ललिता निवास प्रकरणको छानबिनमा सहयोग गर्ने डा. भट्टराईको प्रतिबद्धता

हिमाल प्रेस २२ साउन २०८० ६:३५
18
SHARES
ललिता निवास प्रकरणको छानबिनमा सहयोग गर्ने डा. भट्टराईको प्रतिबद्धता

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ललिता निवास लगायतका प्रकरणमा भएका निर्णयहरूउपर छानिबनका लागि सहयोग गर्न आफू प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्। भट्टराईले सोमबार बिहान सामाजिक सञ्जालमार्फत यस्तो प्रतिबद्धता जनाएका हुन्।

सर्वोच्च अदालतले आइतबार ललिता निवास प्रकरणमा निर्णय गर्नेहरूमाथि थप छानबिन गर्न आदेश दिएपछि तत्कालीन प्रधानमन्त्री भट्टराईमाथि पनि छानबिन गर्न बाटो खुलेको छ। त्यसपछि भट्टराईको यस्तो भनाइ सार्वजनिक भएको हो।

‘ललितानिवास प्रकरणमा सम्मानित सर्वोच्च अदालतले दिएको निर्देशनअनुरूप छानबिन भएमा त्यसमा पूर्ण रूपले सहयोग गर्न मेरो प्रतिबद्धता रहेको छ’, भट्टराईले भनेका छन्। उनले ललिता निवास लगायत जुनसुकै प्रकरणमा मन्त्रिपरिषद् लगायत सबै तहबाट भएका निर्णयहरू उपर छानबिन गरेर कानुनविपरीत राज्यलाई नोक्सान हुने, निजी लाभ लिने ढंगले कार्य भएगरेको भए जतिसुकै उच्च तहको व्यक्ति भए पनि कारबाही गर्नुपर्नेमा आफ्नो प्रतिद्धता दोहोर्‍याएका छन्।

यसैगरी उनले आफ्नो प्रधानमन्त्री कालमा भएका सबै निर्णयहरूको निष्पक्ष छानबिन गरी आवश्यक कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्। उनले भनेका छन्, ‘मेरो प्रम कालमा भएका सबै निर्णयहरूको निष्पक्ष छानबिन गर्न र आवश्यक कार्वाही गर्न सरकार र सम्बन्धित निकायलाई मेरो विनम्र आग्रह छ।’

भट्टराई आफू प्रधानमन्त्री भएका बेला नेपाल सरकार समरजंग कम्पनीको नाममा रहेको जग्गा पशुपति टिकिन्छा गुठी जग्गाधनी तथा मोही कायम गर्ने गराउने सम्बन्धमा मन्त्रिपरिषद्बाट निर्णय नभएको बताएका छन्। उनले भनेका छन्म ‘मन्त्रिपरिषद्को निर्णय पुनः नापीबमोजिम नेपाल सरकार समरजंग कम्पनीको नाममा दर्ता भएको सच्याई साबिक लगतबमोजिम पशुपति टिकिन्छा गुठीको नाममा दर्ता गर्न स्वीकृति दिनेमात्र हो।’

व्यक्तिविशेषलाई मोही कायम गराउने सम्बन्धमा मन्त्रिपरिषद्मा प्रस्ताव नआएको उनको भनाइ छ। ‘दर्ता सच्याउने प्रस्ताव प्रक्रियागत रूपमा आएको र नेपाल सरकार कार्यसम्पादन नियमावलीबमोजिम सामाजिक समितिमा पठाई समितिबाट निर्णय भएर आएबमोजिम मन्त्रिपरिषद्ले त्यसलाई स्वीकृति गरेको हो’, उनले भनेका छन्।

 

प्रकाशित: २२ साउन २०८० ६:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 3 =