छानबिन प्रतिवेदनले भन्यो- मन्त्री सिंहकाे गाडी चालकको कमजाेरीले दुर्घटना

हिमाल प्रेस २१ साउन २०८० १६:५८
10
SHARES
छानबिन प्रतिवेदनले भन्यो- मन्त्री सिंहकाे गाडी चालकको कमजाेरीले दुर्घटना

धनगढी- सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटना चालकको कमजाेरीका कारण भएको खुलेकाे छ। सुदूरपश्चिम मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका उपसचिव गंगाबहादुर खरेलको संयोजकत्वमा गठित छानबिन समितिले चालककाे अदक्षताका कारण सवारी दुर्घटनामा परेकाे निष्कर्ष निकालेकाे हाे।

‘सवारी चालकमा दक्षता भएन। सवारीसाधनबारे सवारी चालकलाई खासै ज्ञान नहुँदा दुर्घटना भयो’ समितिले आइतबार मुख्यमन्त्री कमलबहादुर शाहलाई बुझाएको प्रतिवेदनमा भनिएको छ।

गत असार ५ गते डडेल्धुरादेखि गृह जिल्ला बझाङ जाने क्रममा मन्त्री सवार गाडी दुर्घटना भएको थियो। सो दुर्घटनामा मन्त्री सिंह, उनकी पत्नी अमृतादेवी सिंह र उनकी भाउजू जयादेवी सिंहको मृत्यु भएको थियो।

मन्त्री सिंहका निजी सुरक्षा गार्ड दीपक भण्डारी र चालक धर्मराज जोशी घाइते छन्। मन्त्रीको सवारी दुर्घटनाका कारण मृत्यु भएपछि असार ७ खरेलको संयोजकत्वमा छानबिन समिति गठन गरिएकाे थियो।

समितिलाई १५ दिनभित्र प्रदेश सरकारलाई प्रतिवेदन पेस गर्ने कार्यादेश दिइए पनि ढिला गरी आइतबार प्रतिवेदन पेस गरिएकाे हाे। प्रतिवेदनलाई मन्त्रीपरिषद् बैठकबाट पारित गरेरमात्रै  सार्वजनिक गरिनेछ।

उच्च स्तरिय छानविन समितिमा प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक, सशस्त्र प्रहरी बल नेपाल वैद्यनाथ बाहिनीका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव नवराज ओझा, मुख्य न्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता टेकबहादुर थापा, यातायात व्यवस्था कार्यालय धनगढीका मेकानिकल इन्जिनियर र कानुन मन्त्रालयका शाखा अधिकृत विष्णुदत्त अवस्थी सदस्य रहेका छन्। आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सुपप्र ००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्यूँ गाउँपालिका-१ झारछडामा दुर्घटना भएको थियो।

प्रकाशित: २१ साउन २०८० १६:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 19 =