नोबेल हस्पिटल : इमर्जेन्सी कक्षको फार्मेसीमा पाइन्न पिउने पानी

विवेक विवश रेग्मी २६ साउन २०८० ११:५७
48
SHARES
नोबेल हस्पिटल : इमर्जेन्सी कक्षको फार्मेसीमा पाइन्न पिउने पानी विराटनगरस्थित नोवेल शिक्षण अस्पताल।

इटहरी- प्रतिनिधिसभा सदस्य डा. सुनिल शर्मा पक्राउ परेपछि उनको विगतबारे चासाे बढेको छ। प्रत्यक्ष निर्वाचित यी सांसद मेडिकल व्यवसाय पृष्ठभूमिका हुन्। उनी विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक हुन् भने काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज र पिपुल्स डेन्टल कलेजका पनि उनको लगानी छ।

राजनीतिमा प्रत्यक्ष स‌ंलग्नता भने २०७४ पछि हो। २०७४ सालको प्रतिनिधिसभा सदस्य चुनावमा मोरङ ३ बाट तत्कालीन वाम गठबन्धनका भानुभक्त ढकालसँग १९०६ मतले हारेका शर्माले २०७९ कको चुनावमा उनै ढकाललाई २२ हजार ७३६ मतले हराएर पहिलोपटक संसद् प्रवेश गरेका हुन्।

सांसद हुनुअघि नै उनको शैक्षिक प्रमाणपत्र नक्कली  विषयमा अनुसन्धान अघि बढे पनि केही वर्ष रोकिएको थियो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पछिल्लोपटक जारी गरेको ‘अपरेसन क्वाक’ बाट भने शर्मा बच्न सकेनन्।

शैक्षिक प्रमाणपत्रमा विवादित शर्मा अस्पतालमा गुणस्तरीय सेवा प्रवाह नगरेको भनेर पनि विवादित बन्दै आएका छन्। विराटनगरस्थित नोबेल अस्पतालको हालत उस्तै छ। न त्यहाँ गुणस्तरीय सेवा छ। न उपचारमा चिकित्सकको ध्यान छ। यतिसम्म कि उनको अस्पतालमा पिउने पानी पनि नभएको विषय पछिल्लो समय बाहिरिएको छ।

‘पहिलेपहिले इमर्जेन्सीमा आउँदा पानी पाइन्थ्यो। यसपटक भने नपाउँदाखेरी निकै समस्या भयो,’ बाबुको उपचारका लागि अस्पताल पुगेकी चन्द्रकला सुवेदीले भनिन्, ‘अस्पतालको इमर्जेन्सीजस्तो संवेदनशील ठाउँमै पानी नपाउँदा निकै समस्या भयो।’

स्वास्थ्यकर्मीले लेखेको दबाई र पानी किन्न छुट्टाछुट्टै ठाउँमा जानुपर्दा समस्या भएको उनले बताइन्। उनले भनिन्, ‘इमर्जेन्सीमा ल्याएको बिरामीका लागि दबाई एकातिर र पानी किन्न एकातिर जानुपर्दा  निकै कठिन हुँदो रहेछ।’

इमर्जेन्सीमा आउने बिरामीहरू कोही बेहोस भएका, कोही दुर्घटनामा परेका, कोही विष सेवन गरेका, कोही विभिन्न रोगका कारण सिकिस्त हुन्छन्। अस्पतालको इमर्जेन्सीमा आएपछि बिरामी कुरुवाहरू भेउ नै पाउँदैनन्।

घरी सेक्युरिटी गार्डले यताउता जानु भन्ने घरी स्वास्थ्यकर्मीले भनेको औषधि लिन पुग्नुपर्ने समस्या त छँदैछ। पानीसमेत नपाउँदाको पीडा सयौँ कुरुवामा छ। सुवेदी भन्छिन्, ‘बिरामीको समस्या एकातिर छ, पानी नपाउँदाको समस्या अर्कोतिर। व्यक्त गरौँ, कसलाई गरौँ। नगरौँ, समस्याले गाँजेको छ।’

नोबेल अस्पतालमा सस्तो र बिमासमेत हुने भएको भन्दै यहाँ दैनिक हजारौँ बिरामी आउँछन्। इमर्जेन्सी कक्ष नजिकै रहेको सुस्वास्थ्य फार्मेसीमा पिउने पानी नपाइँदा गेटबाहिर किन्न जानुपरेको अर्की बिरामी कुरुवा कला पराजुलीले बताइन्।

‘इमर्जेन्सीमा आउँदा पानी बोक्न पाइँदैन। एम्बुलेन्समा तीव्र गतिमा आउँदा किन्ने कुरै भएन,’ उनको दुःखेसो छ, ‘अब यहाँ आउँदा पानी पनि पाइँदैन। बिरामी कुरुवा छाडेर गेटबाहिरसम्म जानुपर्दा  समस्या हुन्छ।’

उनले आँफूलाई सुरुमा थाहा नहुँदा गेटबाहिरैबाट पानी किन्नुपरेपनि अहिलेभने इमर्जेन्सीबाट ओपीडी कक्षतिर जाने ठाउँनजिकैको सु–स्वास्थ्य फार्मेसीबाट पानी किनेको बताए ।

इमर्जेन्सी कक्ष नजिकैको सुस्वास्थ्य फार्मेसीका कर्मचारी भने पानी भर्खरै सकिएको भन्दै पन्छिए।

‘पानी किन नपाइएको होला?’ भन्ने बिरामी कुरुवाको जिज्ञासामा उनीहरूको जवाफ छ, ‘अहिले सकिएको छ। अरूतिरै जानू।’  गेटबाहिर बसेका व्यापारीले एक लिटरको २५ देखि ३० रुपैयाँसम्म लिने गरेका छन्। बिरामी कुरुवा गोविन्द सुवेदीले भने, ‘इमर्जेन्सीमा पानी पाइँदैन। मैले बिलिङ काउन्टरनजिकैको फार्मेसीबाट लिएर आएँ।’

अस्पतालका व्यवस्थापक नारायण दाहालले पानी सकिएको विषयमा आफू जानकार नरहेको बताए। उनले भने, ‘पानी नै जाबो त जहाँबाट किन्दा पनि भइहाल्छ नि!’ दाहालले पानी सकिएको विषयमा आफूले बुझेर समस्या भए चाँडै समाधान गर्ने बताए।

प्रकाशित: २६ साउन २०८० ११:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 6 =