नारायणगढ–बुटवल सडक खण्डको म्याद एक वर्ष थप

हिमाल प्रेस २४ साउन २०८० १७:१६
16
SHARES
नारायणगढ–बुटवल सडक खण्डको म्याद एक वर्ष थप

काठमाडौँ– सुस्तगतिमा विस्तारको काम भइरहेको महेन्द्र राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डको म्याद (ठेक्का अवधि) एक वर्ष थप गरिएको छ। सुरुवाती ठेक्का सम्झौताअनुसार २०७९ को साउनमा सडक विस्तारको काम सकिनुपथ्र्यो। तर समयमै काम नसकिएपछि दोस्रो पटक थप एक वर्षको लागि म्याद थप गरिएको हो।

आयोजना निर्देशक चुडा ढकालका अनुसार पश्चिम खण्डको म्याद ३५० दिन र पूर्वी खण्डको ३३० दिन थप भएको छ। ‘निर्माण कम्पनीले सडक विस्तारको काम छिटो सम्पन्न गर्नका लागि ठूलो अक्स्पाल्ट प्लान्ट (कालोपत्र गर्ने उपकरण) भित्र्याउँदैछ, केही दिनमा कस्टम क्लियर (भन्सार जाँच) भएर नेपाल भित्रिन्छ,’ उनले भने, ‘त्यसपछि काम छिटो हुन्छ भन्ने हामीले विश्वास लिएका छौँ।’

काम गरिरहेको ठेकेदारसँग सम्झौता तोडेर नयाँ ल्याउँदा काम थप ढिला हुने भएकाले ठेक्का अवधि थप गर्न बाध्य भएको ढकालको भनाइ छ। सडक विस्तारको काम गरिरहेको चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन लिमिटेडका ठेक्का सहव्यवस्थापक राकेश झाका अनुसार अहिले दुवै खण्डमा गरी करिब ३८ प्रतिशत भौतिक प्रगति भएको छ।

एसियाली विकास बैंकको ८५ प्रतिशत ऋण सहयोगमा विस्तारको काम भइरहेको ११४ किलोमिटर सडकमध्ये पूर्वी खण्डमा ६५ र पश्चिम खण्डमा ४९ किलोमिटर सडक पर्दछ। झाका अनुसार कोभिड महामारी, कच्चा पदार्थको अभाव, विद्युत्‌का पोल सार्न र रुख कटानमा भएको ढिलाइलगायत कारणले काम सुस्त भएको थियो। उनले भने, ‘अब यी विषयको समस्या छैन, त्यसकारण तीव्र गतिमा काम अगाडि बढाउँछौँ।’

प्रकाशित: २४ साउन २०८० १७:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 9 =