पोखराका सालिक व्यवस्थापन एक महिनाभित्र

हिमाल प्रेस २६ साउन २०८० १८:५०
18
SHARES
पोखराका सालिक व्यवस्थापन एक महिनाभित्र

पोखरा- अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाउनेक्रममा र्‍यालीका सहभागीले पोखरा पृथ्वीचोक (लखनचोक) स्थित पृथ्वीनारायण शाहको तस्बिर जबर्जस्ती हटाए। यहाँको मुख्यचोकमध्येको एक पृथ्वीचोकमा सालिक विषयमा बेलाबेलामा विवाद चर्किदै नगएको होइन। किनकि यहाँ विगतमा नेपालका प्रथम सहिद लखन थापा र नेपाल एकीकरणका सूत्रधार पृथ्वीनारायण शाह दुवैको सालिक राखिएको थियो।

जनआन्दोलन–२ अघि पृथ्वीनारायण शाहकै सालिक रहेकोमा गणतन्त्र स्थापनासँगै उनको सालिक माओवादी समूहले फुटाएको थियो। पछि मगर समुदायले उक्त स्थानमा सहिद लखन थापाको सालिक स्थापित गरे। तर राजावादी एवं विश्व हिन्दू समुदायले सहिद लखन थापाको सालिकको मुनि पृथ्वीनारायणकै तस्बिर राखेर पुनर्स्थापित  गरेकोमा अहिले जनजाति समुदायले हटाएका हुन्।

यी र यस्तै विवादका कारण पोखरा महानगरपालिकाले तत्कालीन मेयर मानबहादुर जिसीको पालामा पोखरा १८, विभूति पार्कमा यहाँको चोकचोकमा रहेका विभिन्न व्यक्तिहरूको सालिक स्थानान्तरण गरेको थियो।

पछिल्लो विवाद चर्किंदै गएपछि महानगरमा शुक्रबार बसेको सर्वपक्षीय बैठकले आगामी एक महिनाभित्र महानगरभित्रका सबै सालिकहरूको व्यवस्थापन गर्ने निर्णय गरेको छ। महानगर प्रमुख प्रमुख धनराज आचार्यको अध्यक्षतामा बसेको बैठकले सडकमा रहेका सालिकहरू महानगरमा क्रियाशील राजनीतिक दलहरू, सरकारी निकाय तथा सरोकारवाला संघसंस्थाहरूसँग आवश्यक समन्वय गरी एक महिनाभित्र स्थानान्तरण व्यवस्थापन गर्ने निर्णय गरेको हो।

बैठकले सहिद लखन थापाको सालिक अगाडि राखिएको राष्ट्रिय विभूति पृथ्वीनारायण शाहको तस्बिरलाई पोखरा महानगरपालिकामा सुरक्षित साथ राख्ने निर्णयसमेत गरेको छ।

पोखराका चोकहरूमा रहेका सालिकहरूको स–सम्मान व्यवस्थापन गर्ने सम्बन्धमा महानगरपालिका प्रतिबद्ध रहेको प्रमुख आचार्यले बताए। उनले भने, ‘अहिले पोखराको ट्राफिक व्यवस्थापन समेत अरू कुरालाई ध्यान दिँदै अब सडकका बिचहरूमा सालिक राख्न सक्ने अवस्था छैन। यस सम्बन्धमा सम्बन्धित सरोकारवालाहरूसँग छलफल गरेर, आवश्यक प्रक्रिया पूरा गरेर सडकमा रहेका सबै सालिकहरूको व्यवस्थापन छिट्टै गर्नुपर्नेछ।’

कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले राष्ट्रिय विभूतिहरूको सालिक सडकमा राख्नु भन्दा पनि व्यवस्थित ढङ्गले महानगरले व्यवस्था गरेको स्थानमा राख्नु नै उपयुक्त हुने बताए। विवादको शान्तिपूर्ण समाधानमा जोड दिँदै उनले क्षणिक रूपमा सडकमा सालिक राख्ने विषयको वकालत गर्नु उपयुक्त नहुने बताए। राष्ट्रले मानेका व्यक्तिहरूको सम्मान गर्नु नागरिकको दायित्व हुने भएकाले ती सम्मानित व्यक्तिहरूको सालिकहरू व्यवस्थापनको विषयलाई स्वार्थसँग जोड्न नहुने बताए।

बैठकमा सहभागी दलका प्रमुख तथा प्रतिनिधिले सडकमा रहेका सालिकको उचित व्यवस्थापनमा ऐक्यबद्धता प्रकट गरेका छन्। सडकको बिचमा सालिक राख्दैमा उनीहरूको योगदानको सम्मान नहुने भन्दै एकीकृत रूपमा सबै सम्मानित व्यक्तिहरूको प्रतिमा व्यवस्थापनमा दलहरूले जोड दिए। सरोकारवाला संघसंस्थाका प्रतिनिधिहरूले सालिकको विषय साझा अपनत्वरूपमा सम्मानजनक व्यवस्थापन हुनु आवश्यक रहेको बताए।

पोखराको व्यस्त बजार चिप्लेढुंगास्थित बीपी चोकमा अझै पनि बीपी कोइरालाको सालिक छ भने अमरसिंहचोक, बिरौटालगायत चोकमा पनि सालिक हटेका छैनन्।

प्रकाशित: २६ साउन २०८० १८:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =