सय किलो सुन प्रकरण : बाँकी अनुसन्धान सीआईबीले गर्ने, संगठित अपराधमा पनि मुद्दा चल्ने

हिमाल प्रेस १९ साउन २०८० १४:१२
38
SHARES
सय किलो सुन प्रकरण : बाँकी अनुसन्धान सीआईबीले गर्ने, संगठित अपराधमा पनि मुद्दा चल्ने

काठमाडौँ- एक क्वीन्टल सुन तस्करी प्रकरणबारे अब प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले अनुसन्धान गर्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनबमोजिम उक्त घटनामा सीआईबीले अनुसन्धान गर्न लागेको हो।

त्यस विषयमा हिजो राति प्रधानमन्त्री दाहालले गृहमन्त्री नारायणकाजी श्रेष्ठ, रक्षामन्त्री पूर्णबहादुर खड्का, महान्यायाधिवक्ता दिनमणि पोखरेल, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर, सीआईबी प्रमुख किरण बज्राचार्य र राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानालगायतसँग छलफल गरेका थिए।

छलफलमा विभागले एक चरणको अनुसन्धान गरेर एउटा निष्कर्षमा पुर्याएकाले बाँकी संगठित अपराध र अन्तरदेशीय अपराधमा प्रहरीको अधिकारप्राप्त निकाय सीआईबीलाई नै अनुसन्धान दिँदा उपयुक्त हुने सुझाव आएको थियो। प्रधानमन्त्री दाहालले सोही सुझावका आधारमा अनुसार अघि बढ्न ती अधिकारीहरूलाई भनेका छन्।

प्रहरी उच्च श्रोतका अनुसार प्रधानमन्त्रीबाट सीआईबीलाई अनुसन्धानको संकेत मिलिसकेको तर औपचारिकरुपमा अनुसन्धान गर्न भनेर आइसकेको भने छैन। ‍फाइललगायत अनुसन्धानका सबै विषय हस्तान्तरण भएर आउनुपर्छ, त्यसपछि बल्ल सीआईबीले अनुसन्धान थाल्छ, तर अब छिट्टै सीआईबीले अनुसन्धान थाल्छु, उनले भने।

यसअघि प्रहरी महानिरीक्षक कुँवरले संगठित अपराध भएकाले उक्त घटना सीआईबीले अनुसन्धान गर्नुपर्ने भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई जानकारी गराएका थिए। सोही आधारमा गृहमन्त्रीले यो कुरा प्रधानमन्त्री दाहालसम्म पुर्‍याएका थिए।

बाहिर पनि प्रहरीलाई उक्त अनुसन्धानमा संलग्न नगराउँदा प्रमाणहरू नष्ट हुने भन्दै आलोचना भइरहेको थियो। सोही आलोचनाका बीच राजस्व अनुसन्धान विभागको माग अनुसार प्रहरी प्रधान कार्यालयले एकजना प्रहरी उपरीक्षकलाई अनुसन्धाननमा सहयोग गर्न पठाएको थियो।

तर पनि आलोचना भने घटेको थिएन। सङ्गठित अपराधको अनुसन्धान प्रहरीले मात्रै गर्न सक्ने भएकाले राजस्व अनुसन्धानको क्षेत्राधिकार भन्दा बाहिर थियो। आर्थिक अपराधमा मात्रै विभागले अनुसन्धान गरिरहेकाले प्रमाण नष्ट हुने डर थियो। ढिलै भए पनि सीआईबीलाई उक्त घटनाको अनुसन्धान गर्ने जिम्मेवारी दिँदा त्यसका मुख्य व्यक्तिहरू कानुनी दायरामा आउनसक्ने एक पूर्व सुरक्षा अधिकारीले बताए।

यही साउन ३ गते राजस्व अनुसन्धान विभागले ‘ब्रेक सु’ भित्र लुकाएर ल्याएको झण्डै एक सय किलो अनुमान गरिएको सुन बरामद गरेको थियो। उक्त घटनामा अहिलेसम्म १८ जनालाई पक्राउ गरी विभागले अनुसन्धान गरिरहेको छ।

अहिलेसम्म पनि मुख्य अभियुक्त पक्राउ पर्न सकेको छैन। अब विभागले राजस्व छलीको कसुरमा अनुसन्धान गर्ने छ भने बाँकी अनुसन्धान सीआईबीले गर्ने जनाइएको छ

प्रकाशित: १९ साउन २०८० १४:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 16 =