञ्जालमा व्यापक खोजी छ। केही दिनअघिसम्म गाउँघरमै सीमित सिम्रनको पहिलो रेकर्ड गीत ट्रेन्डिङ वानमा उक्लिएसँगै उनी झनै चर्चामा छिन्।

गायक प्रमोद खरेलको स्वरको ‘उसलाई पाउन २’ को फिमेल भर्सन शुक्रबार सार्वजनिक भएको थियो। सुनिल बीसी युट्युब च्यानलबाट सार्वजनिक उक्त गीत राम्रो भ्युजका कारण ट्रेन्डिङ वानमा पुगेको हो। यो गीत शनिबार रातिसम्म झण्डै ९ लाखले हेरिसकेका छन्।

गाउँदेखि काठमाडौँको मारुनी डिजिटल स्टुडियोमा गीत रेकर्ड गराउने चाँजोपाँजो मेचीकाली खबरका सञ्चालक भोजराज थापाले मिलाइदिएका थिए। थापा सिम्रनको अन्तर्वार्ताका लागि केही दिनअघि बागलुङ पुगेका थिए।

विकास प्रसाईंको भिडियोमा एरेन्ज विशाल निरौलाले गरेका छन्। कम्पोजर सुनिल बीसी आफैँले गीत लेखेका हुन्। आफ्नो स्वरको फिमेल भर्सनमा देखिएकी सिम्रनलाई गायक प्रमोदले शुभकामना दिँदै सफल सांगीतिक यात्राको कामना गरे। उनले सिम्रनलाई म्युजिक क्लास ज्वाइन गर्न र पढाइ नबिगार्न आग्रह गरे। प्रमोदका फ्यान भएको बताउँदै सिम्रनले उनकै गीत पहिलोपल्ट रेकर्ड गर्न पाएकोमा खुसी व्यक्त गरिन्।

सिम्रनले गाएको अर्को गीत ‘मुटुमै घाउ छ’ शनिबार रिलिज भएको छ। श्रीधर अधिकारीको संगीतसँगै निर्देशनमा डा. विष्णुमूर्ति भट्टराईको शब्दको उक्त गीत श्रीधर अधिकारी युट्युब च्यानलमार्फत सार्वजनिक भको हो। सिम्रनलाई यतिबेला टेलिसिरियलसँगै विभिन्न गीतका लागि अफर आएको बताइएको छ।

स्कुलमा पढ्दा विभिन्न प्रतियोगितामा भाग लिई पुरस्कार जित्न सफल उनी केही वर्षअघिको बागलुङ गाइज स्टारमा प्रथम भएकी थिइन्। बागलुङ नगरपालिका वडा ६, लङगाँउस्थित तीनतलेकी सिम्रन विद्यामन्दिर मावि कक्षा १२ मा पढ्दै छिन्। सोम परियार र मनीषा परियारकी सुपुत्री उनी निम्न आय भएको परिवारमा हुर्किएकी हुन्। उनका बाबु रोजगारीका लागि विदेशमा छन्।

१८ वर्षीया सिम्रनको जादुमयी स्वरले अहिले सबैलाई मोहित बनाएको छ। सानैदेखि गीत गाउन भनेपछि हुरुक्कै हुने उनी खाली समयमा गीत गुनगुनाउने गरेको साथीभाइ बताउँछन्। उनलाई अझ आधुनिक गीत गाउन बढी मन पर्छ। भविष्यमा सफल गायिका बन्ने लक्ष्य रहेको सिम्रन सुनाउँछिन्।

 

प्रकाशित: २८ साउन २०८० ६:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − six =